२०८१ पुष २६ गते ९:३८ विकासन्युज
काठमाडौं । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ । आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले एक्स्पो आयोजना हुने संगठनले जनाएको छ ।
‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ थिममा एक्स्पो २०२५ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने, उद्यमी/व्यवसायीबीच व्यवसायिक सम्बन्ध विकास र नयाँ प्रविधि पहिचान स्थापित तथा नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ ।
संगठनले २०५३ मा पहिलो एक्स्पोको रूपमा कोशी महोत्सव आयोजना गरेको थियो । २०८१ मा विराट एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा यो एक्स्पो मुलुकमा आयोजना हुने अन्तरािष्ट्रय स्तरका औद्योगिक एक्स्पोमध्ये छुट्टै पहिचान र ब्राण्डका रूपमा स्थापित भएको संगठनको दाबी छ ।
आठौ संस्करणको विराट एक्स्पोले नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षामा विराटनगर इन्कुवेशन सेन्टरको स्थापना गर्दैछ । संगठनले विगत तीन वर्षदेखि सेन्टर सञ्चालन गरिरहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.