उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान प्रज्ञा प्रतिष्ठानबीच वैज्ञानिक सहकार्यका लागि छलफल

  २०८१ पुष २४ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का बीचमा देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि छलफल भएको छ ।

नास्टका तर्फबाट महासंघसँग सहकार्यको निमित्त विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका निम्ति सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने लयागतका विषयमा मंगलबार महासंघ सचिवालयमा छलफल भएको हो ।

नास्टका उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बाको नेतृत्वको टोलीले एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल गरेको थियो ।

सो अवसरमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघसंस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्वतवृत्तिजस्ता कार्यक्रमहरूको सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदानमार्फत साझेदारको भूमिका गर्न सक्ने विषयमा छलफल भएको थियो ।

यस्तै, उद्योगको प्रायोजनमा उद्योगले इच्छा गरेको क्षेत्रमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनमा सहकार्य गर्न सकिने नास्टको टोलीको धारणा छ ।

सो अवसरमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नास्टले महासंघसँग गर्न खोजेको सहकार्य स्वागतयोग्य भएको बताउँदै यस सम्बन्धमा थप अध्ययन गरेर सहकार्य गर्न सकिने धारणा राखे ।

‘निश्चय नै अनुसन्धा‌न तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टरको स्थापना देशको समग्र विकासका लागि आवश्यक कुराहरू हुन् । यसमा सहकार्य गर्ने महासंघ सकारात्मक नै छ । यसमा थप अधध्ययन गरेर ठोस काम गर्न सकिन्छ,’ उनले भने ।

यस्तै (नास्ट) का उपकुलपति प्रा.डा.दिलीप सुब्बाले नास्टले दुइ संस्थाबीच अनुसन्धान र विकासका क्षेत्रमा सहकार्य गर्न सके देशको औद्योगिक विकासमा सकारात्मक योगदान गर्न सकिने उल्लेख गरे ।

‘हामीसँग वैज्ञानिकहरूको टिम छ । देश विदेशमा रहेका अन्य वैज्ञानिकहरू पनि सम्पर्कमा हुनुहुन्छ । उहाँहरू सबैको ज्ञानलाई अनुसन्धान तथा विकासमा लगाउन सकिन्छ । र, यसको लागि महासंघ नै उपर्युक्त संस्था हो भन्ने हामीलाई लागेको छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.