अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

  २०८१ माघ ११ गते १२:४०     विकासन्युज

काठमाडौं । छिमेकी मुलुक चीन पछिल्लो दुई दशकदेखि विश्वको कारखाना बनेको छ । विश्वभरका बजारहरू चीनमा बनेका सामानहरूले भरिएका छन् । तर दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पको एउटा भनाइले चीनलाई तनाव दिएको छ ।

ट्रम्पले विश्वभरका व्यापारिक नेताहरूलाई अमेरिकामा सामान उत्पादन गर्न आमन्त्रित गरेका छन् । ट्रम्पले यदि उनीहरूले त्यसो गरेनन् र विदेशमा आफ्ना उत्पादनहरू उत्पादन गरे भने उनीहरूले अमेरिकामा शुल्कको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति बनेसँगै ट्रम्पले मेक्सिको, क्यानडा र चीनबाट आउने सामानहरूमा कर लगाउने घोषणा गरेका थिए । उनले चिनियाँ सामानहरूमा ६० प्रतिशतभन्दा बढी कर लगाउने कुरा पनि गरेका छन् ।

स्वीट्जरल्याण्डको डाभोसमा भिडियो कन्फरेन्सिङमार्फत् विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै ट्रम्पले कच्चा तेलको मूल्य, ब्याजदर र कर घटाउन चाहेको बताए ।

उनले युक्रेन र रुसबीच लगभग तीन वर्षदेखि चलिरहेको लडाइँ अन्त्य गर्न चाँडै नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न चाहेको पनि उल्लेख गरे ।

कच्चा तेलमा गिरावट

ट्रम्पले भनेका छन्, ‘म ब्याजदर तुरुन्तै घटाउन माग गर्दछु । विश्वभरि यसमा कमी आउनुपर्छ । म साउदी अरेबिया र ओपेकलाई पनि तेलको मूल्य घटाउन आग्रह गर्नेछु ।’

उनको यो बयान यस्तो समयमा आएको छ जब बजारहरू आयातित सामानहरूमा व्यापक कर लगाउने उनको योजनाको बारेमा चिन्तित छन् । ट्रम्पको बयान आउनेबित्तिकै कच्चा तेलको मूल्य घटेको छ भने युरोमा पनि गिरावट देखिएको छ ।

ट्रम्पले क्यानडा र युरोपेली संघको आयात नीतिको आलोचना पनि गरे । उनले भने कि यी नीतिहरूका कारण अमेरिकाले घाटा बेहोरिरहेको छ । उनले भनेका छन्, ‘हामी अन्य देशहरूबाट सम्मान चाहन्छौं । क्यानडासँग हाम्रो ठूलो घाटा छ । हामी यो खर्च धान्न सक्दैनौं ।’

यता उद्योगविज्ञहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाउने धम्की कार्यान्वयन गरेको खण्डमा इन्धनको मूल्य बढ्न सक्ने आशंका गरेका छन् ।

ट्रम्पले भन्सार, नियमन र कर कटौतीका साथै अवैध आप्रवासनको बारेमा पनि कुरा गरे । उनले अमेरिकालाई एआई, क्रिप्टोकरेन्सी र जीवाश्म इन्धनको हब बनाउने प्रतिबद्धता जनाउँदै मुद्रास्फीति घटाउने वाचा पनि गरे ।

चीनले पनि विशेष कदम चाल्न सक्ने

ट्रम्पको बयानले चीनको समस्या बढाएको छ । चीन र अमेरिकाबीच विगत केही वर्षदेखि व्यापार युद्ध चलिरहेको छ । अमेरिकासँग चीनको व्यापार अधिशेष १ ट्रिलियन डलरको नजिक पुगेको छ । यसबाट तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि अमेरिकी बजार चीनको लागि कति महत्त्वपूर्ण छ । ट्रम्प यो अवस्था परिवर्तन गर्न चाहन्छन् ।

चिनियाँ सरकारले अमेरिकी व्यवसायलाई लक्षित गर्न थप उपायहरू अपनाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यी कदमहरू आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्मको विषयसम्म पुग्न सक्ने जानकारहरू बताउँछन् । यसबाहेक अमेरिकी र चिनियाँ सम्बन्धमा अझ टकरावपूर्ण अवस्था आएमा चीनमा बढ्दो राष्ट्रवादका कारण जनताले विदेशी ब्रान्डहरूलाई बहिष्कार गर्न सक्छन् ।

अमेरिकाको ऋण ३६ ट्रिलियन डलर पुगेको छ र यदि चाँडै केही कदम नचालिएमा देशको अर्थतन्त्र धराशायी हुनक्छ । ट्रम्पको ट्यारिफ योजनाले आगामी १० वर्षमा अमेरिकी कोषमा लगभग ३.३ ट्रिलियन डलर ल्याउने विश्वास गरिएको छ ।

विशेषज्ञकाे चेतावनी

विज्ञहरूले अमेरिकी प्रशासनलाई ट्रम्पले विभिन्न कर लगाउने चेतावनी दिइसकेका छन् । उनीहरूले ट्रम्पले कर लगाउने घोषणा गर्नासाथ चेतावनी दिएका हुन् । यस्तो आयात करले आर्थिक वृद्धिमा मात्रै नभई मुद्रास्फीति पनि बढाउने विज्ञहरूको भनाइ छ ।

विज्ञहरूका अनुसार ट्यारिफले अमेरिकी कम्पनीहरूलाई अन्य आपूर्तिको स्रोत खोज्न बाध्य पार्नुका साथै अमेरिकी उपभोक्ताहरूलाई उच्च मूल्य तिर्नुपर्ने स्थिति सिर्जना गर्नेछ र धेरै विशेषज्ञका अनुसार रोजगार गुम्ने सम्भावना पनि बढाउनेछ ।

कर नीतिमा कठोर बने ट्रम्प, कुन देशलाई कति लगाउँदैछन् भन्सार शुल्क ?

ट्रम्पले क्यानडामाथि ट्यारिफ लगाए इन्धनको मूल्य बढ्ने आशंका