आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सार लिँदैनौँ : स्वास्थ्यमन्त्री पौडेल

  २०८१ पुष २६ गते १३:०८     विकासन्युज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दैै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्नेे घोषणा गरे । उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीहरुको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए ।

आँखाको उपचार सम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने जानकारी दिए ।

‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गराैँ,’ उनले भने ।

मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको जानकारी दिए ।