लायन्स क्लबले डोलभन्ञ्याङ माध्यमिक विद्यालयलाई गर्‍यो २ लाख सहयोग

  २०८१ पुष ८ गते ९:१८     विकासन्युज

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले धादिङको गजुरी–५, च्याङ्गलीस्थित डोलभन्ज्याङ माध्यमिक विद्यालयलाई  २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयको भौतिक संरचना र शैक्षिक गुणस्तर सुधारका लागि प्रदान गरिएको यो सहयोगले विद्यालयलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । यस विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर पार्वती खरेलले विद्यालयलाई प्रदान गरिएको सहयोगले शैक्षिक सुधारमा ठूलो भूमिका खेल्ने बताइन् । उनले भनिन्, ‘विद्यार्थीहरूले उज्ज्वल भविष्य निर्माण गर्न सजिलो होस् भन्ने हाम्रो प्रयास हो ।’

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनकी अध्यक्ष कल्पना बस्नेतले विद्यालयप्रति आफ्नो क्लबको प्रतिबद्धता प्रस्ट्याउँदै भनिन्, ‘विकट क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सहयोग गर्नु हाम्रो प्राथमिकता हो । यस विद्यालयलाई प्रदान गरिएको यो सहयोगले शैक्षिक वातावरणलाई सुधार्नेछ ।’

विद्यालयका प्रधानाध्यापक अशोक कुमार घिमिरेले विद्यालयको समग्र विकासका लागि लायन्स क्लबले गरेको योगदानलाई धन्यवाद दिए । उनले भने, ‘यो सहयोगले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा नयाँ उत्साह थप्नेछ। विद्यालयको भौतिक सुधारका लागि यो सहयोग अति नै आवश्यक थियो ।’ कार्यक्रमका विशेष अतिथि जोन २६ का जोन अध्यक्ष इन्जिनियर गणेश बहादुर सुनाम र लायन्स क्लब अफ काठमाडौं बिष्णुमतीका अध्यक्ष डा. रोमन बोगटीको अतिथिको रूपमा उपस्थिति थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनका सचिव सुष्मा आचार्य र कोषाध्यक्ष निरुपमा महर्जनको सक्रिय सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.