नबिल बैंकले पायो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ : २०२२ प्रमाणपत्र

  २०८१ पुष २८ गते १८:०२     विकासन्युज

काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यताप्राप्त आईएसओ २७००१ : २०२२ प्रमाणपत्र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो ।

यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।

आज नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नबिल बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकनपछि यो मान्यता प्राप्त गरेको हो ।

साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको बताए ।

उनले भने, ‘हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौं । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छाैं ।’

आईएसओ २७००१ : २०२२ प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।

यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।

इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.