२०८१ पुष ९ गते १६:३० विकासन्युज
काठमाडौं । नेपालको अनलाइन भुक्तानी गर्ने एउटा गेटवे ‘ईसेवा’ले ईसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।
ईसेवाले प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालहरू तथा केही समाचार पोर्टलमा ईसेवाबाट रकम चोरी भएको तथा ईसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरू प्रकाशित भएकाले विश्वास नगर्न ध्यानाकर्षण गराएको हो ।
१६ वर्षको इतिहासमा ईसेवाले आफ्नो सिस्टममा सुरक्षा प्रणालीलाई लिएर कुनै कमी नराखेको समेत कम्पनीले जनाएको छ ।
कम्पनीले ईसेवा लगायतका नेपालका कुनै पनि डिजिटल वालेट कम्पनीहरूले ग्राहकहरू तथा मर्चेन्टहरुको रकम आफ्नो कम्पनी वा कम्पनीको कुनै मातहतमा राख्न पाउने व्यवस्था नरहेको जानकारीसमेत गराएको छ ।
भुक्तानी तथा फर्स्याैट ऐन, २०७५ अनुसार इसेवाजस्ता डिजिटल वालेटहरूको कुनै ‘क’ वर्गको वाणिज्य बैंकमा सेटलमेन्ट खातामा हुनु पर्ने प्रावधान रहेको छ ।
सोही प्रावधानअनुसार प्रयोगकर्ताहरूको रकम डिजिटल वालेटमा नभएर उक्त सेटलमेन्ट बैंक खातामा जम्मा हुन्छ । यस प्रणालीले ग्राहकको रकमको दुरुपयोग हुन वा कुनै पनि प्रकारको अनधिकृत पहुँचबाट सुरक्षित राख्दछ ।
ईसेवाले ग्राहकको रकम पूर्ण रूपमा सुरक्षित रहेको र आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्यतथ्यमा विश्वास गर्नसमेत आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.