नेपाल लाइफले सार्वजनिक गर्‍यो नेपाल लाइफ रक्षा कवच म्यादी जीवन बीमा योजना

  २०८१ पुष १९ गते १४:२९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पौष १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दूर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमांक रकम पाँच लाख र अधिकतम बीमांक रकम एक करोड रहेको छ ।

यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्ने कम्पनीले जनाएकाे छ । बीमा अवधि न्यूनतम १ वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ ।

यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम ५ वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिने पनि कम्पनीले जनाएकाे छ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बीमितको मृत्यु भएमा बीमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका सीईओ पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको उनकाे भनाइ छ ।

सीईओ पराजुलीले जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मुल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न उनले आग्रह गरे ।

कोर प्रडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोशेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको बताए ।