रिसोर्टजस्तै छ बलम्बु अस्पताल, कोठाबाट सुरू हुँदै २०० रोपनीमा विस्तार

  २०८१ पुष २६ गते ११:१३     इन्द्रसरा खड्का

काठमाडौं । हाइवे सडकभन्दा केही मिटर भित्र । हिँडेर जाँदा करिब ५ मिनेट जति लाग्छ । बाहिरको गेटमै उभिएका छन् सशस्त्र प्रहरी । गेट बन्द छ । सानो बाइक छिर्ने र मान्छे हिँड्न मिल्नेसम्मको बाटो खुला । गेटमा पुग्नेबित्तिकै सोधिन्छ- केको लागि होला ? कामकुरो भनिसकेपछि भित्र जाने अनुमति पाइन्छ । बाहिरको गेट कट्नेबित्तिकै भित्र खुला ठाउँ देखिन्छ । बाहिरको गेटबाट अनुमति पाएर भित्र पस्दा अर्को ठूलो गेट आउँछ । झट्ट हेर्दा कुनै रिर्सोटजस्तो सफा, चिटिक्क, हरियालीसुन्दर पार्क, पार्किङ । 

शान्त वातावरण, कोही फाट्टफुट्ट ओहोरदोहोर गरिरहेको देखिन्छन् । यो दृश्य हेर्दा लाग्दैन कि यो कुनै अस्पताल हो । जसले दिनहुँ हजारौंको उपचार गर्छ । तर, ओपीडी इमर्जेन्सीमा पुग्दा अलि भीडभाड देखिन्छ । अन्य अस्पतालजस्तो घुइँचो यहाँ छैन । बुधबार देखिएको यो दृश्य हो- काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहेको नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको । 

अस्पतालका उपप्रमुख तथा एसएसपी डा. मीना कुँवर अस्पताल सफा, हरियाली बनाउन सक्नुमा अस्पतालसँग भएको पर्याप्त जमिन रहेको बताउँछिन् । ‘हामीसँग पर्याप्त जग्गा छ , अगाडि पछाडी खुला ठाउँ छ,’ उनी भन्छिन्, ‘एक हामीसँग जग्गा धेरै भयो, यति खुलापन अरू कुनै अस्पतालसँग छैन । अर्को हाम्रो फोर्सको अस्पताल हो, यहाँ कसैलाई काम गर्नुपर्छ भन्दा उसले गर्नैपर्छ, अर्को अप्सन हुँदैन । हामी पनि गर्छौं र अरूबाट पनि यस्तै काम चाहन्छौं ।’

अस्पतालको उपप्रमुख तथा एसएसपी डा. मीना कुँवर ।

विशेषगरी सरकारी अस्पतालमा सरसफाइको गुनासो सबैभन्दा धेरै आउँछ । अस्पताल फोहोर हुनुमा धेरै बिरामी र कुरुवाको भीडले हो ।  एपीएफ अस्पतालकै कुरा गर्दा ओपीडीमा दैनिक एक हजार बिरामी आउँछन् । यस्तै, भर्ना भएको बिरामीको संख्या दुई-तीन सय छ । बिरामीलाई भेट्न आउनेहरूको संख्या उत्तिकै हुन्छ । उपप्रमुख  कुँवर बिरामी, कुरुवा र आफन्त गरी अस्पतालमा मान्छेको चाप धेरै हुँदा सफा राख्न चुनौती हुने बताउँछिन् ।

भन्छिन्, ‘हामीले राम्रो गर्ने कोसिस  गर्छौं, सबै कर्मचारीले आफ्नो काम गर्नुभएको छ, मलाई लाग्छ आफ्नो काम इमानदारी साथ गर्‍यो भने सबै अस्पताल सफा राख्न सकिन्छ।’ 

यो अस्पताल सशस्त्र प्रहरी बल (एपीएफ)को मातहतमा छ। सशस्त्र प्रहरी तथा यहाँका कर्मचारी र तिनका परिवारलाई सेवा दिने उद्देश्यले यसको स्थापना वि.सं २०६१ सालमा भएको हो । २ सयभन्दा बढी रोपनी जग्गामा फैलिएको यो अस्पतालभित्र विभिन्न संरचना छन् । तीमध्ये कति प्रयोगमा आएका छन् भने कतिपय आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै बनाइएका छन् । ओपीडी, इमर्जेन्सी, ल्याबलगायतका सेवा छुटाछुट्टै भवनबाट प्रदान गरिन्छ ।

यो अस्पतालले ओपीडी, आकस्मिक सेवा, एक्सरे, फिजियोथेरापी र फार्मेसीजस्ता ट्रसरी स्तरको सबै सेवा दिँदै आएको छ । एपीएफका कर्मचारी र उनीहरूका परिवारलाई केन्द्रित गर्दै सञ्चालनमा ल्याएको अस्पतालले त्यहाँ वरिपरिका स्थानीय र अन्य सर्वसाधारणलाई पनि सेवा दिरहेको सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक प्रवक्ता कुमार न्यौपानेले बताए ।

सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक प्रवक्ता कुमार न्यौपाने ।

सशस्त्र प्रहरी र तिनका आफन्तलाई छुटको व्यवस्था छ भने सर्वसाधारणको लागि भने छुटको व्यवस्था छैन । यो अस्पताल कल्याणकारी कोषबाट सञ्चालन भइरहेकाले सशस्त्र प्रहरी र तिनका परिवारलाई केही छुट, स‍हीद परिवारका सदस्यलाई सय प्रतिशत छुटमा उपचार गरिरहेको एसएसपी, नेत्ररोग विशेषज्ञ तथा अस्पतालको उपप्रमुख कुँवरले बताइन् । उनका अनुसार यस अस्पतालमा अहिले दैनिक १ हजारदेखि १५ सय नागरिकले सेवा लिरहेका छन् । 

कोठाबाट सुरू हुँदै २०० रोपनीमा विस्तार

एपीएफ अस्पतालले आफ्नो कार्यालय बनाइ सेवा दिएको २० वर्ष भएपनि त्यसअघि सशस्त्र प्रहरीले हेडक्वाटरको कार्यालयमै सेवा दिरहेको थियो । मेडिकल युनिटको रूपमा एउटा कोठाबाटै सेवा दिन सुरु गरेको थियो । उपप्रमुख मीनाका अनुसार यो अस्पतालको सुरुवात एउटा कोठामा दुईवटा कुर्सी चारवटा टेबलबाट सुरु गरिएको हो । त्यो बेला नेपाल प्रहरी, नेपाल आर्मीको आ-आफ्नो अस्पताल बनिसकेको थियो ।

नेपाली सेना र नेपाल प्रहरीले आआफ्‌नै संरचना बनाएर कर्मचारी र तिनका परिवारलाई सेवा दिइरहेका थिए । सशस्त्र प्रहरीले पनि किन हामी अस्पताल सञ्चालन नगर्ने भन्ने कुरामा छलफल चलायो । सशस्त्र द्वन्द्वकालमा जन्मेको यो संस्थालाई अस्पतालको सख्त आवश्यकता पनि थियो । यो आवश्यकतालाई मध्यनजर गर्दै तत्कालीन  नेतृत्वले अस्पतालको  सुरुवात गरेको हो।

शुरूमा कल्याणकारी कोषले अस्पतालको लागि भनेर १ सय २ रोपनी जग्गा स्थानीयबाट किनेको थियो । त्यहीं ठाउँमा अस्पतालसँगसँगै सशस्त्र प्रहरीको दुईवटा गण थियो । कोभिडको बेला यो अस्पताललाई डेटिकेटेड अस्पताल बनाइयो । त्यो बेला अस्पतालसँग रहेका दक्षिणकाली र निलबराही गणलाई अन्यन्त्र सारी त्यो भवनमा कोभिड- १९ संक्रमित भएकाहरूलाई उपचार गर्न सुरु गरिएको थियो । दुई गणको जग्गा र अस्पतालको गरी अहिले अस्पतालसँग २ सयभन्दा बढी रोपनी जग्गा रहेको छ ।

यो अस्पतालले मुख्य हेर्नुपर्ने भनेको बहालवाला कर्मचारी र उनीहरूको आश्रित परिवार हो । जसमा आमाबुवा, श्रीमती, श्रीमान, छोराछोरी छन् ।  छोराछोरीमा पनि २१ वर्षको उमेरसम्म मात्र उनीहरूलाई सेवा दिने उमेर हद तोकिएको छ । त्योबाहेक भूपू कर्मचारी, राष्ट्रिय अनुसन्धान र मानवसेवा आश्रमको नागरिकलाई पनि यो अस्पतालले सेवा लिँदै आएका छन् ।  यस्तै, सशस्त्रले सञ्चालन गरेको विद्यालय, त्यहाँ अध्ययनरत विद्यार्थी, शिक्षक, एपीएफका खेलाडीहरूले पनि सेवा लिइरहेका छन् । अस्पताल वरिपरिका स्थानीयहरूलाई पनि अस्पतालले सेवासुविधा दिने गरेको अस्पतालले जनाएको छ । यस्तै, चन्द्रागिरी नगरपालिका, धादिङ, कीर्तिपुरलगायतका ठाउँबाट नागरिक सेवा लिन अस्पताल पुग्ने गर्छन् । 

तीन सय शैय्याको अस्पताल 

एपीएफ अस्पतालले ५ शैयाको बेडबाट सेवा दिन सुरु गरेको थियो । त्यसपछि आफ्नो संरचना बनाइसकेपछि १ सय १० बेडको अनुमति पायो । हालसालै यो अस्पताल ३ सय बेडमा पुगेको छ । ५,१५,७५,  ११० हुँदै अहिले ३ सय बेडको अस्पताल सञ्चालन गर्ने अनुमति पाउनु नै आफ्नो लागि ठूलो सफलता भएको उपप्रमुख कुँवर बताउँछिन् ।

उनी भन्छिन्, ‘जतिबेला हामीले कोभिडको उपचार सुरु गर्‍यौं, यही सेवासुविधा, यही जनशक्तिले काम गरेका थियौं ।’ ५ शैयाको अस्पतालबाट सुरु भएको यो अस्पतालले अब बीएसी नर्सिङ सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि सबै संरचना तयार पारिसकेको उनले बताइन् ।  

९२ बेडको संरचना तयार

द्वन्द्वकालमा जन्मेको फोर्सले अब म्यान्डेट परिवर्तन गरिरहेको छ । अहिले सीमारक्षा, आपतकालीन उद्धार, विपद् व्यवस्थापनमा महत्त्वपूर्ण काम गर्दै आइरहेको छ । अन्य विपदजस्तै स्वास्थ्यको विपद व्यवस्थापनमा पनि यो अस्पतालले काम गरिरहेको छ । कोभिड महामारीमा यो अस्पतालले निकै काम गरेको थियो ।

यही उद्देश्यले यो अस्पतालको पूर्वपट्टि सेतो-सेतो ठूला टेन्टहरू छन् । जहाँ श्वासप्रश्वाससम्बन्धी कुनै पनि महामारी हुँदा प्रयोगमा ल्याउने भन्दै ९२ शैयासम्म सेटअप गर्न सकिने व्यवस्था छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सहयोग गरेको यो टेन्ट आगामी दिन आउन सक्ने महामारी वा स्वास्थ्य विपदलाई केन्द्रित गरी तयार पारिएको हो ।

उपप्रमुख डा. मीनाले यो दक्षिण एसियाकै नमुना रहेको बताइन् । यो भित्र बेडदेखि लिएर आईसीयू, ओइसोलेसन वार्डसम्म तयारी अवस्थामा छ । अब कुनै मेडिकल इमर्जेन्सीमा अस्पताललाई तुरुन्त सुचार गर्ने सक्ने उनले बताइन् । यो तयारीले अब जस्तोसुकै महामारी आएको खण्डमा पनि अस्पताल तयारी अवस्थामा रहेको उनले जनाइन् ।

जनशक्तिको कमी

अस्पतालसँग पर्याप्त जग्गा छ । आवश्यकताअनुसार पर्याप्त संरचनाहरू पनि छन् । तर आवश्यकताअनुसार दक्ष जनशक्तिको भने यो अस्पतालमा पनि अभाव छ । जनशक्ति पर्याप्त नहुँदा विपदको बेला सर्वसाधरणलाई सेवा दिन गाह्रो भइरहेको छ । एक जना डाक्टर र एक जना नर्सले कति बिरामी हेर्ने भन्ने जुन आँकडा छ, त्योअनुसारको जनशक्ति उत्पादन गरी सेवा दिन नसकेको प्रवक्ता न्याैपानेले बताए । सशस्त्र प्रहरीसँग अहिले जम्मा १ सय ८ जना चिकित्सक छन् ।

तीमध्ये ५८ जना कोही विभिन्न मिसन र कोही अध्ययन बिदामा छन् । एपीएफ अस्पतालमा ५० जना चिकित्सकले सेवा दिइरहेका छन् । यस्तै, १ सय ६ जना नर्समध्ये ९२ जना अस्पतालमा कार्यरत छन् भने बाँकी मिसन र फिल्ड अस्पतालमा कार्यरत छन् । यो संख्या अस्पताल र ७ वटै प्रदेश शाखाका लागि पर्याप्त भने होइन । मुलुकको अर्थ व्यवस्थालाई मध्यनजर गर्दै यही अवस्थामा अघि बढ्नुपर्ने बाध्यता रहेको प्रवक्ता न्यौपाने बताउँछन् । 

सातै प्रदेशमा १५ शैय्याको अस्पताल

सशस्त्र प्रहरीले हरेक प्रदेशमा शाखा अस्पताल पनि सञ्चालन गरिरहेको छ, जहाँ एक प्रदेशमा १५ शैयाको अस्पताल छ । अहिले नेपालका इटहरी, बर्दिवास, पोखरा, कोहलपुर अत्तरिया र सुर्खेतमा फिल्ड अस्पताल छन् । कुरिनटारमा  २५ शैयाको ट्रमा सेन्टर पनि छ । यी अस्पतालहरूमा पनि १ सय ८ जनाभित्रकै चिकित्सक र १ सय ६ जना नर्सहरूले सेवा दिनुपर्ने बाध्यता छ ।

त्योबाहेक विभिन्न तालिम, मिसनमा पनि चिकित्सक अनिवार्य चाहिन्छ । यही जनशक्तिबाट प्रदेश, केन्द्र र मिसनको सेवा दिनुपर्ने बाध्यता छ । ‘हाम्रोमा मात्र होइन, नेपालका कुनै अस्पतालमा दरबन्दी कहाँ पुगेको छ र,’ उपप्रमुख कुँवर भन्छिन्, ‘अस्पतालअनुसार दक्ष जनशक्ति छैन, तर पनि हामी मिलाएर काम गरिरहेका छौं । हामी संधै अभावमा काम गर्ने मान्छे हौं, बानी परिसकेको छ ।’

उनले यो कुरा माथिल्लो तहमा पनि जानकारी भएको बताइन् । 

बिरामीको चाप

यो अस्पतालमा अहिले रुघाखोकी, श्वासप्रश्वासका बिरामीहरू बढी आइरहेका छन् । अघिपछि दैनिक १ हजार बिरामी ओपीडीमा आउने गरेकोमा अहिले बिरामीको संख्या घटेर ७ सयमा परेको छ । चिसोका कारण बिरामीको संख्या घटेको चिकित्सकहरू बताउँछन् । मंसिर महिनामा १२ हजार ३ सय ७४ जनाले अस्पतालबाट सेवा लिएका छन् । जसमा २१.७४ प्रतिशत मेडिसिनमा, ११.४५ प्रतिशत अर्थोपेडिकमा र ७.३५ प्रतिशतले गाइनोको सेवा लिएका छन् । अस्पतालमा सबैभन्दा बढी बिरामी बस्ने भनेको अर्थोपेडिक विभागमा हुन्छन् । 

सन्तुष्ट सेवाग्राही 

सिन्धुलीका गोविन्दकुमार श्रेष्ठले श्रीमतीको उपचार यही अस्पताल गराइरहेका छन् । हाल  चन्द्रगिरी नगरपालिका-८ मा बस्दै आएका उनले श्रीमतीको खुट्टा भाँचिदा एपीएफ अस्पताल ल्याए । उनलाई यहाँ सर्वसाधारणले उपचार गर्न पाउँछ कि पाउँदैन भन्ने पनि थाहा थिएन । तर नजिकको अस्पताल भएकाले गएर सोधे । त्यसपछि श्रीमतीलाई लिई अस्पताल पुगे ।

अहिले उनकी श्रीमतीको खुट्टाको अप्रेसन भइसकेको छ । अस्पतालमा भेटिएका श्रेष्ठ अन्य अस्पतालभन्दा यहाँ के फरक छ भनेर सोधिएको प्रश्नमा भन्छन्, ‘काठमाडौंका अन्य अस्पतालभन्दा यो अस्पताल राम्रो छ, यहाँ धेरै लाइनमा बस्न पर्दैन । अन्य अस्पतालजस्तो भीडभाड पनि हुँदैन । यहाँ समयमै उपचार पनि हुन्छ, जुन धेरै महँगो पनि छैन ।’

योभन्दा अगाडि श्रेष्ठ विभिन्न अस्पताल पुगे । तर उनलाई अन्य अस्पतालभन्दा यो अस्पताल राम्रो लाग्यो । नौबिसेकी रूपा भट्टको एक दिन अचानक खुट्टा चलेन । हिँड्न नसकेपछि उनलाई बलम्बुमा रहेको एपीएफ अस्पताल ल्याइयो । त्यहाँ एमआरआई गर्दा खुट्टाको मासु खुम्चेको थाहा भयो ।

अहिले उनी उपचार गराइरहेकी छिन् । रूपाका श्रीमान सशस्त्र प्रहरी हुन् । हाल उनको दुर्घटनामा परी निधन भएको छ । यो अस्पताल हुँदा उपचारमा सहज भएको उनले बताइन् । ‘हामीलाई यहाँ उपचार गर्न टिकट काट्नुपर्दैन, बेडको पैसा तिर्न पर्दैन,’ उनी भन्छिन्, ‘केही औषधीको मात्र अलिकति पैसा तिर्नुपर्छ । ८० प्रतिशत सेवा अस्पतालले नि:शुल्क गरिदिन्छ ।’ यो अस्पतालले गर्दा आफूजस्ता धेरै नागरिकलाई सहज भएको उनी बताउँछिन् ।

सशस्त्रलाई देखिने समस्या

सशस्त्र प्रहरीले तालिम गरिरहनुपर्छ ।  तालिमको दौरानमा सबभन्दा धेरै चोटपटक लाग्ने भएकाले ट्रमासम्बन्धी समस्याहरू धेरै हुन्छ।

तालिमको दौरानमा चोटपटक लाग्दा स्वाभाविक रूपमा हातखुट्टामै चोट लाग्छ,’ उपप्रमुख कुँवर भन्छिन्, ‘एक पटक तालिम भयो, सकियो भन्ने हुँदैन । हरेक दिन तालिम लिनुपर्छ । यसो हुँदा हाडजोर्नीसम्बन्धी समस्या सशस्त्रहरूमा बढी देखिन्छ।’

उनका अनुसार सशस्त्र प्रहरीमा इन्जुरीसम्बन्धी समस्या धेरै हुने गरेको पाइन्छ । कुनै पनि रोगबाट बच्न सन्तुलित आहार र स्वस्थ्य जीवनशैली हुनुपर्छ भनिन्छ । सशस्त्र प्रहरीको जीवनशैली र आहार दुवै राम्रो हुन्छ । तर, यति हुँदाहुँदै पनि सशस्त्र जवानहरूलाई उमेर बढ्दै जाँदा ब्लडपेसर, सुगर, थाइराइडका समस्या पनि देखिने गरेको छ ।  

उनी भन्छिन्, खानाको कारण भनौं भने भोजन पनि सन्तुलित छ, शारीरिक व्यायामको कमी हो भने हरेक दिन तालिम गर्नुपर्छ तर के कारण हो- इन्जुरीभन्दा अन्य समस्या पनि देखिन थालेको छ ।’

छुटको व्यवस्था

यो अस्पतालमा उपचार गर्न सशस्त्रको रेगुलर र्फोसलाई शुल्क लाग्दैन । उनीहरूको परिवारको लागि पनि टिकटको शुल्क पर्दैन । तर, सर्वसाधारणको लागि भने १ सय ५० रुपैयाँ टिकट लाग्छ । यो टिकटमा बिरामीले आफूलाई आवश्यक पर्ने विभिन्न चिकित्सकलाई भेट्न सक्ने व्यवस्था छ । सशस्त्र प्रहरीको अहिले ३७ हजार फोर्स छ ।

उनीहरूका लागि जस्तोसुकै उपचार यही अस्पतालमा नि:शुल्क गरिन्छ । यदि यो अस्पतालमा उपचार हुन सकेन भने अन्य सरकारी अस्पताल, त्यहाँ पनि भएन भने मेडिकल कलेज र त्यहाँ पनि सम्भव भएन भने निजी अस्पतालमा उपचारका लागि रिफर गरिन्छ । त्यहाँ पनि सम्भव भएन भने विदेशमा रिफर गर्ने प्रावधान छ । उनीहरूको परिवारका लागि भने कतिपयमा शुल्क लाग्ने र कतिपय नि:शुल्क गर्ने गरिएको छ ।

नेपाल सरकारले ‘सशस्त्रको परिवारको उपचारको हकमा सरकारको दायित्व होइन’ भनेको छ । यस कारण पनि केही शुल्क लिनुपर्ने बाध्यता रहेको उपप्रमुख कुँवरले बताइन् । तर पनि कल्याणकारी कोषको पैसाबाट आउने ब्याजले परिवारको उपचारमा पनि केही प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

नेपाल सरकारले नेपालका सरकारी र निजी दुवै अस्पताललाई १० प्रतिशत बेड अनिवार्य विपन्न परिवारका लागि छुट्याउन भनेको छ । सशस्त्रका प्रहरी प्रवक्ता न्यौपाने १० प्रतिशतमात्र नभइ त्योभन्दा धेरै नि:शुल्क सेवा अस्पतालले गरिरहेको बताउँछन् । 

स्थानीयलाई १० प्रतिशत सेवा 

एपीएफ अस्पताल भन्नेबित्तिकै सर्वसाधारण नागरिकले उपचार गर्न पाउँदैनन् भन्ने धारणा छ । तर,अहिले ओपीडीमा आउने ३५ प्रतिशत बिरामी सर्वसाधारण आउने गरेका छन् भने इमर्जेन्सीमा पनि ७० देखि ८० प्रतिशत सर्वसाधारण रहेको उपप्रमुख कुँवर बताउँछिन् । उसो त चन्द्रगिरी क्षेत्रको सबैभन्दा ठूलो अस्पताल नै एपीएफ अस्पताल हो ।  

एपीएफ अस्पताल सुरु हुने बेला नै अस्पताल वरिपरिका १० प्रतिशत स्थानीयलाई सेवा दिने भन्ने सहमति भएको थियो । उनीहरूका लागि १ सय ५० रुपैयाँ टिकको शुल्क तोकिएको छ । ल्याब, एमआरआईलगायतका अन्य सेवामा पनि सरकारी अस्पतालभन्दा सस्तोमा सर्वसाधारणलाई सेवा दिरहेको यो अस्पतालले दाबी गरेको छ ।

‘हाम्रो पहिलो प्राथिमिकता ३७ हजार फोर्स, उनीहरूको परिवार र भूपू हो,’ उनी भन्छिन्,‘ कहिलेकाहीं गाली खानुपर्ने अवस्था आउँछ, यहाँ बेड खाली हुँदैन, ३ सय बेड भएपनि खाली नहुँदा सर्वसाधारणले गुनासो गर्नुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.