२०८१ माघ ३ गते १६:२५ इन्द्रसरा खड्का
काठमाडौं । चन्द्रागिरिकी दीपा ढुंगाना उपचारका लागि सिनामङ्गलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) पुगिन् । आफू सामाजिक सुरक्षा काेषको योगदानकर्ता रहेको र सो अस्पतालले पनि योगदानकर्तालाई सेवा दिँदै आएको सुनेपछि उनी उपचारका लागि सोही अस्पताल पुगिन् ।
दीपाले अस्पतालको टिकट काउन्टरबाट २०० रुपैयाँको टिकट लिइन् । आफू सामाजिक सुरक्षा कोषमा आवद्ध भएको बताएपछि अस्पतालले २०० को ८० प्रतिशत छुट गरेर ४० रुपैयाँको टिकट हातमा थमायो । सामाजिक सुरक्षा कोषमा आवद्ध योगदानकर्तालाई सामान्य उपचार खर्च बापत् कुल खर्चको ८० प्रतिशत छुट दिने प्रावधानअनुसार उनले २०० मूल्यको टिकटमा ८० प्रतिशत छुट पाएर ४० रुपैयाँ नगद अस्पताललाई बुझाइन् ।
उनीसँगै लाइनमा लागेका अर्का बिरामीले भने ७५ रुपैयाँको टिकट काटे । ती व्यक्ति न सामाजिक सुरक्षा कोषमा आवद्ध थिए न त स्वास्थ्य बीमामा नै । तर, कोषले आफूलाई २०० को टिकट अर्का बिरामीलाई ७५ रुपैयाँको टिकट काटेको देखेपछि उनले अस्पतालका कर्मचारीलाई सोधिन्- टिकट शुल्कमा किन भिन्नता ? उनले अस्पतालको टिकट काउन्टरमा बसेको कर्मचारीबाट जवाफ पाइन्, ‘यो सामाजिक सुरक्षा कोषले पठाएको शुल्क हो ।
उनले सुनाइन्, ‘कार्ड देखाउँदा छुट हुन्छ भन्ने सुनेकी थिएँ तर अन्यको भन्दा बढी तिर्नुपर्यो, ओपिडी शुल्क र अन्य सेवामा पनि शुल्कमा धेरै भिन्नता देखियो ।’
देशकै कहलिएको वीर अस्पतालले पनि सामाजिक सुरक्षा कोषको सेवा दिन्छ । त्यहाँ पनि टिकट शुल्कमा सोही अवस्था देखियो । काठमाडौंको अनामनगरका दिनेश काफ्ले गत साता वीर अस्पतालमा पुगे । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल पुगेका उनलाई पनि यही शुल्कको विषयमा कौतुहलता जाग्यो । साधारण व्यक्तिले ४० रुपैयाँमा लिइरहेको टिकट उनले भने दुई सय रुपैयाँकै काट्नुपर्यो ।
दिनेशले सामाजिक सुरक्षाको कार्ड देखाएपछि दुई सयको टिकट काटेको बताए । वीर अस्पतालमा हरेक रोगको उपचारका लागि जानुपर्ने विभागको टिकट शुल्क फरक-फरक छ । अस्पतालले रोगअनुसार ६५, ७० र ७५ रुपैयाँ टिकट शुल्क तोकेको छ । तर, त्यहाँ पनि सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
‘सर्वसाधारणलाई ४० रुपैयाँमा टिकट पाइन्छ । तर, सामाजिक सुरक्षा कोषमा आवद्धलाई ८० प्रतिशत छुट गर्दा पनि ४० रुपयाँमा पाइन्छ,’ उनले गुनासो गर्दै भने, ‘अन्य बिरामीको टिकट नवीकरण गर्दा ५ रुपैयाँ लाग्छ तर सामाजिक सुरक्षा कोषको योगदानकर्ताले नवीकरण गर्दा २०० कै टिकट काट्नुपर्ने बाध्यता छ ।’
उनले एउटै अस्पतालमा पनि सामाजिक सुरक्षाका योगदानकर्ताले प्रत्येक दिन टिकट लिनुपर्ने बाध्यता रहेको सुनाए । सासु कोष तथा अन्य बीमा आवद्ध नभएका बिरामीले अस्पतालमा डाक्टरलाई जाँच गराउन तथा औषधी खरिद गर्न नयाँ टिकट काट्नुपर्ने बाध्यता नभए पनि सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई भने २०० रुपैयाँको टिकट काट्नै पर्ने वातावरण सिर्जना गरेको उनको गुनासो छ ।
सामाजिक सुरक्षा कोषका योगदानकर्ता तथा स्वास्थ्य बीमाका बीमित भन्नेबित्तिकै अस्पतालले मूल्य पनि बढी राख्ने गरेको उनीहरुको गुनासो छ । काठमाडौंका नीतेश निरौला केही महिनाअघि टिचिङ अस्पताल पुगे । पहिलो दिन अस्पतालमा राख्दा उनको बेड शुल्क थियो- दैनिक तीन सय रुपैयाँ । धेरै दिन राख्नुपर्ने भएपछि उनी आफू स्वास्थ्य बीमामा आवद्ध भएको सुनाए ।
उनले स्वास्थ्य बीमाको कार्ड देखाएपछि अस्पतालले उनलाई एक दिनको बेर्ड चार्ज दुई हजार रुपैयाँ लगायो । ‘सुरुको दिन मैले बीमाको कार्ड नदेखाउँदा प्रति दिनको बेर्ड चार्ज ३०० रुपैयाँ भनियो, पछि बीमाको कार्ड देखाएपछि २ हजार रुपैयाँ बेडचार्ज लगियो,’ उनले गुनासो गर्दै भने, ‘१४ दिन अस्पतालमा बस्दा बेड चार्ज नै २८ हजार आयो,’ बीमामा छुट पाइन्छ भन्थे झन् महँगीमा परिने रहेछ।’
अस्पताल भन्छन् : यो शुल्क उनीहरूकै हो
सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आवद्ध भएका अस्पतालहरूले भने यो सेवामा आवद्ध सेवाग्राहीहरूको शुल्क निर्धारण सम्बन्धित निकायले नै गर्ने गरेको बताएका छन् ।
‘हाम्रो सम्झौता प्रदायक कम्पनीसँग हुँन्छ, त्यही सम्झौताअनुसार पठाएको शुल्कमा अस्पतालले सेवा दिने हो,’ वीर अस्पताल प्रशासनका एक अधिकारीले भने । उनका अनुसार सामाजिक सुरक्षा कोषले उपचारपश्चात् पैसा उपलब्ध गराएपनि स्वास्थ्य बीमाले गत आर्थिक वर्षको समेत अहिलेसम्म रकम भुक्तान गरेको छैन ।
वीर अस्पतालले अब बीमासँग सम्झौता गरेर काम गर्न गाह्रो भएको सुनायो । ‘हामीले कर्मचारीलाई पैसा दिनुपर्छ, औषधी खरिद गर्नुपर्छ,’ उनले भने, ‘बिरामी आउँछन् उपचार गराउँछन् अनि हामीले पैसा पाउँदैनौं भने कसरी हामी सहकार्य गरेर अघि बढ्न सक्छौं ? यस्तै हो भने ती निकायसँग सहकार्य नहुन सक्छ ।’
शिक्षण अस्पताल टिचिङको जवाफ पनि यस्तै छ । अस्पतालका प्रमुख प्रा.डा. घनश्याम गुरुङ स्वास्थ्य बीमा र सामाजिक सुरक्षा कोषले बिरामीको उपचार शुल्क कम्पनीले निर्धारण गरी पठाउने भएकाले यसमा अस्पतालको कुनै हात नरहेको बताए ।
उनले भने, ‘सर्वसाधारण, योगदानकर्ता र बीमितको टिकट शुल्क फरक-फरक भएको स्वाभाविक हो । तर, योगदानकर्ता र बीमाको शुल्क उत्रबाट निर्धारण भएर आउने हो, यसमा हाम्रो हात हुँदैन,’ उनले भने ।
डा. गुरुङले स्वास्थ सेवामा नागरिकलाई छुट दिने भन्दै सञ्चालनमा आएका कम्पनीसँग काम गर्न समस्या भएको सुनाए । उनले ती निकायकै कारण आफूहरुलाई काम गर्न असहज भएको सुनाए ।
डा. गुरुङले बीमाले जे भन्यो त्यहीअनुसार चल्नु पर्ने अवस्था आएको भन्दै अब यस्तो सहकार्य दीगो नहुने बताए । ‘हामीले अस्पताल पनि बचाउनु पर्यो, बिरामीलाई पनि बचाउनुपर्यो । तर, बीमाले हामीलाई समयमा पैसा दिँदैन,’ उनी भन्छन्, ‘८/९ महिनासम्म पनि भुक्तानी नदिँदा हामीलाई काम गर्न समेत गाह्रो भइसकेको अवस्था छ ।’
व्यवहार पनि उस्तै
सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमामा आवद्धलाई महँगो शुल्कमात्रै होइन व्यवहार पनि उस्तै गरिने बिरामीहरुको गुनासो छ । युनिभर्सल हेल्थ कभरेजले प्रत्येक व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने, स्वास्थ्यका कारण कुनै पनि व्यक्ति वा परिवार आर्थिक, सामाजिक र भौतिक रूपमा समस्या नहोस् भन्ने उद्देश्यले यी र यस्तै कोषहरू सञ्चालित छन् । तर, यसमा आवद्ध योगदानकर्ता तथा बीमितहरूले अपेक्षाकृत सेवा सुविधा नपाएको गुनासो गर्दै आएका छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध जुनसुकै अस्पतालमा जाँदा पनि त्यहाँका कर्मचारीले कोषको साइट नचलेको भन्दै सेवामा बिलम्ब गर्ने गरेको गुनासो गरेका छन् । अन्यको तुलनामा महँगोसँगै नगद दिने बिरामीलाई उपचार तथा अन्य सेवामा अगाडि पालो दिने र कोषमा आवद्धलाई विभिन्न कारण देखाएर बिलम्ब गर्ने गरेको गुनासो उनीहरुले गरेका छन् ।
‘म एक साता वीर अस्पतालमा गएर उपचार गरेँ, आफू सामाजिक सुरक्षा कोषमा आवद्ध भएको महसुस अस्पतालका बिरामीबाट भयो,’ अस्पतालको सेवा सुविधाको विषयमा जानकारी गराउँदै दिनेशले भने, ‘कहिले सिस्टममा समस्या भन्छ, कहिले स्क्यानिङ भएन भन्छ । तर, आफूसँगै लाइनमा लागेका अन्य बिरामीको काम भइरहेको हुन्छ ।’
काठमाडौं मेडिकल अस्पतालमा भेटिएकी दीपाले सामाजिक सुरक्षा कोषको कार्ड देखाउने बित्तिकै अस्पतालमा सित्तैमा उपचार गर्न आएजस्तो व्यवहार कर्मचारीले गर्ने गरेको सुनाइन् ।
कतिपय महँगा अस्पतालमा चिकित्सकले सामाजिक सुरक्षा कोषको बिरामीलाई नहेर्न अभ्यास पनि रहेको योगदानकर्ताहरूको गुनासो छ ।
‘हामीलाई पनि गुनासो आएको छ’
सामाजिक सुरक्षा कोष समक्ष पनि अस्पतालको शुल्कको विषयमा गुनासो पुगेको छ । कोषका सूचना अधिकारी उत्तमराज नेपालले शुल्कको विषयमा सेवाग्राही गुनासो व्यापक आएको जानकारी दिए ।
उनका अनुसार हालको कार्यविधिअनुसार नै टिकट शुल्क २०० रुपैयाँ तोकिएको हो । ‘हामीसँग पनि शुल्कमा भिन्नता भयो भनेर गुनासो आएको छ, अब हामी यो विषयको सुनुवाइ गर्छौं, अब योगदानकर्ताले २ सय रुपैयाँ तिर्नु पर्दैन, सर्वसाधारणले तिरिरहेकै मूल्यमा ८० प्रतिशत छुट दिने गरी काम गर्दैछौं,’ उनले भने ।
उनले कार्यविधि संशोधन गरेर भएपनि यो समस्याको सम्बोधन हुने धारणा राखे । उनले यस विषयमा आन्तरिक छलफल भइरहेको सुनाए ।
सेवाग्राहीले फरक व्यवहार भोग्नुपरिरहेको गुनासो पनि आउने गरेको छ, यस्तो व्यवहार कसैले कसैलाई गर्न पाइँदैन, यदि कसैले फरक व्यवहार गरेर उपचार दिन चाहेको छैन भने प्रमाणसहित हामीकहाँ आउन सक्नुहुन्छ,’ उनले भने, ‘हामी योगदानको सुविधामा कुनै कम्प्रमाइज गर्दैनौं ।’
उनका अनुसार कोषले २ सय रुपैयाँ तोकेबमोजिक दुई सय रपैयाँ टिकटको २० प्रतिशत अर्थात् ४० रुपैयाँ योगदानकर्ता र ८० प्रतिशत अर्थात् १६० रुपैयाँ कोषले अस्पताललाई तिर्ने गरेको बताए । जबकि अस्पतालमा भने बीमामा आवद्ध नभएका सर्वसाधारणको टिकट शुल्क ४० रुपैयाँमात्रै छ ।
सामाजिक सुरक्षा कोषले श्रमिकको आधारभूत पारिश्रमिकको एक प्रतिशत रकम जम्मा हुने औषधी उपचार स्वास्थ्य योजनाअन्तर्गत योगदानकर्ता वा योगदानकर्ताको दम्पत्ति बिरामी भई स्वास्थ्य उपचार सुविधा लिनुपर्ने भएमा भर्ना भएर गरिने उपचारमा वार्षिक एक लाख रुपैयाँसम्म र भर्ना नभई गरिने उपचारमा २५ हजार रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ । तर, यही उपचार पाउन अहिले योगदानकर्ताले ठूलो सकस बेहोर्नु परेको गुनासो आएको छ ।
सम्बन्धित सामग्री :
Copyright © 2025 Bikash Media Pvt. Ltd.