२०८१ पुष ५ गते १२:०३ विकासन्युज
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरूको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरू समस्यामा रहेको बताएका छन् । शुक्रबार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन् ।
उनले सरकारले निर्माण भएका आयोजनाको समेत भुक्तानी समयमा नहुँदा निर्माण उद्योग अगाडि बढ्न नसकेको गुनासो गरे । उनले सरकारले भुक्तानी दिन सकेको भए दशैंपछि पूर्वाधार निर्माण चलायमान हुनु पर्ने भए पनि अहिले निर्माण उद्योग सिथिल अवस्थामा पुगेको उल्लेख गरे ।
अध्यक्ष सिंहले सरकार निर्माण व्यवसायीहरूको माग प्रति गम्भिर नहुँदा निर्माण क्षेत्र चलायमान बनाउन नसकिएको बताए ।
उनले भने, ‘ निर्माण क्षेत्रका मुल समस्या भनेको सरकारले अघि सारेका आयोजनाहरु निर्माणमा स्रोत सुनिश्तिता गर्नुपर्छ । सरकारले त्यसको लागि काम गर्नु जरुरी छ । सरकारले निर्माण व्यवसायीहरुले पाउनु पर्ने भुक्तानी पाउन सकिएको छैन ।’
उनले पूर्वाधार निर्माण क्षेत्रमा काम गर्ने सरकारी निकायहरूमा समन्वय गर्न नसक्दा निर्माण उद्योग धरासाही भएको बताए । उनले अहिले निर्माण उद्योग ध्वस्त भएको बताए । उनले निर्माण उद्योगलाई चलायमान बनाउनको लागि सरकारले निर्माण उद्योगलाई दिनु पर्ने भुक्तानी तत्काल दिन आवश्यक रहेको बताए ।
उनले सरकारले निर्माण उद्योगीहरूलाई तत्काल भुक्तानी गर्न नसके निर्माण उद्योग चलायमान हुन नसक्ने जानकारी दिए । उनले सरकारले स्रोत सुनिश्चिता नभएका आयोजनाहरू सबै खारेज गर्न आवश्यक बताए ।
सरकारले अघि सार्ने परियोजनाहरू स्रोत सुनिश्चिता भएकालाई मात्रै प्राथमिकता दिएर काम गर्नु आवश्यक रहेको बताए । उनले सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनका कारण म्याद थप भएका ४ हजार बढी आयोजनाहरु प्रभावित भएको जानकारी दिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.