सेयर कर्जा १९ प्रतिशतले वृद्धि, बजार मूल्यमा प्रभाव शून्य

  २०८१ पुष २८ गते ११:३६     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा बढी सेयर कर्जा विस्तार भएको छ । साउनदेखि मंसिरसम्ममा मार्जिन प्रकृतिको कर्जा १९.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सेयर कर्जा प्रवाहमा उल्लेख्य वृद्धि भए पनि सेयर मूल्यमा भने प्रभाव देखिएको छैन । थोरै सेयर पुँजी भएका कम्पनीहरूको सेयर मूल्य अधिक भएपनि ठूलो पुँजी आधार भएको बैंक तथा कम्पनीहरूको सेयर मूल्य निकै कम रहेको छ ।

सेयरकर्जाको तुलनामा अन्य क्षेत्रमा जाने कर्जा विस्तार कम दरले विस्तार भएको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.० प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.६ प्रतिशतले बढेको छ । तर कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.७ प्रतिशतले घटेको छ । सरकार र राष्ट्र बैंकले कृषि कर्जामा जोड दिए पनि यस तर्फको कर्जा ऋणात्मक भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७ प्रतिशतले बढेको छ । व्याजदर घट्दा पनि कर्जाको माग नहुँदा सबैतिर चिन्ता फैलिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.९ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.६ प्रतिशतले, विकास बैंकहरुको २.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।

कुल कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १३.५ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६६.१ प्रतिशत रहेको छ । २०८० मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ११.६ प्रतिशत र ६७.७ प्रतिशत रहेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४७.३ प्रतिशतले, हायर पर्चेज कर्जा ३.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ११.१ प्रतिशतले घटेको छ ।

२०८१ मंसिरमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरूको ५.७५ प्रतिशत र वित्त कम्पनीहरुको ६.७० प्रतिशत रहेको छ ।

त्यसैगरी, २०८१ मंसिरमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरूको १०.२६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४८ प्रतिशत रहेको छ । २०८० मंसिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.८५ प्रतिशत, विकास बैंकहरुको १३.३९ प्रतिशत र वित्त कम्पनीहरूको १४.३० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा कुल आन्तरिक कर्जा १.६ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १७२ अर्ब ३२ करोड (२.७ प्रतिशत) ले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.९ प्रतिशतले बढेको छ ।

२०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३ प्रतिशत रहेको छ । २०८१ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.