बाजेसँगै एमडीआरटी, अभिकर्ताबाट डीसीईओ

  २०८१ माघ ११ गते ११:३५     लक्ष्मण लम्साल

काठमाडौं । बाल्यकालमा दाङको फाँटहरुमा क्रिकेट खेलेको स्मृतिराज कँडेलको ‘स्मृति’ अझै पनि ताजै छ । साथीहरुसँग खेल जित्नैका लागि हानेका लामा-लामा छक्काहरु उनलाई हिजोजस्तै लाग्छन् । तर, समय न हो, आफ्नो चालमा चल्नैपर्छ । जीवनका आरोह, अवरोह र उतार–चढावहरुलाई झल्नै पर्छ ।

जसरी उनले साथीहरुसँगै क्रिकेट खेल्दा छक्का प्रहार गर्थे, त्यही किसिमको छक्का उनले बीमा क्षेत्रमा पनि प्रहार गरे । एउटा अभिकर्ता पनि बीमा कम्पनीको उच्च व्यवस्थापनमा पुग्न सक्छ भन्ने उदाहरण पस्किए । र, त अहिले उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर काम गरिरहेका छन् ।

यो पदमा पुग्न उनलाई पक्कै सहज भएन । तर, निरन्तरको मिहिनेत, लगाव र झुकावले त्यसलाई सम्भव तुल्यायो । वि.सं २०३५ सालमा ललितपुरमा जन्मिएका कँडेलको बाल्यकाल पश्चिम नेपालकोे दाङ जिल्लामा बित्यो । वि.सं २०५१ सालमा दाङबाटै एसएलसी पास गरे । कक्षा १२ सम्मको अध्ययन दाङमै पुरा गरेका उनी वि.सं २०५३ सालमा स्नातक तहको अध्ययनका लागि काठमाडौं प्रवेश गरे । पिपुल्स कलेजमा भर्ना भए । वि.सं २०५७ सालमा सोही कलेजबाट बीबीएस पास गरे ।

उनले बीबीएस पढ्नुको कहानी पनि रोचक छ । उनका बुबा व्यवसायी । व्यावसायिक पृष्ठभूमिमै हुुर्किएको कारण उनी पनि व्यवसायी नै बन्न चाहन्थे । उनका बुबा (हरीराज कँडेल)ले त्यतिखेर हार्डवेयरको व्यापार गर्थे । दाङमै साल्ट ट्रेडिङको डिलर पनि सञ्चालन गरेका थिए । बुबा पनि व्यवसायी भएकोले आफूपनि व्यवसायी बन्ने इच्छाले नै व्यवस्थापन पढेको उनी सुनाउँछन् ।

‘बीबीएस पास गरेर आफ्नै बुबाको व्यापार सम्हाल्छु, सोही व्यापारलाई विस्तार गर्छु भन्ने योजना थियो । तर, सम्भव भएन,’ विगत स्मरण गर्दै स्मृतिले भने ।

त्यसपछि मोडियो बाटो

उनले वि.सं २०५७ सालमा बीबीएसको पढाइ सकाए । उनका हजुरबुबा (नन्दराज कँडेल) भारतमा लाइफ इन्स्योरेन्स कम्पनीमा अभिकर्ताको काम गर्थे । उनले बीबीएसको पढाइ सकाउने समयमा नै नेपाललमा एलआईसी भित्रियो ।

उनको बुबा पनि उनलाई हजुरबुबाजस्तै बीमा क्षेत्रमै काम गरुन् भन्ने चाहन्थे । बीबीएस पढेका स्मृतिराजलाई अभिकर्ता बनाउन उनको बुबाले भूमिका खेले । र, उनले सुरु गरे लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालमा अभिकर्ताको काम ।

बुबाको जोडबलले नै उनले तत्कालीन बीमा समितिबाट तालिम लिएर अभिकर्ताको लाइसेन्स प्राप्त गरे । तालिम लिनु र अभिकर्ता बन्नुजस्तो सजिलो थिएन र छैन ग्राहक बनाउने काम । बाल्यकाल दाङमा बिताएका उनलाई काठमाडौंमा ग्राहक बनाउन गाह्रो भयो ।

‘भर्खर स्नातकको पढाइ सकेको थिएँ, साथी र आफन्तबाहेक काठमाडौंमा चिनेजानेको कोही थिएनन्, काठमाडौंमा ग्राहक बनाउन सकिएन,’ उनले त्यतिखरेको निराशा सुनाउँदै भने ।

स्मृतिराजले अब आफ्नो बुबाको सम्बन्धलाई सदुपयोग गर्न चाहे । बुबाको सम्बन्धलाई आफ्नो प्रोफेसनसँग जोड्ने सुनौलो अवसर ठाने उनले । उनको बुबाले पनि दाङमै आएर अभिकर्ताको काम गर्न सल्लाह दिए । सोही अनुसार उनी पनि दाङ फर्किए । वि.सं २०५८ साल माघमा पहिलो बीमा पोलिसी बिक्री गरेको उनको मानसपटलमा अझै ताजै छ ।

त्यतिखेर बीमाको बजार पनि अहिलेको जस्तो थिएन । बीमा ठगी हो भन्ने गलत बुझाइ मानिसमा थियो । ग्राहक बनाएर बीमा पोलिसी बिक्री गर्नु अभिकर्ताका लागि ठूलो सफलता हात पारेजस्ते हुन्थ्यो ।

अभिकर्ता हुँदाका सुरुवाती दिनहरु स्मरण गर्दै उनी सुनाउँछन्, ‘बीमा पोलिसी बेच्नका लागि बुबाले चिनेजानेका मानिसहरूलाई छोरा एजेन्ट भएको जानकारी दिँदै बीमा गर्नका लागि आग्रह गर्नुहुन्थ्यो, बुबाले आग्रह गरेका मानिसहरु मलाई भेट आउनुहुन्थ्यो, मैले बीमाको बारेमा बुझाएपछि उहाँहरु कन्भिन्स भएर बीमा गर्नुहुन्थ्यो । कतिपय त्यतिकै फर्किनु हुन्थ्यो ।’

बीबीएस अध्ययन गरेको, बीमासम्बन्धी पढेको र बीमा प्राधिकरणबाट तालिम लिएकै कारण पनि उनलाई बीमाको महत्व र आवश्यकता बुझाउन गाह्रो हुन्थेन । उनले विस्तारै बीमा पोलिसी बिक्री गर्दै गए । बुबाको सम्बन्धबाट फाट्टफुट्ट पोलिसी बिक्री भए पनि उनी सन्तुष्ट भने भएनन् । बीमाबारे मान्छेमा रहेको भ्रमले उनलाई आजित बनाइरहेको थियो । तर, उनी निरन्तर लागिरहे, आफ्नो काम गरिरहे ।

भुल्नै नसकिने ‘टर्निङ प्वाइन्ट’

कलेज जीवनले उनलाई जिस्क्याइरहेको थियो । काठमाडौंमा बीबीएस पढ्दाका क्षणहरु उनको मानसपटलमा छचल्किँदै दिए । साथीहरु काठमाडौंमा थिए । रमाउने उमेर थियो । आफू भने बीमाको एजेन्ट भएर काम गरिरहेको । स्मृतिको मनले काठमाडौं फर्क भन्ने संकेत गरिरहेको थियो ।

उनी आफैं पनि बीमाको अभिकर्ता भएर काम गरिरहेकोमा सन्तुष्ट थिएनन् । मनमा चाँडै काठमाडौं फर्किने हतारो थियोे उनलाई । उनी दाङमा थिए, दिल काठमाडौंमा । त्यस बेलासम्म पनि उनीमा बीमाकै कामलाई निरन्तरता दिन्छु भन्ने सोचेका थिएन ।

तर, जीवन न हो, भोलि कसले देखेको छ । आज एउटा सोचेको कुरा भोलि अर्कै बनिदिँदो रहेछ । स्मृतिराज कँडेलको जीवनमा पनि त्यस्तै भयो । उनको जीवनमा एउटा ‘टर्निङ प्वाइन्ट’ आइपुग्यो । उनलाई स्कूलमा पढाएका शिक्षकहरूले मिलेर बोर्डिङ स्कुल खोलेका थिए । कँडेलले बीमा एजेन्टको काम गर्ने कुरा सुनेपछि एक जना शिक्षकले उनलाई बीमाको विषयमा जानकारी दिन भन्दै स्कूलमै बोलाए ।

उनी त्यो स्कूलमै पुगेर उनीहरुलाई बीमाको विषयमा जानकारी गराए । बीमाको आवश्यकता, महत्व र यसको फाइदाको विषयमा लामो प्रस्तुति दिए । उनको त्यो प्रस्तुतिपछि १७ जना शिक्षकले नै बीमा गर्ने निर्णय गरे । उनले एकैदिन १७ वटा बीमा पोलिसी बिक्री गरे ।

कँडेल यसलाई आफ्नो जीवनको ‘टर्निङ प्वाइन्ट’ सम्झिन्छन् । एकैपटक १७ वटा पोलिसी बिक्री गरेपछि बीमाबाट पनि राम्रो आम्दानी गर्न सकिने क्षेत्र रहेछ भन्ने आत्मविश्वास उनमा जाग्यो । अब उनको मनमा बीमा क्षेत्रलाई नै निरन्तरता दिने सोच पलाउन थाल्यो । उनलाई थप काम गर्ने हुटहुटी जाग्यो । दिनरात अभिकर्ताको काममै खट्न थाले । काम गर्दै जाँदा बीमामै रमाउन थाले उनी ।

उनको ठूलो मिहिनेतले नेपालबाट एकै वर्षमा मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बन्न सफल भए । उनी एमडीआरटी बन्दा २ वटा संयोग भयो । उनी नेपालको पहिलो एमडीआरटी मध्येमा पर्न सफल भए । र, अर्को उनी आफ्नो हजुरबुबासँगै एमडीआरटी बने । नेपालबाट स्मृति एमडीआरटी बन्दा उनका हजुरबुबा पनि भारतबाट सोही सिजनमा एमडीआरटी बनेका थिए । अर्थात् नाति र हजुरबुबा सँगै एमडीआरटी बने ।

नेपालमा एमडीआरटीको अवधारणा एलआईसीले नै ल्याएको हो । त्यतिबेला एमडीआरटी बन्नका लागि एक वर्षमा १० लाख रुपैयाँको पोलिसी बिक्री गर्नुपर्थ्याे । उनले त्यसलाई सम्भव तुल्याए ।

एमडीआरटी बनेका १३ जनालाई एलआईसी नेपालले नगरकोटमा ‘एमडीआरटी मिट’ राखेको थियो । एमडीआरटी बनेपछि छुट्टै सान र मान पाएको महसुस कँडेलले गरे । उनी त्यसबेला २४ वर्षका थिए । त्यो उमेरमा नै कम्पनीले दिएको सम्मान देख्दा उनको मनमा लाग्यो, ‘यो पेशा त गज्जबकै रहेछ, अब मैले यो काम छोड्नु हुँदैन ।’

अभिकर्ता हुँदै शाखा प्रमुख

उनले अभिकर्ताको रुपमा कम्पनीलाई राम्रै बिजनेस दिइरहेका थिए । त्यतिखेर एलआईसी नेपालले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै थियो । उनी एमडीआरटी भएपछि कम्पनीमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रूपमा एसके सकुजा आए ।

उनलाई एक दिन सीईओ सकुजाले बोलाएर हिन्दीमा भने, ‘नोकरी करेगा ?’

स्मृतिले जवाफ दिए, ‘गर्दिनँ ।’ सीईओले गरेको त्यो अफर उनले इन्कार गरे ।

तर, घरमा भने जागिरको अफर आएको सुनाए । स्मृतिका बुबा हरिराजले पनि आफ्नो बुबा अर्थात कँडेलको हजुरबुबा नन्दराजलाई सोधे । हजुरबुबा नन्दाराजले एलआईसीमा जागिर पाउँछ भने गर्नुपर्छ भन्ने सल्लाह दिए ।

हजुरबुबाको सल्लाहअनुसार कँडेलले फेरि सीईओ सकुजालाई भेटे र आफू जागिर गर्न तयार रहेको सुनाए । सकुजाले अन्तर्वार्ताको लागि मिति तोकेर कँडेललाई बोलाए ।

उनलाई अन्तर्वार्ताबारे खासै ज्ञान थिएन । के सोध्छन् होला, कस्तो प्रश्न सोध्छन् होला भन्ने कौतुहल्ता बढ्यो । तर, उनको त्यो भाव बुझ्दै सीईओ सकुजाले भने, ‘कामको बारेमा सोध्ने हो, आत्तिनु पर्दैन ।’

उनी अन्तर्वार्तामा पास भए । वि.सं २०५९ सालमा उनले बुटवल शाखाको शाखा प्रमुखको रुपमा जागिर सुरु गरे । उनले साढे ७ वर्षमा सो क्षेत्रमा एलआईसी नेपाललाई मजबुत बनाए । धेरै एजेन्ट बनाए, त्यस क्षेत्रका बासिन्दालाई बीमा गर्नुपर्छ भन्ने चेतना फैलाए । कम्पनीले पनि सो क्षेत्रबाट राम्रो व्यापार गर्यो । उनको आत्मविश्वास थप बढ्दै गयो ।

बुटवलमा काम गरेको साढे ७ वर्षपछि कँडेल नारायणघाट शाखामा सरुवा भए । ४ वर्षमा नारायणघाट शाखालाई पनि एउटा लेबलमा पुर्याएको कँडेल सुनाउँछन् । नारायणघाट शाखापछि उनी भक्तपुर शाखामा सरुवा भए । भक्तपुरमा एक वर्षमात्रै काम गरेर उनी चावहिल शाखा पुगे ।

चावहिल शाखा भर्खर खुलेको थियो । नयाँ शाखाबाट उनले ऐतिहासिक व्यापार गरे । चावहिल शाखाले खुलेकै वर्ष २२ करोड बीमाशुल्क संकलन गरेर नयाँ रेकर्ड बनाएको उनी बताउँछन् । आफू शाखा प्रमुख भए पनि त्यो ऐतिहासिक व्यापारको श्रेय भने उनी त्यस शाखाका कर्मचारी, अभिकर्ता र समग्र टिमलाई दिन्छन् ।

चावाहिल शाखामा २ वर्ष नेतृत्व गरेपछि उनी हेड अफिस तानिए । उनले मार्केटिङ हेडको जिम्मेवारी पाए । हेड अफिसमा सरुवा हुँदा उनले जागिर गरेको १४ वर्ष बितिसकेको थियो । उनले काठमाडौं शाखामा चिफ म्यानेजर हुँदै बागमती प्रदेश प्रमुखको पनि जिम्मेवारी पनि पाए ।

दुई दशकपछि डीसीईओ

स्मृतिराज कँडेलले महत्वपूर्ण दुई दशक अर्थात् १९ वर्ष ६ महिना एलआईसी नेपालमा जागिर गरे । एउटा अभिकर्तादेखि संस्थाको बागमती प्रदेश प्रमुखको जिम्मेवारी उनले सम्हाले । उनले सो संस्थामा जति काम गरे त्यसमा उनी पूर्ण सन्तुष्ट रहेको सुनाउँछन् ।

करिब दुई दशक एलआईसी नेपालमा काम गरेका उनी २०७८ सालमा तात्कालीन गुराँस लाईफ इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)को रुपमा काम सुरु गरे ।

उनले सो कम्पनीमा १० महिना काम गरेपछि कम्पनी मर्जरको प्रक्रियामा अघि बढ्यो । त्यसपछि उनी नेपाल लाईफमा छोटो समयका लागि जोडिएर नेशनल लाइफमा प्रवेश गरे ।

वि.सं २०७९ असार १ गतेबाट उनले नेशनल लाईफमा डीसीईओको काम सुरु गरे । उनले बीमा क्षेत्रमा काम गरेको २४ वर्ष बितिसकेको छ । अभिकर्तादेखि डीसीईओसम्म गरेको आफ्नो काम र पाएको उपलब्धिमा उनी पूर्ण सन्तुष्ट छन् ।

यो साढे दुई दशकको अवधिमा उनले कुनै हरेस खाएनन् । पाइँला–पाइँलामा सफलता प्राप्त गरे । जब उनले एकै दिन १७ वटा बीमा पोलिसी बिक्री गरे, त्यो दिनदेखि आजको दिनसम्म उनले काम गर्दा सकिँदैन कि भन्ने सोच्दै सोच्दैनन् । त्यो १७ वटा पोलिसीले नै उनको जीवनमा नयाँ किसिमको ‘कोर्स क्रियट’ गर्यो ।

‘टार्गेट मिट गर्दै, हरेक पाइँलामा सफलता पाउँदै अघि बढ्न सक्नु पनि क्षमता हो, उनी भन्छन्, ‘एलआईसीको स्कुलिङले मलाई अगाडि बढ्न प्रेरित गर्यो, हरेक काम गर्दा उच्च कन्फिडेन्स आउँछ ।’

उनी एलआईसीको काम गर्ने संस्कार र स्कुलिङ नै बेग्लै खालको रहेको अनुभव सुनाउँछन् । उनी नेशनल लाईफ इन्स्योरेन्समा पनि काम गर्ने कल्चर राम्रो रहेको सुनाउँछन् । एलआईसीमा सीकेको सीप नेशनलमा प्रयोग गर्न पाउँदा खुसी रहेको उनी बताउँछन् ।

आफूले काम सुरु गरेदेखि हालसम्म बीमा क्षेत्रमा ठूलो परिवर्तन आइसकेको उनी बताउँछन् । ‘मैले करिअर सुरु गर्दा बीमा क्षेत्रलाई हेर्ने मानिसको दृष्टिकोण पृथक थियो, नेटवर्किङको नाममा जनता ठगिन्थे, बीमा क्षेत्रलाई पनि मान्छेले ठगीको रुपमा हेर्थे, अहिले परिवर्तन भइसकेको छ,’ उनी भन्छन्, ‘अहिले धेरैमा बीमा सम्बन्धी ज्ञान आइसकेको छ, प्रतिस्पर्धा बढेको छ, यो क्षेत्रमा लागेर खुसी छु ।’