एनसीएचएलले मनायो १६औं वार्षिकोत्सव, नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड आउँदै

  २०८१ पुष ९ गते १७:३९     विकासन्युज

 

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो १६औं वार्षिकोत्सव मनाएको छ ।

एनसीएचएलले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा विसं २०६५ को पुस ८ मा एनसीएचएल सञ्चालनमा आएको थियो । यो नेपालमा विभिन्न राष्ट्रिय भुक्तानी, क्लियरिङ र सेटलमेन्ट प्रणालीहरु स्थापना गर्न सञ्चालनमा आएको हो ।

एनसीएचएलले प्रारम्भिक दिनमा म्यानुअल चेक क्लियरिङ डिजिटाइज गर्न एनसीएचएल-ईसीसीको सुरुवात गरेर पछि नेपाल राष्ट्र बैंकको रणनीति अनुसार आधुनिक डिजिटल भुक्तानी प्रणालीहरू सञ्चालनमा ल्याएको हो ।

विगत १६ वर्षको यात्रामा, एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, रिटेल पेमेन्ट स्वीच, कनेक्ट आईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, एनपीआई, नेपालपे क्यूआर र ईएफटी कार्ड सर्भिस कार्यान्वयन र सञ्चालन गर्दै आइरहेको छ ।

हाल नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेशनल कार्ड स्विच र नेपालपे डोमेस्टिक कार्ड कार्यान्वयन गर्ने क्रममा रहेको छ ।

वार्षिकोत्सव कार्यक्रममा एनसीएचएलले कम्पनीमा १० वर्ष पूरा गरेका तीन कर्मचारीहरूलाई कम्पनी प्रतिको समर्पणको लागि दीर्घ सेवा पदकबाट सम्मानित गरेको छ ।

सम्मानित हुने मध्ये प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, प्रोडक्ट लीड विष्णुप्रसाद धिताल तथा इनचार्ज कार्ड अपरेसन्स बन्दना लुइँटेल रहेका छन् ।

एनसीएचएलले वार्षिकोत्सवको अवसरमा १२ वटा विधामा सबैभन्दा बढी कारोबार गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र सरकारी निकायलाई सम्मानित गरेको छ ।

एनसीएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको इजाजतप्राप्त संस्था हो । एनसीएचएलमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सदस्यका रूपमा र १०० भन्दा बढी गैर-बैंक संस्थाहरू प्राविधिक सदस्यका रूपमा आबद्ध रहेका छन् ।

एनसीएचएलको प्रणालीहरूबाट दैनिक औसत ५५ अर्ब रुपैयाँ बराबरको ६ लाखभन्दा बढी भुक्तानी कारोबार हुने गरेका छन् भने गत आर्थिक वर्ष एनसीएचएलले १५ हजार ५७५ अर्बभन्दा बढीको १२ करोड ६१ लाख भुक्तानी कारोबारहरू फर्छ्याैट गरेको थियो ।

भुक्तानी कारोबार संख्याको आधारमा सो संख्या ५४% ले वृद्धि भएको हो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स संघका उपाध्यक्ष, नेपाल वित्तीय संस्था संघका अध्यक्ष, एनसीएचलका पूर्व अध्यक्षहरू तथा निवर्तमान सञ्चालकहरू, वर्तमान अध्यक्षहरू र सञ्चालकको उपस्थिति थियो ।

यसैगरी, कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ प्रतिनिधिहरू, अर्थ मन्त्रालय, नेपाल सरकारका विभिन्न निकाय तथा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका पदाधिकारीहरू, बैंक तथा वित्तीय संस्था, पीएसपी, पीएसओका प्रमुखहरूलगायत अन्य पदाधिकरीहरूको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.