कर्णाली डेभलपमेन्ट बैंकले देखाएको संकेत : कति मजबुत छ वित्तीय प्रणाली ?

  २०८१ पुष १२ गते १३:४०     सीआर भण्डारी

काठमाडौं । राष्ट्र बैंकले समस्याउन्मुख घोषणा गरेको एक महिनामै कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भयो । पुँजी कोष अनुपात नपुगेपछि निक्षेप संकलन तथा कर्जा लगानी गर्न रोक लगाएको राष्ट्र बैंकले बुधबार भने सञ्चालक समिति र व्यवस्थापन समूहलाई नियन्त्रणमा लिएर बैंक आफ्नो कब्जामा लियाे ।

गत मंसिर ११ गते शीघ्र सुधारात्मक कारवाहीमा पर्दा ६ महिनाभित्र संस्थाको नयाँ व्यवस्थापनले वित्तीय सुधार ल्याउने शर्तमा थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको थियो । तर, यस अवधिमा बैंक सुधारको कुनै संकेत नदेखिएको र झन् समस्या निम्तिने देखेपछि राष्ट्र बैंकले आफ्नो नियन्त्रणमा लिएको हो ।

राष्ट्र बैंकले साउन ६ गतेदेखि साउन ११ गतेसम्म स्थलगत निरीक्षण गर्दा कर्जा नोक्सानी व्यवस्थामा सुपरीवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्कृय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत कायम रहेको जनाएको छ ।

अर्को व्यवस्था नभएसम्मका बैंकको व्यवस्थापन समूहको संयोजकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडा, वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकेको छ ।

विभिन्न सार्वजनिक फोरममा सहकारी क्षेत्रमा देखिएको समस्या विस्तारै बैंकिङ क्षेत्रमा पुग्ने सार्वजनिक वक्तव्य दिँदै आएका छन् । सहकारीमा देखिएको समस्या लघुवित्त हुँदै विकास बैंकसम्म आइपुगेको छ । कर्णाली बैंक समस्याग्रस्त घोषण भएपछि यो समस्या बैंकिङ क्षेत्रमा थप बढ्छ कि भन्ने चिन्ता र चासोको विषय बनेको छ । सर्वसाधारणलाई सशंकित बनाएको छ ।

ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिबहादुर बुढाथोकी क्षेत्रीय स्तरका बैंकलाई समस्या नै रहेको बताउँछन् । थप जटिल वा सशंकित हुनुपर्ने अवस्था नरहेपनि व्यवसाय वृद्धिमा चुनौती भने रहेको उनको भनाइ छ ।

‘सबै बैंकको आ-आफ्नो व्यवसाय छ, पोर्टफोलियो छ, व्यवस्थापन समूह पनि अब्बल छ । पश्चिमको एउटा बैंक समस्यामा पर्दा समग्र बैंकिङ क्षेत्रमा समस्या नआउला, थप जटिल नबन्ला । राष्ट्र बैंकले प्रोभिजन गर्न लगाएको छ, ओभरसाइट गरिरहको छ,’ उनले भने, ‘कर्णाली बैंकको जस्तो समस्या अन्य क्षेत्रीय बैंकमा आएको छैन । तर, व्यवसाय गर्न भने पक्कै कठिन छ । काम गर्न गाह्रो छ । कर्जाको गुणस्तरीयतामा ध्यान दिन जरुरी छ ।’

प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनिराम पोखरेल कर्णाली बैंक समस्याग्रस्त घोषण भएपछि अन्य बैंक वित्तीय संस्था पनि समस्यामा पर्छन् कि भनेर आशंका भएपनि त्यस्तो समस्या नरहेको बताउँछन् । तथ्याङ्क हेर्दा अन्य बैंक वित्तीय संस्था समस्यामा नरहेको उनको भनाइ छ ।

पूर्वबैंकर पर्शुराम कुँवर बैंकहरूको व्यवसाय नै जोखिम लिने र दिने भएकाले वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुने गरेको बताउँछन् । संस्था समस्यामा परेका बेला नाफाभन्दा पनि दीर्घकालसम्म टिक्न सक्छ कि सक्दैन भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ । साथै बैंक समस्यामा छ भने समाधानका विषयमा पनि बलियो सन्देश बजारमा पठाउनु पर्ने उनी बताउँछन् ।

‘वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुन्छ, व्यापार नै जोखिम लिने र दिने व्यवसाय हो । बैंकहरूको काम नै जोखिम लिने हो । जोखिम लिँदा कहिलेकाहीं तलमाथि हुन्छ । तलमाथि हुँदा नाफा/नोक्सानलाई मतलब गर्दैन । मुख्य विषय भनेको संस्था दीर्घकालसम्म टिक्छ कि टिक्दैन भन्ने हो,’ पूर्वबैंकर कुँवरले भने, ‘नेपालका बैंक मात्रै नभएर विदेशमा पनि नाफा घाटामा चलिरहेका छन् । मुख्य विषय भनेको पुँजी पर्याप्तता र तरलता हो । यो दुइटैले असर गर्‍यो भने संस्थाललाई हानी नोक्सानी पुर्‍याउँछ ।’

सहकारी, लघुवित्त र विकास बैंकमा समस्या देखिएपछि अब वाणिज्य बैंकमा समस्या आउँछ कि भन्ने जनतामा गलत भ्रम रहेको उनको भनाइ छ । तत्काल कुनै पनि बैंक ढल्न नसक्ने अवस्थामा रहेको उनले बताए ।

‘वाणिज्य बैंक ढल्न निकै समय लाग्छ । ठूल्ठूला संस्था डुब्न समय लाग्छ । बैंक ढल्नका लागि बागमतीमा धेरै पानी बग्नुपर्छ,’ पूर्वबैंकर कुँवरले भने, ‘साना पसल बन्द भएजस्तो होइन । बैंकिङ अर्गानिक व्यवसाय हो ।’

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय सूचकका आधारमा समस्याग्रस्त संस्था घोषणा गरिएको र अन्य संस्थामा यस्तो समस्या नरहेको बताउँछन् । प्रणाली प्यानिक हुने संकेत नरहेको उनले बताए । हालको तथ्याङ्क र अवस्था हेर्दा बैंकिङ प्रणालीमा थप समस्या आउने नदेखिएको उनको भनाइ छ ।

‘अहिले यस्तो कुनै समस्या छैन । सिस्टमिक प्यानिक हुने संकेत होइन । तर, वित्तीय प्रणाली कतिबेला के हुन्छ भन्न सकिँदैन,’ प्रवक्ता पौडेलले भने, ‘सबै राम्रो रहेको अमेरिकामा सिलिकन भ्याली, सिग्नेचर बैंक, क्रेडिट स्वीस बैंक समस्यामा परे । वित्तीय प्रणाली सधैं सेन्सेटिभ हुन्छ । तर, सहकारीले समस्याले विकास बैंकमा समस्या आएको होइन । यो समस्याले वाणिज्य बैंकमा पनि समस्या हुन्छ भन्ने आधारहरू छैनन् । त्यसकारण त्यो अहिले नै सोच्नुपर्ने बेला भएको छैन ।’

उनका अनुसार थप समस्या आउन नदिन नियामक राष्ट्र बैंकले रातदिन काम गरिरहेको छ । प्रणाली जोगाउनका लागि राष्ट्र बैंकले संस्थाभन्दा बढी चिन्ता र चासोका साथ काम गरिरहेको उनको भनाइ छ ।

‘थप समस्या हुन दिइने छैन । यदि चिन्ता चासो नभए सहकारी संस्थाजस्तै छोडिदिएको भए पनि हुन्थ्यो नि । प्रणाली बचाउनका लागि, निक्षेपकर्ताको हित संरक्षण गर्न र समस्या के हो त्यहींबाट समाधान निकाल्न राष्ट्र बैंकले कदम चालिरहेको छ, ’ प्रवक्ता पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.