२०८१ पुष ७ गते १४:०९ विकासन्युज
काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउनदेखि मसिंरसम्म) मा करिब २ खर्ब रुपैयाँ सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सरकारले १ खर्ब ९२ अर्ब २९ करोड ऋण लिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आन्तरिकतर्फ १ खर्ब ६४ अर्ब र बाह्रतर्फबाट २८ अर्ब २९ करोड रुपैयाँ ऋण सरकारले लिएको हो ।
सरकारले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष राखेको थियो । उक्त लक्ष्यको हालसम्म ३५.१५ प्रतिशत ऋण लिएको हो ।
मसिंर महिनामा मात्रै सरकारले ५८ अर्ब २४ करोड ऋण भुक्तानी गरेको छ भने २१ अर्ब ३३ करोड ऋण प्राप्ति भएको छ । विनिमय दरमा भएको घटबढका कारण मंसिर महिनामा २५ अर्ब ६४ करोड रुपैयाँ ऋण घटेको कार्यालयले जानकारी दिएको छ ।
यससँगै मंसिर मसान्तसम्म नेपालले तिर्न बाँकी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनको ४३.६९ प्रतिशत हो ।
नेपालले तिर्न बाँकी ऋणमध्ये १२ खर्ब १७ अर्ब ६६ करोड आन्तरिक र १२ खर्ब ७४ अर्ब ७४ करोड बाह्य ऋण रहेको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले ऋण भुक्तानीका लागि ४ खर्ब २ अर्ब २८ करोड रुपैयाँ छुट्याएको थियो । जसमध्ये १ खर्ब ७० अर्ब ४९ करोड रुपैयाँ भुक्तानी पनि गरिसकेको छ । अर्थात् विनिजोजित रकमको ४२.३५ प्रतिशत रकम सरकारले ऋण भुक्तानीमा खर्च गरिसकेको छ ।
चालु आर्थिक वर्षमा ऋण प्राप्ति र भुक्तानी गरेको विवरण (मासिकरूपमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.