२०८१ पुष ४ गते १५:३५ महाप्रसाद अधिकारी
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति, नियामकीय तथा सुपरीवेक्षकीयको काम गर्छ । विगतको दाँजोमा नियमन वा सुपरीवेक्षण विधिमा धेरै परिवर्तन भएका छन् । जे-जस्ता परिवर्तन भएपनि राष्ट्र बैंकले बैंकिङ प्रणाली तथा वित्तीय प्रणालीलाई सुरक्षित राख्ने काम गर्छ । जसका लागि बैंकरहरूले धेरै ठूलो सहयोग गरिरहेका छन् । विभिन्न कठघरमा पनि राष्ट्र बैंकले वित्तीय प्रणालीलाई अत्यन्तै बलियो र स्थिर कामय राख्न सफल भएको छ । सन् २००७/०८ को ग्लोबल फाइनान्स क्राइसिसका बाछिटा नेपालमा परेका थिए । सन् २०१५ को भयावह भूकम्पसँग जुध्नुपर्यो । देशभित्रको लागि त्यो ठूलो घटना थियो ।
साथै विश्वव्यापी कोरोना महमारीसँग रूपमा हामीले जुध्नुपर्यो । महामारीबाट कसरी बाहिर आउने ? कसरी बाँच्न सकिएला ? व्यवसायीहरूलाई कसरी बचाउन सकिएला ? बैंकहरूलाई कसरी टिकाउन सकिएला ? भन्ने चिन्ताको विषय थियो । ठूलो चुनौतिकाबीच सन् २०२० देखि २०२२ सम्म उक्त समस्यासँग जुध्नुपर्यो । त्यसबाट जोगिन राष्ट्र बैंकले विभिन्न चरणमा विभिन्न गतिविधि गर्यो । राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ती चरणहरू सुसंगत छन् ।
लगत्तै पुनःसप्लाइ चेनको समस्या, भौगोलिक राजनीतिक समस्या झेल्नुपरेको छ । त्यसको असर पनि परेको देखिन्छ । ५०औं वर्ष लगाएर ग्लोबलाइजेशनको अन्तर्राष्ट्रिय फाइदा लिने अवस्थामा पुगेका थियौं । तर, एक किसिमको स्लोबलाइजेशन हुन पुग्यो । भौगोलिक आर्थिक असरको सिकार बन्न पुग्यौं । फलस्वरूप विश्वका धेरै मुलुकहरू ग्लोबलाइजेशन फाइदाबाट बिमुक हुनुपर्ने अवस्था आयो । भोलि के कुरा निश्चित छ भनेर खोज्यौं भने अनिश्चिततामात्रै देखिन्छ । त्यसकारण हामी बाँच्ने र बचाउने, योजना बनाउने, काम गर्ने विषयमा प्रशस्त चुनौती छन् । यी चुनौतीको सामना दिनप्रतिदिन गर्नुपरेको छ ।
बैंकिङ क्षेत्र अत्यन्तै संवेदनशील क्षेत्र हो । र, यसको संवेदनशीलता सबैले बुझ्नुपर्ने आवश्यक छ । राष्ट्र बैंकले कुनै पनि नीति नियम, निर्देशन, सुधारका योजना बैंकिङ क्षेत्रलाई सहयोग पुर्याउने र बिस्तार गर्ने उद्देश्यले ल्याएको हुन्छ । वित्तीय स्थायित्व गरी समग्र आर्थिक स्थायित्वलाई दृष्टिगत गरेर राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्छ । वास्तवमा बैंकिङ क्षेत्रलाई हामीले गर्व गर्नुपर्छ । किनभने कयौं उतारचढावका बीचमा पनि बैंकिङ क्षेत्र स्थिर छ । ग्राहकहरू सुरक्षित छन्, निक्षेपकर्ताहरू सुरक्षित छन् । राष्ट्र बैंकबाट नियमन भइरहेका संस्थामा निक्षेपकर्तामाथि जोखिम देखिँदैन, अहिलेसम्म देखिएका पनि छैनन् । किनकि जोखिमलाई न्यूनीकरण गर्ने गरी नै राष्ट्र बैंकले नीति निर्देशनहरू ल्याएको हुन्छ ।
फाइदा आफ्नो ठाउँमा भएपनि बैंकिङ क्षेत्र अत्यन्तै पारदर्शी छ । केही ठाउँमा समस्या रहेका हामीले महसुस गरिरहेका छौं, समस्या नदेखिएका होइनन् । पछिल्लो दिनमा बाह्य कारणले बैंकिङ क्षेत्रमा समस्या देखिएका छन् । बैंकहरूका वित्तीय सूचक हेर्दा क्यापिटल पर्याप्त छ, तरलता अत्यन्तै राम्रो छ । एनपीएमा केही दबाब परिरहेको छ । त्यसलाई पुरा गर्न प्रोभिजिनका व्यवस्थालाई कडाइका साथ लागू गरिएको मात्रै हो । लाभांश धेरै खान्छन् भन्ने हिसाबले राष्ट्र बैंकले प्रोभिजन धेरै राख्न लगाएको आरोप पनि सुनियो । यो आरोप बिल्कुलै होइन । यसको गलत छाप नपरोस् । बैंकलाई बचाउनका लागि गरिएको प्रयास हो । पछिल्लो समय हेर्ने हो भने नउठेको ब्याज मात्रै अर्बाैं रुपैयाँ पुगेको छ । हामीले प्रोभिजन नगराएको भए अर्काे वर्षदेखि बैंक खोज्न जानुपर्थ्यो।
अहिले पनि कुनै बैंकले २६ प्रतिशतसम्म लाभांश दिइरहेका छन् । राष्ट्र बैंकले लाभांश घटाउनु थियो भने त्यसलाई प्रोभिजन गराएर ५ प्रतिशत वा शून्यमा झार्न लगाउँथयो होला नि ! नेपालको बैंकिङ क्षेत्रमा भेराइटी अफ बैंक छन् । कुनै बैंकले २६ प्रतिशत लाभांश दिइरहेका छन् भने कुनै बैंकको शून्य लाभांश छ । त्यसकारण प्रोफिटालिटी वा लाभांश राष्ट्र बैंकका कारण होइन, बैंकको आफ्नो काम कारवाही, इफिसेन्सीका कारण घटेको हो । इफिसेन्स बैंकलाई अहिले पनि समस्या छैन । कर्जा दिँदा वा कर्जा प्रोसेसिङ गर्दा ख्याल गर्ने बैंकलाई कठिन अवस्थाम पनि केही समस्या परेको छैन ।
रेमिट्यान्सलाई धन्यवाद छ । अहिले रिकभरीमा समस्या छ, ब्याज उठाउन सकिएको छैन । तर, यही बेलामा पर्याप्त तरलता छ । जबकि यस्तो अवस्थामा रिकभरी नभएर सामान्यतया तरलताको समस्या हुन्थ्यो । नेपाली दाजुभाई बाहिर बसेर मारामार रेमिट्यान्स पठाइदिनु भएका कारण तरलताको समस्या छैन । केही समस्या छन् भने ती पनि सुखद समस्या भन्नुपर्छ । किनभने हामीसँग प्रशस्त तरलता छ । बाह्य क्षेत्र बलियो छ । कन्ट्री रेटिङ सम्पन्न भएको छ । कन्ट्री रेटिङमा यतिकै डबल बी माइनस कन्ट्री रेटिङ दिएको होइन । यी सबै विषयलाई आधार मानेर दिएको हो । त्यसैले धेरै दुख मान्नु पर्ने ठाउँ छैन, भलै चुनौती छन् ।
बैंकरका लागि रिकभरीको निकै चुनौती छ । बैंकरहरूका लागि साइबर सेक्युरिटी सम्बन्धि चुनौती छ । प्रविधिको विकाससँगै अनुसरण भइरहेको छ । यस शिलशिलामा आउन सक्ने साइबरसम्बन्धि जोखिम र चुनौती दुवै छन् । सामान्यतया बैंकलाई जोखिम वा चुनौती भनेको रेगुलेटरी कम्प्ल्यान्समा हुने गर्छ । बैंकहरू कम्पल्यान्समा निकै सशक्त छन् । राष्ट्र बैंकको नीति निर्देशन पनि कडा नै छन् । जस्तो कम्प्लायन्सअफिसर अनिवार्य राख्नुपर्ने हुन्छ । त्यसैले यसमा पनि धेरै ठूलो समस्या छैन ।
जे-जति बैंकिङ प्रणालीभित्र भइरहेका छन्, यी सबै नियमित प्रक्रिया हुन् । केही अपडेट र रिफर्म हुन्छन् । बीआइएसजस्ता संस्थाले नियमित अध्ययन अनुसन्धान गरेर संसारभर नयाँ प्रडक्ट सार्वजनिक गर्छन् । हामीले पनि कुनै न कुनै रूपमा ती प्रडक्ट प्रयोग गर्छाैं । त्यसैले नीति अस्थिर भएर समस्या आएको भने होइन । पोलीसी प्रेडिक्ट्याबिलिटी हुनुपर्छ । एउटै नीति सधैं रहन सक्दैन । राष्ट्र बैंकले सधैंभरि पोलिसी रेट ५ प्रतिशत र मुद्रास्फिति १० प्रतिशत राख्यो भने हाम्रो अर्थतन्त्र कता जान्छ ? मुद्रास्फिति २ प्रतिशतमा झर्यो भने पोलिसी रेट ५ प्रतिशतमै राख्नुपर्छ भन्ने हुँदैन । त्यसकारण परिस्थितिका आधारमा नीति परिवर्तन हुन्छन् । तर, त्यो परिस्थितिका आधारमा नीति परिर्तन भएका छन् कि छैनन् त्यो महत्त्वपूर्ण विषय हो । अर्थात् अनुमानयोग्य नीति छन् कि छैनन् त्यो पनि महत्त्वपूर्ण हो । बजार कता जाँदा नीति कता जान्छ ? मुद्रास्फिति कति हुँदा नीति कहाँ जान्छ ? रिजर्भको अवस्था के हुँदा नीति के हुन्छ ? यी सबै विषय हेर्नुपर्ने हुन्छ । सधैं एउटै रेट एकै ठाउँमा बस्नुपर्छ भन्ने हुँदैन । त्यसकारण पनि एनालाइसिस गर्ने टिमको आवश्यकता पर्छ ।
नेपालमा नजान्ने कोही छैनन् । तर, आफ्नो काम गर्न जान्ने मान्छे कमै छन् । बैंकिङ प्रणालीलाई केही वर्षदेखि बाह्य थ्रेट आएकै हो । ऋण नतिरेपनि हुन्छ भन्ने किसिमका अराजक गतिविधिबाट बैंकरहरूलाई अनावश्यक रूपमा दबाब पर्यो । तल्लो तह वा शाखाबाट काम गर्ने बैंकरका लागि निकै गाह्रो भयो । त्यसको असर बैंकरको मनोवैज्ञानिक रूपमा परेको देखिन्छ । बैंकले नाफा कमाउन हुँदैन भन्ने विषय पनि उठेका देखिन्छन् । मिनिमम नाफा बैंकलाई आवश्यक हुन्छ भनेर हामीले बारम्बार भनिरहेका छौं । किनभने वित्तीय स्थायित्व, बैंक दीगो, क्यापिटल रिजर्भेसनका लागि नाफा आवश्यक छ । त्यसले बैंकको आधार पनि राम्रो हुन्छ । बैंकको रिटर्न एउटा लेभलमा रहनुपर्छ । अहिले पनि रिटर्नं अफ इक्विटी ९ प्रतिशतको हाराहारीमा छ । भलै यो रिटर्न संकुचित हो । समग्र अर्थतन्त्र सुस्ताएको बेलामा स्वाभाविक पनि हो ।
केही साथीहरूसँग बुझ्दा आर्थिक क्रियाकलाप बढ्दै गएको सुनिन्छ । बैंकको कर्जा सेटलमेन्ट हुन थालेको छ । फलस्वरूप अबका दिनमा बैंकका लागि सहज अवस्था आउन सक्छ । आफ्नै थालमा प्रोभिजिन गरिएको हो, बाहिर गरिएको होइन । त्यो प्रोभिजन भोलिका दिनमा रिभर्स हुन्छ । कतिपयलाई बीचमा लिएको ऋणको दबाब छ । त्यसको ब्याज तिर्नै पर्यो । रिजर्भ पनि राख्नै पर्यो । जसले गर्दा प्रोफिटालिटी र रिटर्नमा असर परेको देखिन्छ । त्यो पनि केही समयमा रिभर्स हुन्छ । रिडम्सन भइसकेपछि रिभर्स हुन्छ । त्यो जाने कहीं पनि होइन । संस्थाको ब्यालेन्ससिटभित्रैको आइटम हो ।
यी सबै विषयले बैंकलाई डुब्नबाट बचाएको हो । यो नै महत्त्वपूर्ण विषय हो । यसकारण पनि हामीले अप्ठ्यारो अवस्थामा सहनु पनि पर्छ । कोभिडमा आफू बाँचेर अरूलाई पनि बचायौं । त्यति ठूलो सदासयिताका साथ बाँचेको क्षेत्र हो । दिन सधैं अप्ठ्यारा हुँदैनन् ।भोलिको दिनप्रति म एकदमै आशावादी छु । देश सधैं यत्तिकै रहँदैन । क्रियाकलापहरू बढ्छन् । काम केही न केही गर्नुपर्छ । सधैं यत्तिकै बसिरहनु हुँदैन । जब काम हुन्छ, त्यतिबेला बैंकको पैसा चल्न थाल्छ, ऋण चल्न थाल्छ । र, अर्थतन्त्रमा सुस्ती हटेर जान्छ । अब निराशा बोक्ने होइन । हिजो भैंसी बाँधेको ठाउँमा आज गाडी राखिएको छ । गाडी राखिएको भोलिपल्टदेखि निराशा छाएको छ । यस्तो किसिमको निराशा बोक्नु हुँदैन । सकारात्मक भएर अघि बढ्नुपर्छ ।
राष्ट्र बैंकका प्रत्येक कार्यमा बैंकहरूले सहयोगी भूमिका निर्वाह गरेका छन् । जस्तो कन्सोलिडेसेन्स (मर्जर) । यो सानो काम होइन । ३२ वटा वाणिज्य बैंकलाई २० वटामा झार्नु सानोतिनो काम होइन । कतिपय बैंकलाई आज पनि दबाब छ । कर्मचारीको दबाब, डाउनग्रेडेट क्रेडिटको दबाब । यदि मर्ज नभएको भए बैंक डुबिसक्थे होला । मर्जरले प्रणाली बचाइदिएको छ । राष्ट्र बैंकका नीति निर्देशन सहज रूपमा मानिदिनु भएको छ । यसले समग्र वित्तीय स्थायित्व कायम गरेको छ ।
राष्ट्र बैंकले लिएको डिजिटल नीतिलाई पनि बैंकहरूले धेरै सहयोग पुर्याएका छन् । बैंकिङ, फिनटेक सबै नमिलेको भए राष्ट्र बैंकले चाहेर मात्रै यो सम्भव हुँदैनथ्यो । म तरकारी बजार पुगेर मात्रै यो सम्भव हुने थिएन । म तरकारी बजार गएको उत्साह बढाउन मात्रै हो । आजको दिनमा कसैको खल्तीमा पर्स बोक्नुपरेको छैन, सबैसँग मोबाइल वालेट छ ।
ग्रीन फाइनान्सलाई कयौं ठाउँमा चुनौतीका रूपमा लिएर समस्या आएको छ । तर, नेपालको बैंकिङ क्षेत्रमा स्वतस्फूर्त रूपमा अगाडि बढिरहेका छन् । ग्रीन फाइनान्स ट्याक्सोमोनी जारी गरिएको छ । त्यसको कार्यान्वयनमा उत्साहका साथ वित्तीय साक्षरता भइरहेको छ । राष्ट्र बैंकले प्रुडेन्सियल सुपरभिजनका साथै ग्राहक संरक्षणको पनि काम गरिरहेको छ । यसमा पनि बैंकहरूले सहयोग गर्ने अपेक्षा छ । पीडित भयौं भनेर कयौं ठाउँमा गुनासा आइरहेका छन् । हुन त यहाँ ऋण लिने मान्छे पीडित हुने गर्छन् ।
(अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन् ।)
Copyright © 2024 Bikash Media Pvt. Ltd.