२०८१ माघ २ गते १८:१३ विकासन्युज
काठमाडौं । विश्व अटोमोबाइल बजारमा हलचल मच्चाएको चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) कम्पनी बीवाईडीले आफ्नो ‘याङवाङ यू नाइन’ सुपरकारको नयाँ भिडियो सार्वजनिक गरेको छ ।
उक्त भिडियोमा चालकविहीन गाडीले पानीले भरिएको खाल्डो र सडकमा रहेका काँटीजस्ता अवरोध १२० किमी/घण्टाको गतिमा पार गरेको छ ।
याङवाङ बीवाईडीको प्रिमियम इलेक्ट्रिक ब्रान्ड हो र यू नाइन यसको दोस्रो मोडल हो । यसमा डिसअस-एक्स नामक विशिष्ट सस्पेन्सन प्रणाली छ, जसले गाडीलाई उफ्रन र तीन पाङ्ग्रामा पनि चल्न सक्षम बनाउँछ ।
यू नाइन ६ मिटर माथिसम्म उफार्न सस्पेन्सन सिस्टम प्रयोग गरेर सहजै पार गर्ने कम्पनीले जनाएकाे छ ।
याङवाङ यू नाइन फेब्रुअरी २०२४ मा चीनमा १.६८ मिलियन युआन (२ लाख ३० हजार अमेरिकी डलर) मा लन्च गरिएको थियो ।
यू नाइन एक पूर्ण-विद्युतीय सुपरकार हो जुन बीवाईडीको ईफोर प्लेटफर्ममा आधारित छ ।
यो ९६० किलोवाट र १ हजार ६८० टर्कको संयुक्त शक्तिको साथ चार विद्युतीय मोटरहरूद्वारा सञ्चालित छ । यसले २.३६ सेकेन्डमा ०-१०० किमी/घण्टाको गति लिन सक्छ र ९.७८ सेकेन्डमा ४०० मिटर ड्र्याग रेस गर्न सक्छ ।
अन्य सुपरकारहरूभन्दा फरक यो लिथियम निकल म्याङ्गनीज कोबाल्ट अक्साइड (एनएमसी) ले सुसज्जित छैन तर सस्तो लिथियम आइरन फस्फेट (एलएफपी) प्याकले सुसज्जित छ ।
यसमा ब्याट्री क्षमता ८० किलोवाट छ ।
यो सुपरकार १० मिनेटमै ३० प्रतिशत चार्जबाट ८० प्रतिशत चार्ज गर्न सकिने दाबी कम्पनीको छ ।
बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो । सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो । सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो । बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनीसमेत बनेको थियाे ।
सन् २००३ मा बीवाईडी इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ अटोमोटिभ इन्डस्ट्रीमा प्रवेश गरेको थियो ।
२००८ मा बीवाईडीकाे बिक्री बढ्न थाल्यो । २०१२ सम्ममा माग बढेपछि उत्पादन बढ्यो । कम्पनीका सीमित मोडलमात्र थिए । २०१६ मा कम्पनीले अडीका प्रख्यात डिजाइनर वोल्फगाङ एगरलाई बोर्डमा भित्र्यायाे । एगरले सयौं कार इन्जिनियरहरू ल्याए र बीवाईडीको मोडलहरूको मुहार पूर्ण रूपमा परिवर्तन गरे ।
हालै १ करोड न्यु इनर्जी भेहिकल उत्पादन गर्ने पहिलो कम्पनी बन्न बीवाईडी सफल भएको छ ।
सान्दर्भिक सामग्री :
अटो उद्योगको निद्रा बिथोल्ने बीवाईडी, जसको रोकिने नामोनिशान छैन
चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस
Copyright © 2025 Bikash Media Pvt. Ltd.