जलवायु परिवर्तनले दिगो व्यापारमा असर, सबै मिलेर समाधान गर्नेपर्ने

  २०८१ पुष २८ गते ७:३३     विकासन्युज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा रहेकाले सबै मुलुकहरू मिलेर समाधान गर्नेतर्फ लाग्नुपर्ने धारणा राखेका छन् ।

शनिबार राजधानीमा विश्व व्यापार संगठन(डूव्लुटियो) र काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापारमा दिगोपना विषयक’ तेस्रो वार्षिक सम्मेलनको उद्घाटन गदै अर्थमन्त्री पौडैलले नेपाल जलवायु परिर्तनको उच्च जोखिममा रहेकाले यसको असर आर्थिक, सामाजिक एवम् पूर्वाधार विकासका क्षेत्रमा समेत स्पष्ट देखिएको बताए ।

कम जोखिमयुक्त व्यापार पूर्वाधार विकास गर्न र उत्पादन केन्द्रहरुको समेत विकेन्द्रीकरण गरी आपूर्ति श्रृंखलामा समेत विविधिकरण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

दक्षिण एसियाली मुलुकमा जलवायु परिवर्तनले सिर्जना गरेको चुनौती र आगामी दिनमा लिनुपर्ने रणनीतिका विषयमा नीति निर्माता, अनुसन्धानकर्ता र निजी क्षेत्रका प्रतिनिधिवीच छलफल गर्न यस सम्मेलनमार्फत ठुलो सहयोग पुग्ने अर्थमन्त्रीले जनाए ।

जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेकाले नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास प्राथमिकताका साथ राख्न आवश्यक रहेको उनको भनाइ छ ।

ठुलो लगानीमा निर्माण गरेका पूर्वाधारका संरचनाहरूमा बर्सेनि आउने प्राकृतिक विपत्ति बाढी,पहिरो, भूकम्पका कारण हुने नोक्सानीबाट आपूर्ति श्रृंखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखी जलवायुमैत्री विकास प्रक्रियामा क्रियाशीलता लिनुपर्ने उनले बताए ।

आर्थिक वृद्धिको इन्जिनको रुपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेकाले अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाका लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सन्दर्भमा यस सम्मेलनले उपयोगी हुने अर्थमन्त्रीको भनाइ छ ।

विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताउँदै अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनको प्रभावले भ ठूलो आर्थिक एवम् सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने धारणा राखे ।

सम्मेलनमा काठमाडाैं विश्वविद्यालयका रजिष्टार डा. अच्युत वाग्लेले निजीक्षेत्र मैत्री दिगो आर्थिक विकासको आवश्यक रहेकाले यसले भविष्यको दिगो विकासको लागि टेवा पुग्ने बताए ।

‍ सम्मेलनमा रिसर्च सेन्टर फर इन्टरनेशनल ट्रेड ल एण्ड आरविटेसन इष्टबुल विलगि युनिभरसिर्टीका निर्देशक डा .एन पिनर आर्टिरन जलवायु परिर्वतन र वातावरणीय दिगोपनतालाई ध्यानमा राखेर नेपालले व्यापारलाई अघि बढाउनुपर्ने बताए । कृषि, पर्यटन, व्यापार पूर्वाधारजस्ता विषयमा अध्ययन अनुसन्धान गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा सहभागी वक्ताहरूले जलवायु परिर्वतनले व्यापारको दिगोपनमा असर पारिरहेकोले न्यूनीकरण गर्न आवश्यक परेको बताए । आर्थिक विकासको इन्जिनको रुपमा रहेको व्यापार रहेकाले उत्पादन र उत्पादक्त्व बढाएर प्रवर्द्धन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

दुुई दिनसम्म चल्ने सम्मेलनमा भारत, चीन, ट्रकी, बंगलादेश,इन्डोनेसिया लगायतका नौ वटा देशका प्रतिनिधिको सहभागिता रहेको छ । शनिबारदेखि राजधानीको याक एण्ड यति होटलमा सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.