२०८१ माघ १ गते १८:३३ विकासन्युज
काठमाडौं । ग्लोकल आफ्टर स्कुल प्रालिको आयोजनामा ग्लोकल स्किल वीक २०२५ सफलतापूर्वक सम्पन्न भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमीहरू, सरकारी कूटनीतिज्ञहरू र १०० भन्दा बढीको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रम हिजो द सोल्टी होटेलमा सम्पन्न भएको हाे ।
एक हप्तासम्म सन्चालन गरिएको उक्त ग्लोकल स्किल वीकमा सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस स्टडीहरू एवम विभिन्न मनोरन्जनात्मक गतिविधिमार्फत सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिएको थियो ।
कलकारखाना, शैक्षिक संस्था एवम विभिन्न निकायसँगको साझेदारीको लक्ष्य लिई सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको बढदो महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्यका साथ पौष २२ देखि पौष २९ सम्म स्किल वीक कार्यक्रम सञ्चालन भएको थियो ।
यस कार्यक्रममा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, एवम विज्ञान तथा प्रविधि गरी ४ फरक क्षेत्रका सीपहरू प्रदर्शन गरिएको थियो । कार्यक्रममा यिनै ४ विधाका ४ प्रेरक व्यक्तित्वहरूलाई ग्लोकल स्किल हीरो अवार्ड २०२५ बाट सम्मानित गरिएको थियो ।
कलाको पहिलो स्तम्भअन्तर्गत गायक तथा गीतकार सुशान्त केसीलाई सम्मान गरिएको थियो । उनी २०२४ मा स्पटिफाइमा सर्वाधिक सुनिने नेपाली गायक हुन् ।
त्यसैगरी, उद्यमशीलता विधामा स्किल हिरोको रूपमा सामाजिक उद्यमी र खाली सिसी म्यानेजमेन्ट प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत आयुषी केसीलाई सम्मान गरियो ।
‘खाली सिसी फ्रेन्ड्स’ अन्तर्गत खालि सिसीले १३ हजारभन्दा बढी फोहोर बेच्ने व्यक्तिहरूको सञ्जाल बनाएको छ जसले नेपालमा फोहोरलाई कुशलतापूर्वक एवम सहज रुपमा व्यवस्थापन गर्दै आएको छ ।
आयुषी २०१८ मा फोर्ब्सको ३० अन्डर एसियाको सामाजिक उद्यमी वर्गमा पर्न सफल भएकी थिइन् ।
यसका साथै पर्यटन तथा हस्पिटालिटी विधाका लागि सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट कलेजका संस्थापक तथा प्रिन्सिपल समीर थापालाई सम्मानित गरियो । नेपालमा विश्वस्तरीय आतिथ्य सेवा र शिक्षा ल्याउन उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
आतिथ्य क्षेत्रको बृहत अनुभवको साथ उनले यस क्षेत्रमा योग्य कामदारहरुको गम्भीर कमीलाई सम्बोधन गर्न २००१ मा सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना गरेका थिए ।
साथै विज्ञान तथा प्रविधि विधामा सानुकाजी श्रेष्ठ सम्मानित भए । वनले सानैदेखि गर्मी मौसमसँग लड्न बाँसबाट बन्ने लचिलो फ्यान लगायत व्यावहारिक आविष्कारहरू सिर्जना गरेका थिए ।
१८ वर्षको उमेरदेखि लजिस्टिकमा काम गर्न थालेका सानुकाजीले सरकारी कार्यालयहरू, कूटनीतिक नियोगहरू, निगमहरू र यु.एन.डि.पि मा विविध अनुभवहरू हासिल गरेका छन् ।
इम्बार्क कलेजले सञ्चालन गरेको उक्त ग्लोकल स्किल वीकमा सीएनआई र नेपाल चेम्बर अफ कमर्सले इन्डोर्स गरेको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले प्रोमोट गरेको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, र अस्ट्रेलियन दूतावास रणनीतिक साझेदारको रुपमा सहभागी थिए ।
त्यस्तै, होन्डा, कोका–कोला, डब्लुडब्लुएफ र सिजि मोटर्स पार्टनरको रुपमा सहभागी थिए । कार्यक्रमका प्राविधिक साझेदारको रुपमा यूएनडीपी र यूके स्किल्स पार्टनरशिप थिए । होटल पार्टनर द सोल्टी काठमाडौं रहेको थियो भने इन्टरनेट पार्टनर वल्र्डलिंक रहेको थियो । यति एयरलाइन्स, एयरलाइन्स पार्टनर थियो र नो नेक्स्ट क्वेस्चन आउटरीच पार्टनर रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.