अमेरिकी कम्पनी हेल्थ एलायन्स ग्रुप इंकमा रिलायन्सको ४५ प्रतिशत सेयर

  २०८१ पुष ७ गते १३:२८     विकासन्युज

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीले अर्को कम्पनीमा सेयर पाएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रिलायन्स इन्डस्ट्रिजले शनिबार यसको सहायक कम्पनी रिलायन्स डिजिटल हेल्थ लिमिटेड (आरडीएचएल) ले हेल्थ एलायन्स ग्रुप इंक (एचएजीआई) को ४५ प्रतिशत सेयर खरिद गर्न सम्झौता गरेको बताएको छ।

यो सम्झौता १० मिलियन डलर अर्थात करिब ८४ करोड ९५ लाख २५ हजार भारुमा भएको हो । एचएजीआई एक अमेरिकी कम्पनी हो । डेलावेयरमा मुख्यालय रहेको यो कम्पनी गत वर्ष डिसेम्बर २१ मा स्थापना भएको थियो ।

यसले अमेरिका, भारत र विश्वका अन्य देशमा गरिबहरूका लागि प्रविधिमा आधारित समाधानहरू डिजाइन गर्दछ । यो कम्पनी स्वास्थ्य सेवा, आईटी र इनोभेसनमा काम गर्दै आइरहेको छ ।

रिलायन्सले रेगुलेटरी फाइलिङमा यो लगानीले रिलायन्स डिजिटललाई भर्चुअल डायग्नोस्टिक र केयर प्लेटफर्म विकास गर्ने क्षमता प्रदान गर्ने जनाएको छ । साथै यसले गरिब जनतालाई स्वास्थ्य सेवाको पहुँचमा सहज बनाउनेछ ।

यो लगानी कुनै सम्बन्धित पार्टी कारोबार नभएको बताइएको छ र यसमा कम्पनीका प्रवर्तकहरू, प्रवर्तक समूह वा समूह कम्पनीहरूको कुनै चासो छैन । यो कारोबार दुई हप्ताभित्र पूरा हुने अपेक्षा गरिएको छ । यसका लागि कुनै सरकारी वा नियामक स्वीकृतिको आवश्यकता पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.