२०८१ पुष ९ गते १६:१६ विकासन्युज
काठमाडौं । सूर्य नेपाल इस्टर्न ओपन बुधबारबाट सुरु हुने भएको छ । सूर्य नेपाल गल्फ टूर २०२४-२०२५ अन्तर्गतको तेस्रो प्रतियोगिताको रूपमा सूर्य नेपाल इस्टर्न ओपन सुरु हुन लागेको हो ।
धरान गल्फ क्लबमा आयोजना हुन लागेको यो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिता ५४ होलमा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ५० हजार, द्वितीयले १ लाख र तृतीयले ७५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै शीर्ष २१ मा पर्ने खेलाडीहरूले पनि पुरस्कार रकम पाउनेछन् ।
प्रतियोगिता शनिबार प्रो-एम प्रतियोगिताको साथमा समाप्त हुनेछ । यसमा शौकिया गल्फरहरूले व्यवसायिक खेलाडीहरूसँग टिम बनाएर खेल्ने अवसर पाउने जनाइएको छ ।
कुल २९ व्यावसायिक गल्फरहरू र २६ शौकिया (५ वा कम ह्यान्डिक्याप भएका) खेलाडीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
शीर्ष खेलाडीहरूमा भुवन नगरकोटी, दिनेश प्रजापति, जयराम श्रेष्ठ, निरज तामाङ, सञ्जय लामा, र धन थापा रहेका छन्।
३६ होलको खेलपछि कट लागू गरिनेछ र शीर्ष २१ व्यावसायिक खेलाडीहरू र शौकिया खेलाडीहरूले अन्तिम १८ होलको चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.