२०८१ पुष २४ गते १५:२४ बबिता तामाङ
काठमाडौं । देशमा सञ्चालनमा रहेका अधिकांश विमानस्थल घाटामा सञ्चालन भइरहेको देखिएकाे छ। नेपाल नागरिक उड्यन प्राधिकरणले उपलब्ध गराएको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशभर सञ्चालनमा रहेका ३६ विमानस्थलमध्ये १८ विमानस्थल घाटामा सञ्चालन भइरहेको पाइएको हाे ।
तथ्यांकअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित १८ विमानस्थल घाटामा सञ्चालित छन् । गौतमबुद्ध विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड १३ लाख आम्दानी गरेकोमा २१ करोड २२ लाख खर्च भएको छ । उक्त विमानस्थलको सञ्चालन खर्चमात्रै १६ करोड २ लाख रहेको छ भने पुँजीगत खर्च ५ करोड २० लाख भएको छ ।
तथ्यांकअनुसार गौतमबुद्धको आव २०७९/८० को तुलनामा २०८०/८१ मा आम्दानीसमेत घटेको देखिन्छ । आव २०७९/८० मा उक्त विमानस्थलले २५ करोड ३० लाख आम्दानी गरेको छ । आव २०७९/८० पनि विमानस्थल घाटामै सञ्चालित थियो । उक्त आवमा विमानस्थलको खर्च २८ करोड २० लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
घाटामा रहेको अर्को विमानस्थल हो तुम्लिङटार । उक्त विमानस्थलले आव २०८०/८१ मा ५१ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा ६१ लाख रुपैयाँको खर्च देखिन्छ । विमानस्थलको सञ्चालन खर्चमात्रै ५५ लाख ६६ हजार छ । जुम्ला विमानस्थलले आव २०८०/८१ मा २६ लाख रुपैयाँ बराबरको आम्दानी गर्दा २९ लाखभन्दा बढी खर्च गरेको छ ।
घाटामा चलिरहेको अर्को विमानस्थल हो बझाङ । जुन विमानस्थलले २ लाख मात्रै कमाइ गरेको छ । जसको खर्च २६ लाख छ । त्यस्तै, बाजुरा विमानस्थलले २३ लाख रुपैयाँको आम्दानी गर्दा खर्च ९ लाख रुपैयाँभन्दा बढी भएको छ । भोजपुर विमानस्थलले ६ लाख ६३ हजार रुपैयाँको कमाइ गरेको देखिन्छ भने जसको खर्च १४ लाख ४५ हजार बढी छ ।
२०८०/८१ अनुसार घाटामा सञ्चालित अन्य विमानस्थलहरुमा दाङ, डोल्पा, रारा, रुकुम सल्ले, रुम्जाटार पनि हुन् । दाङले पाँच लाखका कमाइ गर्दा ८ लाखको खर्च भएको छ । डोल्पाको आम्दानी १४ लाख रुपैयाँ छ, जसको खर्च १६ लाख रुपैयाँ छ । राराको कमाइ २५ लाख रुपैयाँ र खर्च २६ लाख रहेको छ ।
घाटामा सञ्चालित विमानस्थल
नाफामा सञ्चालित विमानस्थल
नेपालमा सञ्चालित विमानस्थलमध्ये सबैभन्दा बढी आम्दानी गर्ने विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । उक्त विमानस्थलले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ८६ करोड रुपैयाँ कमाएको छ ।
विमानस्थलको उक्त आवमा एक अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च भएको छ । तथ्यांकअनुसार त्रिभुवन विमानस्थलको सञ्चालन खर्च ९९ करोड ३५ लाख र पुँजीगत खर्च ५७ करोड ४१ लाख रुपैयाँ भएको छ ।
नाफामा सञ्चालन भइरहेको अर्को अन्तर्राष्ट्रिय विमानस्थल हो पोखरा । पोखरा विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँको आम्दानी गर्दा १३ करोड ३६ लाखको खर्च भएको छ । नेपालगञ्ज विमानस्थलले १३ लाख ११ करोडको आम्दानी गरेको छ । जुन विमास्थलको ४ करोड ९९ लाख रुपैयाँ खर्च भएको देखिन्छ ।
त्यस्तै, धनगढी विमानस्थले आव २०८०/८१ मा ६ करोड ३९ लाख आम्दानी गरेको छ । जसको खर्च २ करोड ७८ लाख छ । भरतपुर विमानस्थलले ६ करोड ३९ लाखको आम्दानी गर्दा एक करोड ३५ लाखको खर्च गरेको देखिन्छ ।
किन घाटामा छन् विमानस्थल ?
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थल र ५२ आन्तरिक विमानस्थल गरी हाल देशभर ५५ विमानस्थल सूचीकृत छन् । ५२ आन्तरिक विमानस्थलमध्ये पनि मझौला जहाज जाने ११ वटा विमानस्थल छन् । बाँकी ४१ विमानस्थल साना धावनमार्ग भएका विमानस्थलहरू हुन् । ४१ मध्यपनि २८ वटा धावनमार्ग कालेपत्र भएका विमानस्थल छन् ।
बाँकी १३ वटा अनपेभ्ड विमानस्थलमा पर्छन् । जिरी, लाङटाङ, रोल्पा, ढोरपाटन, गोर्खापालुङटार, दार्जुलालगायत यसभित्र पर्छन् । प्राधिकरणका अनुसार १३ विमानस्थलमध्ये ९ वटा विमानस्थल सूचीमा मात्रै सीमित छन् । जुन विमानस्थल उडानयोग्य छैनन् । ती विमानस्थललाई प्राधिरणले सूचीबाट हटाउन सकेको छैन ।
प्राधिकरणका अनुसार २८ वटा कालेपत्रे भएका विमानस्थलमध्येमा पनि नियमित उडान हुने विमानस्थल १८ वटा मात्रै छन् । बाँकी १० वटा नियमित रूपमा उडान हुने तालिका छैन । यसरी संख्यामा धेरै विमानस्थल देखिएतापनि व्यावसायिक रूपमा सञ्चालन हुने विमानस्थल थोरै देखिन्छ ।
प्राधिकरणका प्रवक्ता हंशराज पाण्डे नेपालमा विमानस्थलको संख्याअनुसार जहाज कम हुँदा २८ वटै विमानस्थलमा नियमति उडान गर्न सम्भव नभएको बताउँछन् ।
सञ्चालनमा रहेका ती विमानस्थलहरूमध्ये धेरैजसो दुर्गम, पहाडी भूभागदेखि सडक सडक पूर्वाधार नभएको ठाउँमा छन् । जहाँ यसको महत्त्व धेरै छ । ‘विमानस्थलको महत्त्व हुँदाहुँदै पनि नियमति उडान गर्न सकेको छैन । उडान नहुँदा विमानस्थलहरुले आम्दानी गर्न सकेका छैनन्, आम्दानी नहुँदा कम्पनीले नाफा गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने ।
दुर्गम क्षेत्रमा निगमको दायित्व
महत्त्व हुँदाहुँदै पनि दुर्गम क्षेत्रमा उडान नहुँदा ती विमानस्थल ओझेलमा परेको उल्लेख गर्दै प्रवक्ता पाण्डेले ती क्षेत्रमा उडान गर्ने सरकारी दायित्व नेपाल वायु सेवा निगमले लिनुपर्ने बताए ।
घाटामा जाने जाने विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन र चलायमन बनाउन सबै निकायको उत्तिकै सहयोग आवश्यक रहेको प्रवक्ता पाण्डेको भनाइ छ । त्यसबाहेक जहाजको संख्या थपेर नियमति उडान गर्न सके घाटा कम गर्न सक्ने प्रवक्ता पाण्डेको विचार छ ।
घाटामा गएका विमानस्थलहरू सामाजिक उत्तरदायित्वअन्तर्गत पर्ने हुँदा त्यसको महत्त्व पनि धेरै छ । ‘ती विमानस्थलमा आर्थिक हिसाबले घाटा भएपनि अतिआवश्यक छन् । भूकम्प, दैवीप्रकोप हुँदा त्यही विमानस्थलले ठूलो भूमिका खेलेको हुन्छ,’ पाण्डेले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.