२०८१ पुष ८ गते १५:४५ विकासन्युज
काठमाडौं । विश्वका विभिन्न देशहरूको ऋण बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार विश्वको ऋण १०२ ट्रिलियन डलर पुगेको छ ।
विश्वका धेरै ठूला देशले ऋण लिएर अर्थतन्त्र चलाइरहेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अमेरिकी ट्रेजरीको तथ्याङ्कअनुसार अमेरिकामा विश्वमा सबैभन्दा बढी ऋण छ ।
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको यो देशको संघीय सरकारको ऋण ३६ ट्रिलियन डलर पुगेको छ, जुन कुल गार्हस्थ उत्पादनको करिब १२५ प्रतिशत हो । विश्वको कुल ऋणको ३४.६ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको छ ।
यो सूचीमा चीन दोस्रो नम्बरमा छ । विश्व ऋणको १६.१ प्रतिशत चीनले ओगटेको छ । गत वर्ष चीनको ऋण १४.६९ ट्रिलियन डलर थियो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो ।
तेस्रो नम्बरमा जापान रहेको छ । जापानले विश्वको कुल ऋणको १० प्रतिशत ओगटेको छ । गत वर्ष देशको ऋण १०.७९ ट्रिलियन डलर थियो ।
यसैगरी, गत वर्ष बेलायतको ऋण ३.४६ ट्रिलियन डलर थियो, जुन विश्वव्यापी ऋणको ३.६ प्रतिशत हो ।
यो सूचीमा फ्रान्स पाँचौं र इटाली छैटौं स्थानमा छ । फ्रान्समा ३.३५ ट्रिलियन डलर र इटालीको ३.१४ ट्रिलियन डलर ऋण छ ।
भारत सातौं नम्बरमा छ । विश्वको पाँचौं ठूलो अर्थतन्त्र भारतको गत वर्ष कुल ऋण ३.०५७ ट्रिलियन डलर थियो, जुन विश्वव्यापी ऋणको ३.२ प्रतिशत हो । यो जर्मनी, क्यानडा, ब्राजिल र रुसजस्ता देशहरूभन्दा बढी हो ।
इराक, चिली, चेक गणतन्त्र, भियतनाम, हंगेरी, यूएईमा विश्वमा सबैभन्दा कम ऋण छ । बंगलादेश, युक्रेन, ताइवान, रोमानिया, नर्वे, स्वीडेन, कोलम्बिया, आयरल्याण्ड र फिनल्याण्ड। पाकिस्तानसँग विश्व ऋणको ०.३ प्रतिशत मात्र छ भने बंगलादेशसँग ०.२ प्रतिशत छ ।
नेपालको ऋण कति ?
अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार गत असोज मसान्तसम्म नेपालको ऋण २५ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी छ । यो नेपालको कुल गार्हस्थ उत्पादनको ४४ प्रतिशतभन्दा बढी हो ।
त्यसमा आन्तरिक ऋणको हिस्सा २१.६८ र बाह्य ऋणको हिस्सा २२.५६ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
सबैभन्दा धैरै ऋण विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) को रहेको छ भने दोस्रोमा एशियाली विकास बैंक (एडीबी) को छ । आईडीएको ४८.८६ र एडीबीको ३२.४० प्रतिशत रहेको छ ।
देशको कुल ऋणलाई जम्मा जनसङ्ख्यासँग हिसाब गर्दा गत असोज मसान्तसम्मको अवस्थामा प्रत्येक नेपालीको भागमा ८६ हजार ५ सय १० रुपैयाँ ऋण पर्ने देखिन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.