‘किसान अब उत्पादन क्षेत्रमा जोडिनुपर्छ भनेर राज्य लागिरहेछ, त्यसमा जोडिएपछि नागरिकलाई पनि भन्न सजिलो हुन्छ भनेर यो खेती सुरु गरेँ’, उनले भने, ‘मैले पनि कृषि गरेर उत्पादन गरिरहेको छु, तपाईँ पनि गर्नुस् भनेर किसानलाई भन्न सजिलो हुन्छ ।’ उत्पादनसँग जोडिएर उत्पादन भयो भने त्यसको बिक्री तीव्र भएर आर्थिक उन्नति हुन्छ भन्ने हिसाबले लाग्नुपर्ने उनले बताए । राज्यले कृषिमा अनुदान दिइरहेको भए पनि आफूले अहिलेसम्म कुनै अनुदान नलिएको उनले बताए ।
‘मैले अनुदान लिएर कृषि सुरु गरेँ भने जनप्रतिनिधि भएर आफैँले अनुदान लियो भनेर भन्छन् । त्यो भन्दा बरु मैले अनुदान नलिई काम गर्छु’, उनले भने, ‘अन्य किसानले भने पालिकाबाट अनुदानका लागि निवेदन माग गरेको बेला सहभागी भएर अनुदान लिएर कृषि गर्नुभयो भने दिगो हुन्छ ।’ दिनभरि वडावासीको काममा समर्पित भए पनि फुर्सदको समय च्याउखेतीमा दिने भन्दै उनले यस खेतीमा आफ्नो परिवारबाट साथ मिलेको बताए । व्यावसायिक रूपमा च्याउखेती गरेपछि तीनपटकसम्म च्याउ टिप्न सकिने भन्दै उनले त्यसबाट राम्रै नाफा हुने बताए ।
सबै जनाले एकैप्रकारको खेती गर्न सुरु गर्दा उत्पादन बढी र माग थोरै हुने भन्दै निर्यात गर्नेगरी उत्पादन गर्न राज्यले सहयोग गर्नुपर्ने उनले बताए । ‘जबसम्म हामीले निर्यात गर्न सक्दैनौँ, हाम्रो उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थाको हुँदैन, किसानलाई बजारीकरणको समस्या परिरहन्छ’, उनले भने, ‘हामी विश्व व्यापार सङ्गठनको सदस्य भएपछि विश्वका जुनसुकै ठाउँको सामान यहाँ आउँछ । उपभोक्ताले सस्तो सामान खरिद गर्न पाउँछन् ।’ राज्यले कृषिमा अनुदान बढाएर किसानको उत्पादन लागत घटाउन मद्दत गरेमा अन्य मुलुकको उत्पादनसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ ।
च्याउमा कुनै पनि विषादी प्रयोग गर्न नपर्ने भन्दै उनले भने, ‘जसको कारण उत्पादक र उपभोक्ता दुवैको स्वास्थ्यलाई फाइदा पुग्छ ।’ सिजनअनुसार पातेच्याउ रु एक सय ३० देखि दुई सयसम्म तथा डल्लेच्याउ रु तीन सय ५० देखि ६ सयसम्म प्रतिकिलो बिक्री हुने गरेको उनको भनाइ छ । प्रविधि भित्र्याउँदै च्याउखेतीलाई विस्तार गर्दै अगाडि बढ्ने योजना रहेको उनले जानकारी दिए । रासस