१५ बैंकको ब्याजदर स्थिर, २ वटाको बढ्दा ३ वटाले घटाए

  २०८१ पुष २९ गते १२:३६     विकासन्युज

काठमाडौं । माघ महिनाका लागि अघिकांश वाणिज्य बैंकहरूले ब्याजदर स्थिर राखेका छन् । हाल सञ्चालनमा रहेका २० मध्ये १५ वटा वाणिज्य बैंकले माघका लागि ब्याजदर स्थिर राखेका हुन् ।

यसैगरी, ३ वटा बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले ब्याजदर बढाएका छन् । नेपाल एसबीआई बैंकले ब्याजदर ०.५० प्रतिशत घटाएको छ । एसबीआईले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेप दुवैतर्फ ०.५० प्रतिशत ब्याजदर घटाएको हो ।

पौष महिनाका लागि एसबीआई बैंकले व्यक्तिगत निक्षेपका लागि ६ र संस्थागत निक्षेपका लागि ५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले माघ महिनामा व्यक्तिगततर्फ ५.५० र संस्थागत तर्फ ४.५० प्रतिशत ब्याजदर तोकेको छ ।

यसैगरी, नेपाल बैंकले माघ महिनाका लागि संस्थागत निक्षेपतर्फ ब्याजदर घटाएको छ भने व्यक्तिगत निक्षेपतर्फ स्थिर राखेको छ । बैंकले पौष महिनामा संस्थागत निक्षेपकर्तालाई ४.७० प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा संस्थागतलाई ४.१५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात संस्थागत निक्षेपतर्फ बैंकले ०.५५ प्रतिशत ब्याजदर घटाएको हो ।

बैंकले व्यक्तिगततर्फ पौष महिनाको ५.६० प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिएको छ । यसैगरी, कृषि विकास बैंकले व्यक्तिगत ब्याजदर घटाएको छ भने संस्थागत ब्याजदर स्थिर राखेको छ । पौष महिनामा बैंकले व्यक्तिगततर्फ ५.५७ प्रतिशत ब्याज दिएको थियो । माघ महिनामा व्यक्तिगततर्फका निक्षेपकर्तालाई ५.५१ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । अर्थात माघ महिनामा व्यक्तिगततर्फ बैंकले ०.०६ प्रतिशत ब्याज घटाएको हो ।

संस्थागततर्फ पौष महिनामा बैंकले लागू गरेको ३.२५ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

यता, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंकले ब्याजदर बढाएका छन् । लक्ष्मी सनराइजले व्यक्तिगत निक्षेपका लागि ब्याजदर बढाएको छ भने सिटिजन्सले संस्थागत निक्षेपका लागि ब्याजदर बढाएको छ ।

पौष महिनामा लक्षी सनराईजले व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनामा उक्त ब्याजदर बढाएर ५.७५ प्रतिशत पुर्‍याएको छ । अर्थात माघ महिनामा बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत ब्याजदर बढाएको हो । संस्थागततर्फ भने बैंकले पौष महिनाकै ब्याजदर ४.५० प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

सिटिजन्स बैंकले पौष महिनामा संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो । माघ महिनाका लागि बैंकले संस्थागततर्फ ४.५० प्रतिशत पुर्‍याएको छ । अर्थात ०.५० प्रतिशत ब्याजदर बढाएको छ ।

यसैगरी, व्यक्तिगततर्फ बैंकले पौष महिनामा कायम ५.५६ प्रतिशतलाई नै निरन्तरता दिएको हो ।

ब्याजदर स्थिर राख्ने बैंकहरू

१५ वटा बैंकले संस्थागत र व्यक्तिगत दुवै तर्फको ब्याजदर स्थिर राखेका छन् । ग्लोबल आईएमई र नबिल बैंकले पौष महिनामा कायम व्यक्तिगततर्फ ५.५७ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएका छन् । यसैगरी, कुमारी बैंकले व्यक्तिगत तर्फ ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको छ ।

माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरलाई नै निरन्तरता दिइँदा सिद्धार्थ र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएका छन् ।

यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५० प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६.०५ र संस्थागततर्फ ४.३० प्रतिशत, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१० र संस्थागततर्फ ५.१०, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ४ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ र हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदरलाई नै माघ महिनाका लागि पनि निरन्तरता दिएको छ ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदरलाई माघ महिनामा निरन्तरता दिँदा एनएमबी र एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ६.६० र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरलाई नै माघ महिनामा पनि निरन्तरता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.