यस्तो छ देशको पछिल्लो समयको आर्थिक अवस्था

  २०८१ पुष २६ गते १७:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को ५ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको बारेमा मासिक रिपोर्ट सार्वजनिक गरेको छ ।

देशको केन्द्रीय बैंकसमेत रहेको राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार देशका महँगी, सरकारको खर्च लगायतका सूचांकहरू निराशाजनक छ ।

त्यसैगरी, विदेशी विनिमय सञ्चिति ह्वात्तै बढेको छ । देशमा भित्रिनै रेमिट्यान्स पनि सकारात्मक दिशातिर गइरहेको देख्न सकिन्छ ।

हेरौं देशको वर्तमान अवस्थाको आर्थिक सूचकहरू

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ९.९९ प्रतिशत रहेको छ । यसैगरी, गैरखाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति ३.९२ प्रतिशत रहेको छ ।

आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६ खर्ब ४० अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ ।

शोधनान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड पुगेकोछ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति मंसिर मसान्तमा २० खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४० अर्ब कायम भएको छ ।

बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको आंकलन छ ।

नेपाल सरकारको खर्च ५ खर्ब ५६ अर्ब १२ करोड र राजस्व परिचालन ३ खर्ब ९९ अर्ब ६० करोड रहेको छ ।

विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेकोछ ।

वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।