२०८१ पुष ९ गते १५:३९ विकासन्युज
काठमाडौं । पत्रकारले समयमा तलब पाएन, आज फलानो मिडियाका पत्रकार सडकमा आए । आजभोलि पत्रकारका यस्ता समाचार आइरहन्छन् । श्रमजीवी पत्रकारले न न्यूनतम पारिश्रमिक पाउन सकेका छन्, न त मिडिया हाउसले दिएको तलब पनि समयमै पाउन सकेका छन् ।
नेपालमा ठूलो मिडियाको रुपमा कहलिएका प्रतिष्ठानका पत्रकारहरू नै यसको मारमा परेका छन् । यस्तो अवस्थामा पत्रकार भएर टिक्न कति सहज छ भन्ने प्रश्न अहिलेको अवस्थामा आफैंमा निकै जटिल बनेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्साल नेपालमा विभिन्न प्रतिष्ठानमा काम गर्ने पत्रकारले ज्याला नपाएको समस्या रहेको भन्दै यो क्षेत्रमा टिक्न गाह्रो भइरहेको बताउँछन् । सार्वजनिक रुपमा सडकमै आन्दोलन गरेर पत्रकारलाई १०/११ महिनादेखि तलब खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उनले नेपाल पत्रकार महासंले यो मुद्दालाई प्राथमिकता राख्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेल श्रमजीवी पत्रकारका मुद्दामा धेरै काम गर्न बाँकी रहेको बताउँछन् । आफ्नो कार्यकालमा मात्रै अदालतबाट र संवादबाट तीन करोड बढी पैसा पत्रकारको फिर्ता गराएको बताउँदै उनले आफूहरूले लडाइँ नगरेको भए पत्रकारले यो रकम पाउन सक्ने अवस्था नरहेको सुनाए ।
उनले अझै यस्तो समस्यामा धेरै पत्रकार रहेको बताए । महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आफूलाई उभ्याउँदै आएको बताउँदै उनले यसमा पनि काम गर्न धेरै बाँकी रहेको बताए ।
‘हामी एक मिनेट पनि आँखा झिम्क्यायो भने राज्यले हामीलाई नियन्त्रण गर्ने कानुन बनाउँछ भन्ने कुरा पटक-पटक देखिएको छ, ’उनी भन्छन, ‘हामी सजगता का साथ कानुन निर्माणका सन्दर्भमा कानुन कार्यान्वयनका सन्दर्भमा अत्यन्त गम्भीर र चनाखो भएर हेर्नुपर्ने छ ।’ उनले पत्रकारका सवालमा लड्दा लड्दै लेख्न बिर्सेको हो कि भन्ने अवस्थामा आइपुगेको बताए ।
‘नेपाली पत्रकारहरू लेख्न जान्दैनन् भन्ने आलोचना गर्छन् यसको एउटा कारण हामी सधैं लडाइँमा लाग्नुपर्ने भएर हो,’ उनले थपे, ‘राज्यले लेख्न फुर्सद दियो भने पत्रकार लेखिरहन र टिकिरहन सक्छन् अब पत्रकारलाई लेख्न सक्ने सिक्ने ठाउँ राज्यले दिनुपर्छ ।’
नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकार भइरहन सहज नभएको बताइन् । उनले सहज छैन भन्दा पत्रकार महासंघ सदस्य हुने सङ्ख्या बढेको तर पत्रकार भएर बाँच्न अहिले नै असहज रहेको बताइन् । उनले यसका लागि महासंघलाई पत्रकारकै संस्था बनाउने कि पत्रकारमात्रै भएर बाँच्ने संस्था बनाउने भन्ने कुरा जटिल रहेको बताइन् ।
पारिश्रमिकसँगै अहिले पत्रकारको सूचनासँगको पहुँच पहिलेको भन्दा पनि संकुचन हुँदै गइरहेको बताइन् । ‘सरकार दल र अरु संरचनाभित्र सूचना दिने प्रणाली अहिले पनि सहज छैन,’ उनी भन्छिन्,‘कार्यालयमा रहेका प्रवक्ता पनि सूचना दिन हो कि लुकाउन बसिरहेका छन् भन्ने छुट्याउन गाह्रो ।’
अर्को कुरा सूचनाको पहुँचमा पुगेपनि भेरीफाइ र क्रसचेक गर्न झन जटिल रहेको बताउँदै उनले गलत सूचना र गलत जानकारीको खतरा धेरै बढेको बताइन् । ‘समाचार दिन हामीलाई हतारो छ,को पहिलो हुने भन्ने हतारोले अहिले पनि भेरीफाइ नगर्दा यो जोखिम बढेको हो ।
यसै कारण पत्रकार नै भएर बाँचिरहन अहिले पनि समस्या छ,’ उनी भन्छिन,‘प्राइमरी सूचना पहिले नै आउँछ, तर पत्रकारले छिटो गर्ने होडबाजीमा त्यही सूचनालाई भेरिफाइ नगरी लेख्दा गलत सूचना पनि सही हुने खतरा देखियो ।’
पहिले पत्रकार भन्दा सम्मान हुने ठाउँमा अहिले प्रश्न उठ्न थालेकाे उनकाे भनाइ छ । पत्रकारभन्दा राम्रो सूचना दिने जमात सामाजिक सञ्जालमा रहेको बताउँदै अब पत्रकारले पनि यो विषयमा ध्यान दिनुपर्ने उनकाे भनाइ छ ।
विश्वास दह्राे दिलाउनुपर्छ
पत्रकार मोहन मैनाली पत्रकारको लागि सबैभन्दा ठूलो कुरा विश्वास भएको बताउँछन् । उनी पत्रकारले विश्वास कायम गर्न सकेन, विश्वास घात ग¥यौ भने पत्रकारिता लामो समयसम्म कायम रहन गाह्रो हुने बताए ।
पत्रकारितामा विश्वासका कुरा गर्दा विगतमा भए गरिएको केही उदाहरण दिँदै मैनालीले पत्रिकाकोमुनि समाचार लेखिसकेपछि यहाँ प्रकाशित सामाचार भेरीफाइ नगरिकन नपत्याउनु होलादेखि रेडियो र टेलिभिजनमा पनि समाचार दिँदा धुन बज्ने बित्तिकै सुरुवातीमा यो रेडियो फलानो हो फलानोबाट समाचार सुन्नहोस् तर भेरिफाइ नगररिकन नपत्याउनुहोस् भनेर भन्ने गरियो उदाहरण सुनाए ।
उनले पत्रकारले भनेको कुरा जगतले पत्याउने भएकाले यसो भन्ने गरिएको र यसो गर्दा यदि कसैले भेरिफाइ गरेर सही सावित भयो भने पत्रकारकै शीर ठूलो हुने बताए । विगतमा गोरखापत्रमा प्रकाशित सम्पादकलाई चिठी भन्ने एउटा स्तम्भमा त्यसको मुनितिर कोस्टभित्र यो सामाग्रीको जवाफदेही सम्पादक रहने छैन भन्ने लेखिएको हुनथ्यो ।
२०३७ साल पुस १५ गतेपछि त्योे स्तम्भ मुनितर त्यो कुरा आउन छाडेकाे उनी सुनाउँछन् । यसको मतलब सम्पादकले अब यसको जिम्मा म लिन्छु भन्ने गर्यो ।
‘४१ वर्ष भयो नेपाली सम्पादकले आफ्नो प्रतिष्ठानमा छापिएका सबै कुराको जिम्मेवारी म लिन्छु भनेको,’ मैनाली भन्छन्, ‘यसको मतलब हामीले त्यतिबेलादेखि नै कुनै सामग्री लेख्दा छाप्दा ट्रस्ट मी, आइ एम जर्नालिष्ट भन्ने कुरा सुरु गरियो ।’
मैनालीले पत्रकारप्रतिको विश्वास उसको अमूल्य र एक मात्र सम्पत्ति रहेको बताए । ‘विश्वास गुमेका दिन हामीले खाडी जाँदा हुन्छ वा काँशी जाँदा हुन्छ,’ मैनालीले व्यङ्ग्य गर्दै भने, ‘खाडी जाने तयारी हामी गर्न सक्दैनौँ किन कि त्यहाँ पनि निकै मिहिनेत गर्नुपर्छ, तर काँशी जाने तयारी यही उमेरमा हामी सबैले गरिरहेका छौँ कि जस्तो लाग्छ ।’
मिडियामा झुटा कुरा नजाने वातावरण बनाउन महासंघ लाग्नुपर्ने उनको सुझाव छ । अहिले समाजमा पत्रकारीलाई ढाट्ने जमात बढेको भन्दै मैनालीले सरकार पनि यो कुरामा सक्रिय रहेको बताए । मैले केही समय पहिले कक्षा ९ को इतिहास विषयको पाठ्यक्रम हेरेँ, त्यहाँ निकै त्रुटी पाएँ, जुन मैले किताबमा लेखेको कुरासँग मेल खाएको विषय थियो,’ उनले थपे,‘पाठ्यक्रममै त्रुटी फेला भनेपछि यहाँ सही सूचना पाउनै गाह्रो देखियो अब कुनैपनि सूचनामा हामीले विश्वास गरिहाल्नु हुँदैन, भेरीफाइ नगर्दा पत्रकार ढाटिनेक्रम बढेको छ सजगता अपनाउनु होला ।’
उनले पत्रकारले गल्ती गरिहाल्याे भने पनि स्वीकार्न मिडिया हाउस र पत्रकार तयार रहनुपर्ने बताए ।
न्यू याेर्क टाइम्सजस्तो पत्रिकाले पनि एक जना मान्छेको नामको स्पेलिङ गल्ती भए पनि सच्याउने गरेको बताउँदै गल्ती सच्याउन नेपालमा कन्जुस्याइँ भइरहेको बताए । संसारभर मिडियाप्रति अरु मान्छेको गुनासो सुन्ने र त्यसको निश्पक्ष जाँच गरेर त्यो कुरा पाठकलाई भनिदिने चलन चलेको बताउँदे यसको सिको नेपालमा पनि तुरुन्तै गर्न आवश्यक रहेको बताए ।
पत्रकारप्रति नेताकाे दृष्टिकोण
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
‘पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन, नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ-आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ,’ उनले भने,‘आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाइँहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।’
पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । यादवले आज संसारमा प्रजातन्त्रको क्षयीकरण भइरहेको सन्दर्भमा आफू विद्यार्थी राजनीति, चिकित्सा पेसा र पछिल्लो पदीय जिम्मेवारीमा रहदाँ करिब ८३ वर्षको उमेरमा लोकतन्त्रमाथि खतरा छभन्दा असाध्यै दुःख लाग्ने गरेको बताए ।
पूर्व अर्थमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा सञ्चार जगतले समाजमा उत्पन्न भएका सूचनालाई सुसचित गरेको बताउँछन् । पारिश्रमिक नपाउनु आफैमा दुःख भएको बताउँदै उनले सरकारलाई सही बाटोमा लाग्न सञ्चारमाध्यमले सरकारलाई खबरदारी गर्न सहयाेग गरिरहेकाे बताए ।
‘पत्रकारले समाज र लोकतन्त्रलाई गती दिएको छ,पत्रकारले समाचार नलेखेको भए समाज यहाँ पुग्ने थिएन, हरेक आन्दोलनमा अगाडि बढ्न शक्तीको रुपमा यसले काम गरेको छ,’ उनी भन्छन,‘ तर कहिलेकाँही गलत सूचना पनि आउँछन्, यो राम्रो होइन ।’
‘एउटा ठाउँमा बन्दुक पड्क्यो, गोली हानियो भनेर समाचार आउँदा देशभरका नागरिकलाई थाहा हुन्छ तर जहाँ बन्दुक पड्केको हो त्यहाँका नागरिकलाई थाहा हुँदैन किन कि त्यहाँ पड्केकै हुँदैन । ‘कहिलेकाँही व्यक्ति विशेषले पनि बद्लाको भावमा लेखिदिने, एउटा झुटो कुरा लेख्दिन सक्छ, त्यो कुरा सत्य हुँदैन, त्यो खण्डनयोग्य हुन्छ, त्यसको भुक्तभोगी हामी छौँ तर, यसलाई हामी सिंगो पत्रकारसँग जोडिएर हेर्नु हुँदैन,’ उनले भने ।
हरेक कुराभित्र विकृति बिसंगति हुने भन्दै उनले यसलाई सुद्धिकरण गरेर जानुपर्ने उनकाे भनाइ छ ।
पत्रकार भइरहन कत्तिको सहज छ भन्ने प्रसंगमा शर्माले कोही केही रहिरहन कति सहज छ भन्ने प्रश्नमा आएर हेर्नेहो भने कुनैपनि कुरा सहज नभएको बताए । ‘नेता हुन पनि सहज छैन, किसान हुन पनि सहज छैन, पत्रकार हुन पनि सहज छैन केही हुन पनि सहज छैन, उनी भन्छन्,‘ कुरा इमान्दारिताको हो, संकलपको हो लगनशिलताको हो, यो भयो भने कसरी सहज हुने नहुने भन्ने कुरा आफैमा भर पर्छ ।’
पूर्व सञ्चारमन्त्री एवं काग्रेस नेता डा. मिनेन्द्र रिजाल पत्रकार महासंघमा गठबन्धनको अध्यक्षको रुपमा अपेक्षा राख्नु मुर्खता भएको बताउँछन् । राजनीति जस्तो छ, पत्रकार पनि उस्तै भएको भन्दै उनले राजनीतिको प्रति छाया देखिएको भन्दै पत्रकारप्रतिछाया बन्दा पत्रकार नै नरहने बताए । काग्रेस-एमाले मिलेको गठबन्धनको संस्कृतिलाई उपयोग गरेर बनेको महासंघले यो प्रवृतिबाट उम्काउन सक्नुपर्ने उनकाे भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.