२०८१ पुष २८ गते १८:५४ विकासन्युज
काठमाडौं । एनसेलले आफ्ना सधैं अन प्याकहरू लिने ग्राहकलाई आकर्षक अनलिमिटेड नाइट डेटा प्याक दिन थालेको छ । यससँगै अब बिना कुनै अतिरिक्त शुल्क ग्राहकले रातको समयमा अनलिमिटेड मोबाइल इन्टरनेट पहुँचको फाइदा लिन सक्छन् ।
गत बिहीबार (पुष २५)बाट सुरु भएको यो योजनाअन्तर्गत सधैं अनका ३९९ रुपैयाँबाट सुरु हुने बेस्ट र ७९९ रुपैयाँबाट सुरु हुने अनलिमिटेड प्याक लिने ग्राहकले राति ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको फाइदा लिन सक्छन् ।
यसको मतबल प्याकमा पाइने बन्डल सेवा, सुविधाबाहेक अब ग्राहकले यो नाइट डेटा पनि पाउँछन् ।
सधैं अन लिने ग्राहकलाई थप लाभ प्रदान गर्नका लागि एनसेलले यो योजना लागु गरेको हो । ३९९, ४९९, ५९९ का बेस्ट प्याक र ७९९, ९९९ र १ हजार ४९९ का अनलिमिटेड प्याक लिने ग्राहकहरूले यो योजनाबाट फाइदा लिन सक्छन् ।
यो थप सुविधाबाहेक कम्पनीले यी प्याकहरू लिने ग्राहकलाई पहिला नै अनलिमिटेड यूट्युबमा पहुँच प्रदान गर्दै आएको छ ।
२८ दिन भ्यालिडिटी रहेको बेस्ट प्याकमा प्याकअनुसार बन्डल सेवामा ग्राहकले ८ जीबीदेखि २० जीबीसम्म डेटा, ३९९ मिनेटदेखि ५९९ मिनेटसम्म अल नेपाल टक टाइम प्रदान गर्दै आएको छ ।
त्यसैगरी सधैं अनको अनलिमिटेड प्याकका ग्राहकहरुले ३० जीबीदेखि १०० जीबीसम्म डेटा र अन लिमिटेड अल नेपाल टक टाइम पाउँदै आएका छन् ।
एनसेलले गत जेठमा फाइभजी भिजनमा आधारित हुँदै सधैं अन योजना सञ्चालनमा ल्याएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.