२०८१ माघ ८ गते १७:४१ विकासन्युज
काठमाडौं । नेपाली फूड ब्रान्ड ‘पहाडी फूड्स’ एसियाको सबैभन्दा ठूलो फूड फेस्टिभल ‘इन्डस् फूड २०२५’ मा सहभागी भएको छ ।
भारतमा भएको फेस्टिभलमा यस ब्रान्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीजजस्ता नेपाली उत्पादनहरू प्रदर्शन गरेको संस्थापक प्रसान्त धिमिरेले जानकारी दिए ।
उनका अनुसार त्यस एक्स्पोमा विभिन्न देशबाट फूड्सका ब्रान्डहरू प्रदर्शन भएका थिए ।
पहाडीले नमुनाको लागि लगेको सामानहरू सुरु भएको २ घण्टामै सकिएको थियो । अवलोकनकर्ताले नेपाली फूड्सलाई धेरै मनपराएका उनी बताउँछन् ।
त्यस्तै, एक्स्पोबाट फर्किएपछि धेरै देशबाट माग आउन थालेको पनि उनले जानकारी दिए । आगामी दिनमा अहिले भइरहेको व्यापार भन्दा ५ गुणाले बढ्न सक्ने घिमिरेले दावी गरे ।
हाल पहाडी फूड्सका उत्पादनहरू भाटभटनी, सेल्सबेरी र नेपालका विभिन्न पसलहरूमा पनि उपलब्ध छन् ।
पहाडी फूड्सले मह, चामल, दाल र चियापत्ती गरी जम्मा चारवटा उत्पादनबाट व्यापार थालेको थियो । अहिले ७० भन्दा बढी उत्पादन यहाँ पाइन्छ ।
पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राज्मालगायत थुप्रै जिल्लाका विशेष उत्पादन बिक्री गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.