२०८१ पुष १२ गते १२:३७ डा. विवेक कुमार पूर्वे
डाक्टरलाई समाजमा जीवनरक्षकको रूपमा हेरिन्छ। उनीहरूको काम बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्नु, रोगको निदान र उपचार गर्नु, तथा मानिसलाई जीवनको संकटबाट बचाउनु हो । यो पवित्र र सम्मानजनक पेशा हो, जसले समाजलाई स्वास्थ्य र जीवनको ग्यारेन्टी दिन्छ । तर, डाक्टरको यो जिम्मेवारीमाथि नजर गर्दा त्यससँगै आउने तनाव र चुनौतीलाई प्रायः बेवास्ता गरिन्छ । डाक्टरको पेशा केवल सम्मान र प्रतिष्ठासँग मात्र जोडिएको छैन, यसमा थुप्रै प्रकारका मानसिक, शारीरिक, र सामाजिक दबाबहरू समेत रहेका छन्, जसले डाक्टरको व्यक्तिगत जीवनमा ठूलो असर पार्न सक्छ ।
डाक्टर बन्ने यात्रा नै थकित बनाउने खालको हुन्छ । मेडिकल शिक्षा सुरु गर्नकै लागि लामो समयसम्म कडा प्रतिस्पर्धा पार गर्नुपर्छ । नेपालजस्तो देशमा मेडिकल पढ्न प्रवेश परीक्षा पार गर्न कठिन मात्र छैन, खर्चिलो पनि छ । शैक्षिक यात्राका क्रममा निरन्तर अध्ययन, परिक्षा, र प्रशिक्षणले शारीरिक र मानसिक थकान ल्याउँछ । यस यात्राले विद्यार्थीको सामाजिक जीवनलाई प्रभावित पार्छ । त्यसैले डाक्टर बन्ने प्रक्रियाबाटै तनाव सुरु हुन्छ ।
जब एक व्यक्ति डाक्टरको रूपमा काम गर्न थाल्छ, उनको जिम्मेवारी झन् ठूलो हुन्छ । बिरामीको स्वास्थ्यको जिम्मा, समयमै रोग पहिचान गर्नुपर्ने दबाब, र सही उपचारको आवश्यकता डाक्टरलाई मानसिक तनावमा पार्छ । डाक्टरको एउटा सानो गल्तीले बिरामीको जीवन जोखिममा पर्न सक्छ, जसले डाक्टरमाथि ठूलो भावनात्मक र पेशागत दबाब सिर्जना गर्दछ । यो डर र दबाबसँगै उनीहरूले २४ घण्टासम्म लगातार काम गर्नुपर्ने हुन्छ । विशेष गरी आपतकालीन कक्ष र शल्यक्रिया कक्षमा काम गर्ने डाक्टरहरूलाई निरन्तर उच्च चनाखोपन र सतर्कता कायम राख्नुपर्छ । यसले उनीहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्छ ।
डाक्टरको कार्यक्षेत्र प्रायः तनावपूर्ण हुन्छ । बिरामीको गम्भीर अवस्था, असन्तुष्ट बिरामी वा परिवारजन, र अस्पताल प्रशासनको अपेक्षाले डाक्टरलाई मानसिक रूपमा थकित बनाउँछ । नेपालजस्तो देशमा स्वास्थ्य सेवाको पहुँच सीमित र स्रोत साधनको अभावले गर्दा डाक्टरहरूमा थप चुनौती सिर्जना हुन्छ । अस्पतालहरूमा बिरामीको चाप उच्च हुन्छ, तर जनशक्ति र उपकरणहरू पर्याप्त हुँदैनन् । यस्तो अवस्थामा डाक्टरहरूले सीमित स्रोत साधनमा बिरामीको जीवन बचाउनुपर्ने चुनौतीको सामना गर्नुपर्छ ।
डाक्टर पेशामा तनावको अर्को ठूलो कारण भनेको बिरामी र तिनका आफन्तहरूको अपेक्षा हो । धेरैजसो मानिसले डाक्टरलाई एकदमै परिपूर्ण व्यक्तिका रूपमा हेर्छन् । यदि उपचार असफल भयो वा चमत्कारी परिणाम आएन भने, बिरामीका आफन्तहरूले डाक्टरमाथि आरोप लगाउन थाल्छन् । नेपालमा पछिल्ला दिनहरूमा डाक्टरहरूमाथि हुने शारीरिक आक्रमणका घटनाहरू बढ्दै गएका छन् । अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्यु हुँदा वा उपचारमा ढिलाइ भएमा बिरामीका परिवार र आफन्तहरूले डाक्टर र स्वास्थ्यकर्मीहरूमाथि आक्रोश पोख्ने गरेका छन् । यसले डाक्टरहरूमा असुरक्षाको भावना र मानसिक तनाव पैदा गर्दछ ।
डाक्टरको कामले उनीहरूको व्यक्तिगत जीवनलाई पनि गम्भीर रूपमा प्रभावित गर्दछ । व्यस्त तालिका, लामो समयसम्म काम गर्नुपर्ने अवस्था, र बिरामीको जीवनप्रति उच्च जिम्मेवारीले गर्दा डाक्टरहरू प्रायः आफ्नो परिवार र सामाजिक जीवनमा समय दिन सक्दैनन् । कतिपय अवस्थामा यो पेशागत जीवन र व्यक्तिगत जीवनको असन्तुलनले डाक्टरहरूमा डिप्रेशन, एङ्जाइटी, र अन्य मानसिक स्वास्थ्य समस्या निम्त्याउँछ ।
डाक्टर पेशासँग सम्बन्धित तनाव घटाउन विभिन्न उपायहरू अपनाउन सकिन्छ । सबैभन्दा पहिले, मेडिकल शिक्षा र तालिमका क्रममा विद्यार्थीलाई मानसिक स्वास्थ्यको महत्वबारे शिक्षित गराउनुपर्छ । उनीहरूलाई तनाव व्यवस्थापनका विधिहरू सिकाउनुपर्छ । अस्पताल र स्वास्थ्य संस्थाहरूले डाक्टरहरूको कामको समयलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । अत्यधिक कामको बोझ कम गर्न अतिरिक्त जनशक्तिको व्यवस्था र कामको समयलाई ब्यवस्थित गरेर डाक्टरहरूको कार्यक्षमता बढाउन सकिन्छ ।
त्यस्तै, डाक्टरहरूले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । योग, ध्यान, र नियमित शारीरिक व्यायाम तनाव कम गर्नका लागि प्रभावकारी उपायहरू हुन् । परिवार र साथीहरूसँग समय बिताउनु, आफ्नो भावना सेयर गर्नु, र आरामको समय सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण छ । अस्पतालहरूले डाक्टरका लागि मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउनुपर्छ ।
समाजले पनि डाक्टरहरूको कामप्रति सहानुभूति र समझदारी देखाउनुपर्छ । बिरामीका आफन्तले डाक्टरहरूप्रति अनावश्यक दबाब सिर्जना गर्नुको सट्टा उनीहरूका प्रयासको कदर गर्नुपर्छ । सरकार र नीति निर्माताहरूले डाक्टरहरूको सुरक्षाका लागि कडा कानूनी व्यवस्था लागू गर्नुपर्छ । अस्पतालका संरचनाहरूलाई सुधार गरी स्रोत साधनमा लगानी बढाउनुपर्छ, जसले डाक्टरहरूले सुरक्षित र प्रभावकारी रूपमा काम गर्न सकून ।
डाक्टर पेशा केवल सेवा मात्र होइन, यो त्याग र बलिदानले भरिएको छ । उनीहरूले आफ्नो व्यक्तिगत सुख, स्वास्थ्य, र समय त्यागेर अरूको जीवन बचाउँछन् । तर, यो सेवा दिन सक्ने वातावरण तयार गर्नु राज्य र समाजको जिम्मेवारी हो । डाक्टरहरूको मानसिक स्वास्थ्य राम्रो रहेमात्र उनीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्छन् । त्यसैले, डाक्टर पेशासँग जोडिएको तनावलाई सम्बोधन गर्न सबै पक्ष एकसाथ अघि बढ्नुपर्छ ।
डाक्टर पेशालाई सम्मान गर्नु भनेको उनीहरूले सामना गर्नुपर्ने चुनौती र तनावलाई बुझ्नु हो । उनीहरूको स्वास्थ्य र सुरक्षामा ध्यान दिँदा मात्र समाजमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न सकिन्छ । डाक्टरहरूको जीवन सहज र तनावमुक्त बनाउन राज्य, अस्पताल प्रशासन, र समाजले सामूहिक रूपमा कदम चाल्नुपर्ने समय आइसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Very niicely written Dr Bibek. Thank you for giving voice to Nepales Medicos.
Nice article and Thanks to Dr Bibek for your biggest contribution in this medical sector of Nepal
Proud of you Dr. Bibek.