२०८१ पुष ४ गते ८:५० विकासन्युज
काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले एफपीओ निष्काशन प्रस्ताव पारित गर्न ३२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीको साधारण सभा पुस २८ गते काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।
कम्पनीको सभाले तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र लोअर मनाङ मर्स्याङदी हाइड्रोपावर कम्पनीमा र चिनोखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र चिनो हाइड्रोपावरमा हस्तान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै गत वर्ष विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम ५ लाख ९९ हजार ३९४ रुपैयाँ सभाले अनुमोदन गर्नेछ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.