२०८१ पुष ४ गते ८:३० विकासन्युज
काठमाडौं । डिप्रोक्स नेपालले ३ सय घरमा इन्टरनेट जडान गरिदिने भएको छ । गैर सरकारी डिप्रोक्स नेपालले दाङको शान्तिनगर र दंगीशरण गाउंपालिकाका ३ सय (१० प्रतिशतसम्म थप हुन सक्ने) घरधुरीमा इन्टरनेट सेवा जडान गरिदिने भएको हो ।
गैर सरकारी डिप्रोक्स नेपालले जेर्सी ओभर्सेज एडको आर्थिक सहयोग र प्राक्टिकल एक्सनको अगुवाईमा समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालन गरेको छ । उक्त परियोजना दाइ, रोल्पा र रुकुम पूर्वका स्थानीय तहहरूमा सञ्चालन गरिरहेको छ ।
परियोजनाले सेवा दिनुपर्ने ५ हजार ५ सय घरधुरीमध्ये अधिकांश घरधुरीमा इन्टरनेट सेवाको पहुँच नभएको जनाएको छ । इन्टरनेट सेवा उपलब्ध गराई डिजिटल प्रविधिमार्फत वित्तीय सेवा, बजारसँग सम्पर्क र सूचना सेवाको प्रयोग गर्न सक्ने अवस्थामा ल्याउन इच्छुक इन्टरनेट सेवा प्रदायकले बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
यसअघि गत मंसिर २६ गते ७ दिनको समयावधि राखी बोलपत्र आह्वान गरेकोमा बोलपत्र नआएकोले सोही कामको लागि पुनः दोस्रो पटक इच्छुक इन्टरनेट सेवा प्रदायकबाट सिलबन्दी बोलपत्र आह्वान गरेको डिप्रोक्स नेपालले जनाएको छ ।
इच्छुक कम्पनीले दाङमा कुनै न कुनै किसिमको इन्टरनेट सेवा दिएको प्रमाण संलग्न गर्नुपर्नेछ । इन्टरनेट सेवा प्रदायकले शान्तिनगर गाउँपालिकाका १७३ र दंगीशरण गाउँपालिकाका १२७ घरधुरीमा सेवा दिनुपर्नेछ ।
यी ३०० घरधुरीको सूची परियोजनाबाट उपलब्ध हुनेछ । यी परिवारलाई इन्टरनेट सेवा जडान गर्न र वार्षिक इन्टरनेट शुल्कमा केही अनुदान उपलब्ध गराइनेछ । सेवा प्रदायकले तोकिएका शर्तहरुको पालना गरी सम्झौताको ४५ दिनभित्रमा सबै घरधुरीमा सेवा जडान गर्नुपर्नेछ । इन्टरनेटको स्पीड १ सय एमबीपीएस हुनुपर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.