बीमा प्राधिकरणमा अध्यक्ष छनौट निरङ्कुश शैलीमा, धितोपत्र बोर्डमा जस्तो बखेडा नचल्ने

  २०८१ पुष २६ गते १०:०२     विकासन्युज

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट प्रक्रिया अगाडि बढाएको छ । बीमा क्षेत्रमा नियामक निकायको कार्यकारी प्रमुखसहितको भूमिका पाउने अध्यक्ष बन्न इच्छुक र योग्य व्यक्तिले ७ हजार ५०० रुपैयाँ दस्तुरसहित माग १० गतेभित्र आवेदन बुझाउन सक्ने गरी अर्थ मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।

तर सरकारले छनौट प्रक्रियामा निरङ्कुश शैली अपनाएको छ । ‘यो सूचना बमोजिम प्राप्त भएका आवेदनलाई सिफारिस समितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ,’ सूचनाको बुँदा ५ (आ)मा उल्लेख छ । यसमा सरकारको निरङ्कुशता, जवाफदेहीहिनता, अपारदर्शीता प्रष्ट अभिव्यक्ति भएको जानकारहरू बताउँछन् ।

यसअघि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियामा विवाद हुँदा प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो । केपी ओली नेतृत्वमा नयाँ सरकार बनेपछि पनि विवाद लम्बिँदा बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया करिब १० महिना लम्बिएको थियो ।

बोर्डको अध्यक्ष नियुक्त प्रक्रियामा निवेदकहरूले सरकारलाई अप्ठ्यारोमा पार्ने काम गरेकाले यस पटकको सूचना नयाँ सर्त राख्नु परेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । ‘निवेदन हाल्ने तर प्रक्रिया पूरा गर्न सरकारलाई असहयोग गर्ने काम भए । त्यसबाट हामीलाई पनि नयाँ सिकाइ भयो,’ ती अधिकारीले बने ।

कानुनबमोजिम योग्यता पुगेका व्यक्तिले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा निवेदन पेश गर्नुपर्नेछ । निवेदन साथ ४ प्रति व्यfवसायिक योजना खामबन्दी पेश गर्नुपर्नेछ ।

प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दाएर गरेपछि अध्यक्ष पद खाली भएको छ । पछिल्लो समय बीमा प्राधिकरण, धितोपत्र बोर्डका अध्यक्षको नियुक्तमा सत्ताधारी दलले ठूलो भष्ट्राचार गर्ने गरेको र यी संस्थाका अध्यक्षले व्यावसायिक ढंगले काम गर्न पनि नसकेको आवाज सबैतिरबाट उठिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.