२०८१ माघ १ गते १८:०० विकासन्युज
पोखरा । माघको महिना । मकर सङ्क्रान्तिको बिहान । चिसो वातावरण । पोखराका साहित्यकारहरू, कलाकारहरू, विभिन्न संस्थाका नेतृत्वकर्ताहरू एवम् शुभेच्छुक व्यक्तित्वहरू पोखराको चिप्लेढुङ्गामा रहेको दि भिलेज रेष्टुरेन्टको परिसरमा न्यानो घाम ताप्दै गफमा मस्त थिए ।
चिसो बिहानमा बिस्तारै मानिसहरूको उपस्थिति बाक्लिँदै गयो र माहोल न्यानो हुँदै गयो । वरिष्ठ कलाकार प्रकाश घिमिरे, सरस्वती श्रेष्ठ ‘सरू’, डा. ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, रीता अधिकारी ‘ऋतु’, रुपिन्द्र प्रभावी, अदिति शर्मा, सविना सुनाम लगायतका व्यक्तित्वहरू बडो रसिक पारामा माहोलमा सरिक भइरहेका देखिन्थे ।
वसन्त विनोद, सुरज उपाध्याय, मोहन भण्डारी, विष्णु सुवेदी, उमा दोरङ्गालगायतका पुछारसिटे अभियानका अभियन्ताहरू कार्यक्रमको व्यवस्थापनमा खटिरहेका थिए । केहीबेरमा मदरल्यान्ड माविका प्राचार्य नारायण बराल उपस्थित भए।
सँगसँगै विद्यालय र कलेज उमेरका विद्यार्थीहरू पनि कार्यक्रम परिसरमा बाक्लिँदै गए । प्रकाश ज्ञवाली, भुवन क्षेत्री, उपेन्द्र पौडेलका मिठा गफले माघे घाममा थप न्यानो थपिरहेको थियो । कार्यक्रममा उपस्थित प्रायः सबैसँग मुस्कुराउँदै स्वागत गर्दै देखिन्थिन् कवयित्री केशु शर्मा ।
घिउ, चाकु, तरुल, सखरखण्ड, खुदो, तिलको लड्डु, चिउरा आदि खानेकुराको व्यवस्थापनमा दि भिलेजका कर्मचारीहरू सक्रिय थिए । केही व्यक्तिहरू कार्यक्रम परिसरमा र केही भित्र कार्यक्रम हलमा छरिएर रहेका थिए । एकैछिनमा अभियानका एक अभियन्ताले उपस्थितहरूलाई खाजा खानका निम्ति आग्रह गरे ।
उपस्थित सबै माघेसङ्क्रान्तिका परिकार ग्रहण गर्नतिर लागे । चियापान सकिएपछि अभियानका संयोजक सञ्जीव पौडेलले कार्यक्रमको हलतिर जान सबैलाई आग्रह गरे ।
सन्दर्भ थियो पुछारसिटे अभियान, पोखराले आयोजना गरेको एकल कविता वाचनको । कार्यक्रमको नाम राखिएको थियो – ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा केशु शर्मा । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको दशौं शृङ्खलामा कविता वाचकका रूपमा उभिएकी थिइन् कवि केशु शर्मा।
एकैछिनमा मञ्चमा माइक समाएर उभिए पुछारसिटे अभियानका अभियन्ता अमृत क्षेत्री । पुछारसिटे अभियानका बारेमा केही जानकारी गराएर उनले कार्यक्रमको थालनी गरे । थालनीसँगै उनले स्वागत मन्तव्यका लागि बोलाए अभियानका संयोजक सञ्जीव पौडेललाई । उपस्थितलाई स्वागत गरिसकेपछि कवि शर्माको छोटो परिचय राखेर पुछारसिटमा बसिरहेकी केशु शर्मालाई कविता वाचनका लागि उनले अगाडि आमन्त्रण गरे । पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आइन् केशु र थालिन् थप कविता सुनाउन :
च्याउ उम्रे झैं
उम्रिरहन्छन् राजनेताहरू
अरबौं खरबौं बगिरहन्छन्
हर्के, साहिँला र माहिलाका सपनाहरू
दुखिरहन्छन् कमली, बाटुली र चमेलीका जिन्दगीहरू
साँच्चै मृत्युअगि
मान्द्राभरि आश्वासनका बिस्कुन नसुकाउनेहरूले
कसैको मनमुटु नदुखाउनेहरूले
यो देश हाँकेको हेर्ने रहर छ ।
यो कविताबाट आफ्नो एकल कविता वाचन सुरु गरेकी उनले बीचबीचमा आफ्नो जीवनयात्राका अनेक मोड र घुम्तीहरू सम्झिन् । सम्झँदासम्झँदै उनले घर सम्झिन्, परिवार सम्झिन्, साथीभाइ सम्झिन् र सम्झिन् विद्यार्थीहरू ।
२०५० को दशकको पूर्वाद्र्धमा पोखरामा हुने हरेकजसो साहित्यिक कार्यक्रममा भाग लिँदै आफ्नो लेखनलाई अगाडि बढाएकी उनी विवाहपश्चात् भने कार्यक्रममा उपस्थित हुन भ्याइनन् । पातलो साहित्यिक उपस्थितिका बिचमा उनी आफ्नो घरायसी जिम्मेवारी र पेशागत जीवनलाई अगाडि बढाउँदै लगिन् ।
यी सबैका बीच पनि लेखनमा भने निरन्तरता दिइनैरहिन् । यसै क्रममा पोखराको मदरल्यान्ड माविमा विसं २०५४ सालदेखि शिक्षिकाका रूपमा आबद्ध भइन् । यही आबद्धताले उनलाई पोखराको सुन्दर शैक्षिक गन्तव्य बनेको मदरल्यान्ड माविमा प्राथमिक तह इन्चार्जसम्म बनायो । उनी हाल उक्त विद्यालयमा प्राथमिक तहको कुशल व्यवस्थापक बनेकी छिन् ।
वि.सं. २०७० को उत्तरार्धसम्म साहित्यिक माहोलमा पातलो उपस्थिति देखाएकी केशु शर्मा त्यसपछि भने आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेकी छिन् । पछिल्लो समय उनी विविध साहित्यिक कार्यक्रममा उपस्थित हुँदै आएकी छिन् । गीत, कविता, गजल लगायतका विविध साहित्यिक सिर्जनामा कलम चलाउँदै आएकी उनी हालै पोखराको वाङ्मयिक संस्था पोखरेली युवा सांस्कृतिक परिवारकी साहित्य संयोजक चयन भएकी छिन् ।
उनका कवितामा सरल शब्दमा गहन भाव प्रकट हुन्छन् । साथै उनका कवितामा सहरभित्रको ग्रामीण जनजीवनको यथार्थ चित्रण, देशको राजनीतिक एवम् सामाजिक विकृति विसङ्गतिमाथिको विद्रोह, प्रकृतिप्रेम, मानवतावाद, देशप्रेमको भाव ओतप्रोत भएर आएको पाइन्छ । नेपाली नारीका दुःख एवम् सङ्घर्षका अनुभूतिहरू उनका कविता एवम् गीतका मुख्य विशेषता बनेर आएका छन् ।
यस्तै यस्तै गीत र कविता वाचन गर्दैगर्दा उनले शुभकामना मन्तव्यका लागि प्रसिद्ध कलाकार प्रकाश घिमिरेलाई आग्रह गरिन् । घिमिरेले केशुको लेखनका विविध आयामका साथै पुछारसिटे अभियानका विशिष्ट प्रकारका कार्यक्रम गर्ने विशेषताको प्रशंसा गर्दै कविको साहित्यिक उन्नयनको शुभकामना प्रकट गरे ।
त्यसलगत्तै आफ्ना दुई कविता वाचन गरेर उनले एकल वाचनको मैदारो गरिन् । पुनः मञ्चमा देखिए अमृत क्षेत्री । कार्यक्रमका सहयोगी हातहरूलाई मायाको चिनो प्रदान गर्नका लागि उनले संस्थाका सल्लाहकार लक्ष्मण थापालाई मञ्चमा निम्त्याए । त्यसपछि कुसुमकृष्ण आयुर्वेद फर्माका सञ्चालक कृष्णबहादुर राउत र मदरल्यान्ड मा.वि.का प्राचार्य नारायण बराललाई क्रमैसँग मायाको चिनो ग्रहण गर्न निम्ता दिए । अनि पालो आयो कविलाई मायाको चिनो प्रदान गर्ने । सल्लाहकार थापाले मायाको चिनो र संस्थाका संयोजक सञ्जीव पौडेलले कविलाई नगद उपहार हस्तान्तरण गरेलगत्तै कार्यक्रम समापन भएको घोषणा गरे उद्घोषण गरिरहेका अभियन्ता अमृतले ।
पुछारसिटे अभियानले पोखरामा वि.सं. २०७४ सालमा स्थापना भएदेखि नै विविध साहित्यिक, सामाजिक एवम् पर्यटकीय गतिविधि गर्दै आइरहेको छ । आगामी समयमा शिक्षा, स्वास्थ्यलाई पनि केन्द्रमा राखेर संस्थाले विविध क्षेत्रमा प्रतिभा भएका सहरदेखि गाउँसम्मका व्यक्तिलाई मूलधारको मञ्चमा जोड्ने योजना रहेको संस्थाका अभियन्ता वसन्त विनोदले जानकारी दिए ।
यसभन्दा अगाडि प्रकट पँगेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’, डा. वसन्त गौतम, डा.ईश्वरमणि अधिकारीलाई संस्थाले एकल वाचकका रूपमा मञ्चमा उभ्याइसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.