२०८१ पुष ९ गते १२:१७ विकासन्युज
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुल्ला गरेको आईपीओ पुष ८ गते बाँडफाँट गरेको हो ।
बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । गार्डियन माइक्रो लाइफले पहिलो चरणमा मंसिर १९ देखि पुष ३ सम्म वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्तापुँजीको ३० प्रतिशतको २२ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्न अनुमति पाएको थियो । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको २ लाख २५ हजार कित्ता सेयर बिक्रीको लागि उपलब्ध गराइएको थियो ।
यो आईपीओमा ३७ हजार २१९ आवेदकबाट १९ लाख ५४ हजार ६० कित्ता सेयरको माग आएको थियो, जुन ८.६८ गुणा बढी हो । आवेदनहरूमा १९ लाख ५३ हजार ८५० कित्ता सेयर सदर भएका थिए भने २१० कित्ता सेयर बदर भएका थिए । गोलाप्रथाबाट सेयर बाँडफाँड गर्दा २२ हजार ५०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्, जबकि १४ हजार ७०९ आवेदकको हात खाली रहयो ।
अब कम्पनीले दोस्रो चरणमा ३ प्रतिशत (६७ हजार ५०० कित्ता) आफ्ना कर्मचारीलाई, ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गर्नेछ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.