एनआईसी एशिया बैंकले सुरु गर्‍यो लिलाम बिक्रीको लागि अनलाइन पोर्टल

  २०८१ पुष २९ गते १७:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्रीको जानकारी प्राप्त गर्नका लागि एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकको यस पहलले लिलाम बिक्री प्रक्रियामा पारदर्शिता र सजिलो पहुँच सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

बैंकका अनुसार ग्राहकहरूले पोर्टल मार्फत लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरूको विस्तृत विवरण, फोटो, नक्सा, र स्थान (गुगल म्याप) सहितका जानकारीहरू प्राप्त गर्न सक्नेछन् । लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको बारेमा थप जानकारी चाहिने ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समा सम्पर्क विवरण राखेर सोधपुछ गर्न सक्नेछन् ।

यस पोर्टलमार्फत नियमित रूपमा लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूका बारेमा जानकारी अपडेट गरिनेछ। यसका साथै, ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको क्युआर कोड स्क्यान गरेर पोर्टलमा पहुँच प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।

एनआईसी एशिया बैंकले यस अनलाइन पोर्टललाई सुरु गरेर लिलाम बिक्री प्रक्रिया थप सुलभ र पारदर्शी बनाउने आशा गरेको छ ।