२०८१ माघ १४ गते १०:२४ इन्द्रसरा खड्का
काठमाडौं । उनलाई पढाइले निकै तनाव दिन्थ्यो । जति पढेपनि फेल भएपछि उनमा निराशा छाउँदै थियो । विद्यालयत तहको पढाइले कलेज तहमा काम गरेन । देशभरका बेष्ट ब्रेनहरु भिड्ने काठमाडौंमा इलामको पढाइ साध्य लागेन । तर, उनले हार मानिन्, उनी लागि रहिन्, उनी अर्थात् निकिता काफ्ले ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा उनी दुइटा स्वर्ण पदक सहित सम्मानित भइन् । उनलाई लागेको थिएन कि ‘जीवनमा गोल्ड मेडलिष्ट बन्छु भनेर ।’ तर, उनको मिहिनेतले त्यसलाई सम्भव तुल्यायो ।
कक्षामा फेल नभइदिए हुन्थ्यो भनेर प्राथना गर्ने उनी गोल्ड मेडलिष्ट बनिन् । गोल्ड मेडलिष्ट बन्नुअघिको कहानी पनि रोचक छ । एसएलसी पास भइसकेपछि निकिताले प्लस टुका लागि बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा विज्ञान विषय लिएर पढ्न थालिन् । तर, उनी फेल हुन थालिन् । त्यो पढाइ सकेपछि उनले त्यतिबेलै चिकित्सा पढ्छु भन्ने प्रण गरिन् ।
जब अध्ययन सुरु गरिन् तब उनले कस्सेर पढ्नुपर्छ भन्ने आँट राखिन् । पढ्न त पढ्ने तर कसरी ? लेखेर पढ्ने कि पढेर लेख्ने ? किताब सबै घोक्ने कि, केही सारांश बनाएर पढ्ने ? यहाँनेर अलमल थियो ।
प्रायः हरेक विद्यार्थी यहाँनेर अलमलमा पर्छन् । निकिता पहिलो चरणको टेस्ट परीक्षामा फेल भइन् । जहाँ उनीलगायत सबै विद्यार्थीलाई भनिएको थियोऔ ‘यहाँ फेल हुन मिल्ने एउटै मात्र परीक्षा यो हो, त्यसपछि हरेक परीक्षामा फेल हुन पाइँदैन ।’
अब उनलाई पीर लाग्यो । त्यही बेला एकजना सिनियर दाइलाई उनले चिनेकी थिइन् । जसले उनलाई पढाइको टेक्निक (तरिका) सिकाइदिए । उनले त्यो तरिकालाई लागू गरिन् । नभन्दै युनिट जिरोको रिजल्ट राम्रो आयो । जहाँ उनको नम्बर उच्च स्थानमा थियो । अघिल्लो परीक्षामा फेल भएकी उनलाई त्यसपछि विश्वास लाग्यो कि अब मैले पढ्न सक्छु, गर्न सक्छु ।
यस्ताे थियो टेक्निक
कुनै पनि विद्यार्थीले आफ्नो कोर्समा भएको सबै कुरा पढ्नै पर्छ । तर सबैलाई कण्ठ गर्न सायदै सकिँदैन । निकितालाई सिकाइएको तरिका के थियो भने पाठ्यपुस्तकमा भएका सबै कुरा अनिवार्य पढ्नैपर्छ । तर त्यसमा केही कुरा छनोट गर्न सक्नुपर्छ । जस्तो हरेक वर्ष धेरैजस्तो आइरहने प्रश्नहरू कस्ता छन् ? ती कति महत्त्वपूर्ण छन् । यी कुरा हेर्नुपर्छ ।
अर्को जान्नै पर्ने केही कुरा हुन्छ त्यसलाई पनि उत्तिकै पढ्नुपर्छ र अर्को पढ्नै पर्ने तर पहिलो र दोस्रो जस्तो कण्ठ गरिरहन आवश्यक नपर्ने यति कुरा विद्यार्थीले छनोट गर्न सक्नुपर्छ । त्यसका लागि फेरि छुट्टै अध्ययन हुनुपर्छ । जस्तै विगत दुई-तीन वर्ष पहिले आएका प्रश्न पेपर हेर्नु पर्छ । पढ्ने तरिका व्यक्तिपिच्छे फरक हुन्छ ।
कसैलाई पढेर मात्र कण्ठ हुन्छ त कसैललाई लेखेरै पढेको कन्ठ हुन्छ । निकिता जानेको कुरा लेख्ने अनि पढ्ने गर्थिन् । यसरी पढ्दा उनलाई कण्ठ हुन्थ्यो । कसैलाई एकै ठाउँमा बसेर पढ्दा कण्ठ हुन्छ भने कसैलाई पढ्दै हिँड्दै यताउता गरिरहनुपर्छ, त्यस्तै कसैलाई ठूलो स्वरमा पढेको कुरा याद हुन्छ भने कसैलाई मनमनै परेर याद गर्न सहज हुन्छ ।
पढाइको यस्तो तरिका थाहा पाइसकेपछि निकिताले आफ्नो पढ्ने शैली बदलिन् । उनलाई यस्तो बानी पर्याे कि बसेर पढ्दापढ्दा बस्नै नमिल्ने समस्यासमेत भयो । उनी भन्छिन्, ‘मलाई पढ्न यति मन पर्न थाल्यो कि कहिलेकाहीं खाना खाने, सुत्नेभन्दा सबै समय पढाइमै खर्चन थालें ।’
‘सबैभन्दा धेरै जान्नै पर्यो, त्यसपछि सबैभन्दा धेरै के पढ्ने यो कुरा छनोट गर्नुपर्याे । त्यसपछि एक पटक हेरे पनि हुने कुराहरू पढ्नुपर्यो यति गरिसकेपछि दिमागमा बसिहाल्छ,’ उनी भन्छिन्,‘नसुनेको कुरा मात्र के हो के हो हुन्छ । एकपटक सुनेपछि दिमागमा रहेको हुन्छ । यसरी पढ्दा टप गर्न सकिँदो रहेछ ।’
दुईवटा स्वर्णपदक
निकिताले यसरी गरेको मिहिनेतले दुईवटा स्वर्ण पदक पाइन् । एउटा ‘उपकुलपति’ स्वर्ण पदक र अर्को ‘हरिमान उमादेवी’ स्वर्ण पदक । मेडल र प्रमाणपत्र पाउँदा जति खुसी उनलाई कहिल्यै लागेन । उनलाई धेरै मान्छे अगाडि गएर बाेल्न रहर थियो ।
टप हुने व्यक्तिले मेडल पाइसकेपछि बोल्न दिने अवसर दिइएको थियो । जुन दिन निकिता टप भएर बोल्न मञ्चमा गइन्, उनले आफ्नो त्यो रहर पनि पुरा गरिन् । भन्छिन्, ‘त्यस दिन मलाई यति खुसी लाग्यो कि त्यो क्षणलाई व्यक्त गर्न सक्दिँन, एउटा झोला बोकेर आएको मान्छे दुई दुईटा मेडल बोकेर फर्कँदा धेरै खुसी भएँ ।’
पढेर बस्दा बस्दै आएको समस्या
निकितालाई बसेर पढ्न यति रमाइलो लागिसकेको थियो कि त्यसरी नबस्दा पढे पनि पढे जस्तो नलाग्ने लत बसिसकेको थियो । तर उनलाई सधैं बसेर पढ्दा स्वास्थ्यमा समस्या देखियो । उनलाई बसेर पढ्न मिल्ने अवस्था भएन । अर्को कुर्सीमा बसेर पढ्न थालिन् । यतिबेला भने उनलाई पीर पनि पर्न थालेको थियो ।
‘अन्तिम सेमिस्टरको परीक्षा आइसकेको थियो, बसेर पढ्न सक्ने अवस्था थिएन,’ उनी भन्छिन्, ‘एकातिर डर पनि थियो, अर्कोतिर आशा पनि थियो, तर पनि पढ्न छोडिन् । यही मिहिनेतले मलाई गोल्ड मेडल प्राप्त भयो ।’
हरेक सेमिस्टरमा टप हुन थालेपछि उनले मनमा सपना सजाउँथिन् । यदि म टप भएँ भने स्पिच दिन पाउँछु, आमाबुवालाई बोलाउँछु, उहाँहरू मैले मेडल पाएको देख्दा कती खुसी हुनुहुन्छ होला, उनी यस्तै कुरा सोच्थिन् । नभन्दै उनकाे रहर पनि पुरा भयाे । खुसी हुँदै भन्छिन्, ‘कहिलेकाहीं साेंचेकाे कुरा पनि पुरा हुन्छ भन्थे हो रहेछ, मैले जस्तो कल्पना गरेको थिएँ ठ्याक्कै त्यस्तो भयो ।’
होस्टेल बसेर पढ्दा
निकिताकाे जन्मघर इलाम हो । उनले कक्षा १० सम्म गाउँमै पढिन् । गाउँमै भएपनि उनले निजी स्कुलमा पढ्ने अवसर पाएकी थिइन् । तर परिवारको अवस्था भने त्यति राम्रो थिएन । उनी सानै हुँदादेखि आमा बिरामी भइरहन्थिन् । अहिले पनि आमा झापाको विर्तामोडमा अस्पतालमै भर्ना छिन् । बुवाको गाउँमै काठ र अलैंचीको व्यापार छ ।
पारिवारिक समस्या भएपनि निकितालाई पढ्न भने कहिल्यै बाधा भएन । उनका बुवाको छोरीलाई पढाउने ठूलो रहर थियो । एसएलसी पास भइसकेपछि निकिता प्लस टु पढ्न काठमाडौं आइन् । उनी बागबजारमा रहेको काठमाडौं मोडल क्याम्पसमा साइन्स लिएर पढ्न थालिन् ।
बसाइँ होस्टेलमा थियो । सधैं कक्षामा उत्कृष्ट हुने उनी काठमाडौं आइसकेपछि उत्कृष्ट हुन सकिनन् । किनकि उनीभन्दा क्षमतावान विद्यार्थी एउटै सेक्सनमा थिए । कक्षाभित्रै हुने परीक्षामा कहिले फिजिक्स कहिले केमेस्ट्री विषयमा फेल हुन थालिन् ।
यतिसम्म कि एसएलसीमा ९० भन्दा धेरै नम्बर ल्याएर पास गरेको म्याथम्याटिक्समा पनि उनी फेल हुन थालिन् । ‘मलाई पढ्न जाँगर नआएको हो कि,’ उनी भन्छिन्, ‘पढाइ निकै बिग्रियो, खोइ के-के, मैले मेसो नपाएको हो कि, या त मैले पढ्न अल्छी गरेकी हुँ ।’
नर्स बन्ने धोको
बेला-बेला आमा बिरामी भइरहने हुनाले निकितालाई प्लोरेन्स नाइटिङ्गेलको कथाले छुन्थ्यो । उनको रहर पनि यस्तै नर्स बन्ने थियो । तर कतिबेला उनको रहर परिवर्तन भयो उनलाई पत्तै भएन । ‘मलाई डाक्टर बन्छु भन्ने लागेको पनि थिएन, सोंचेकी पनि थिइनँ,’ उनी भन्छिन्, ‘तर साथीभाइको संगतमा लागेर मैले नर्सिङ पढ्ने सोंच बदलिसकेकी रहेछु, त्यतातिर ध्यानै दिइएन ।’
उनी होस्टेल बस्दा एउटी मिल्ने साथी थिइन् । उनले एमबीबीएसको तयारी गर्ने योजना बनाइन् । साथीको यो सोंचले निकिता पनि यही सोंच बनाउन थालिन् । साथीहरूसँगै एमबीबीएसको तयारीमा जुटिन् । होस्टेल बस्दा कामबाहेक बाहिर निस्कन मिल्दैन । सधैं भित्र बस्दाबस्दा दिक्क लाग्थ्यो, एकछिन भएपनि बाहिर निस्कन मिल्छ भन्दै साथीहरूसँगै पढ्न सुरु गरें,’ उनी भन्छिन्, ‘तर, एमबीबीएसमा नाम निस्केन त्यो दिन साथी र म बेस्सरी रौयौं ।’
उनीहरू दुवै जनाले फेरि अर्को पटक परीक्षा दिने योजनासहित चित्त बुझाए । उनले आफू फेल भएको तर अब डाक्टर नै बन्ने कुरा बुवालाई फोन गरेर सुनाइन् ।
टुप्पी र टोपी भएसम्म पढाउने बुवाकाे संकल्प
निकिताका बुवा छाेरीलाई सक्दो पढाउन थाहन्थे । छाेरी फेल भएकाे सुनेपछि उनले भने, ‘तेरो बुवा धेरै पैसा भएको मान्छे होइन, अलि गाह्राे त गाह्रो हुन्छ, तर मेरो टुप्पी र टोपी मात्र रह्यो भने पनि म पढाउँछु, तिमी हरेस नखाऊ ।’
बुवाको यो मार्मिक शब्दले निकिताकाे मन कटक्क छोयो । ‘रहरैरहरले मलाई चिकित्सक बन्न मन लाग्यो,’ उनी भन्छिन्, ‘म धेरै पैसा तिरेर एमबीबीएस पढ्न सक्ने हैसियतको थिइनँ, मैले फुल स्कलरसिपको लागि प्रयास गरेकी थिएँ ।’ उनले काठमाडौंबाट दुई-तीन पटक परीक्षा दिँदा समेत नाम ननिस्किएपछि धरान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एमबीबीएसमा परीक्षा दिइन् । त्यहाँ पनि नाम निकाल्न सकिनन् । उनले त्यहाँ बीडीएसमा पनि टिक लगाएकी थिइन् । बीडीएसमा भने उनलाई आशा थियो ।
तर बीडीएसमा निकिताले आधा रकम आफैले तिर्नुपर्ने भयाे । त्यसपछि उनी बीडीएस अध्ययनका लागि काठमाडौंबाट धरान पुगिन् । २०१६ मा भर्ना भएर उनी २०२३ पासआउट भएर निस्किन् ।
पासआउट भएसँगै उनले काम गर्न थालिन् । उनले विभिन्न क्लिनकमा गएर काम गरिन् । अहिले भने बौद्धमा रहेको अन्नपूर्ण डेण्टलमा काम गरिरहेकी छिन् । उनको दैनिकी आजभोलि कहिले क्लिनक त कहिले शिविरमै बित्छ । उनलाई सहयोग गर्ने उनका जीवनसाथी छन् ।
स्वस्थ छैनन् नेपालीका दाँत
नेपालमा दाँतको समस्या प्राय: धेरैजसो व्यक्तिमा देखिन्छ । बच्चा, जवान वृद्धवृद्धासम्म देखिने यो समस्या जटिल बन्दै गएको छ । तर नेपालीको बानी जबसम्म दुख्दैन अथवा सहन नसक्ने गरी दुखाइ हुन्छ तब बल्ल अस्पताल नपुग्ने । ‘दाँतमा बसेको फोहोरमैला जसले गिजालाई कमजोर बनाइरहेको छ, हड्डीलाई गलाइरहेको छ, त्यसलाई खासै महत्त्व दिएको छैन,’ निकिता भन्छिन्, ‘सामान्य अवस्थामा अस्पताल पुग्दा दुखाइ पनि हुँदैन, खर्च पनि हुँदैन तर, किरा लागेर दुखिसकेपछि अब यसलाई निकाल्नुपर्छ भन्ने सोंच अधिकांशमा हुन्छ ।’
दाँतको समस्या एकैनासको हुँदैन । धेरैजसो दाँत मान्छेको तलको पहिलो बंगारामा लागेको हुन्छ, जुन ६ वर्षको उमेरमा त्यो दाँत आइसकेको हुन्छ । यो बेलामा अभिभावक साटिने दाँत हो भन्दै बस्ने गर्छन् । जसका कारण सानै उमेरदेखि त्यो दाँतमा किरा लागेको हुन्छ । जवानहरूमा किराले खाएको र बुढाबुढीमा दाँत गिजाबाट छुट्टिन लागेको प्राय: पाइन्छ । दाँतको कुनैपनि समस्या हुनुको पछाडि बहुपक्षी कारण छन् ।
गुलियो सबैभन्दा बलियो एक कारण हो भने अरू धेरै कारणहरू पनि छन् । किराले थोरै खान सुरु गरेको छ भने त्यो बढ्ने नै हुन्छ, त्यसैले लाग्नेबित्तिकै उपचार गर्नुपर्ने सल्लाह उनको छ । यसबाट बच्न भनेको मुख्य कुरा खाना खाइसकेपछि साँझ, बिहान एक दिनमा दुई पटक दाँत अनिवार्य माझ्नुपर्छ ।
‘ब्रस गर्न पनि टेक्निक जान्नुपर्छ । टेक्निक मिलाएर दाँत माँझ्दा एक पटक माझे पनि हुन्छ, ‘ उनी भन्छिन्, ‘नभए दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ । धेरैजस्तो नेपालीलाई ब्रस गर्ने तरिकासमेत जानकारी छैन, आजभोलि चम्चाले खाना खायाे अनि मुख पुछी हिँड्ने मान्छे धेरै छन् ।’
बच्चाको दाँत अझ जोखिममा
आजभोलि अधिकांश बालबालिकामा दाँतको समस्या देखिन थालेको छ । अगाडिको दाँत मात्र होइन पुरै दाँत सखाप भएका बालबालिकाहरू पनि कहिलेकाँही भेटिन्छन् । धेरै जस्तो अभिभावकले यसमा ध्यान दिएको पाइँदैनन् ।
यस्तो अवस्थामा बालबालिकाको दाँतको उपचार गर्नुको साटोँ दाँत झरेर नयाँ आउँछन् भन्ने आशामा अभिभावक बसेका हुन्छन् । नसा समेत किरा लागेको अवस्थामा बालबालिकाहरू आइपुने गरेको उनको भनाइ छ ।
उनी यसको कारण चकलेट धेरै खानु रहेको बताउँछिन् । ‘बालबालिकालाई फकाउन, चुप लगाउन हाम्रो सजिलो उपाय हो चकलेट, अब बालबालिका यति सम्म थाहा पाउनसक्ने भएकी अब हामी रुँदा चकलट पाउँछौ भन्ने अवस्थामा पुगे, उनी भन्छिन्, चकलेट खुवाउँछौँ तर, मुख कुल्ला गर्न, ब्रस गर्न सिकाउँदैनौं जसको कारण यस्ता समस्या बालबालिकामा धेरै देखिन थाले ।’
डा. निकिताका अनुसार बच्चाको दातमा किरा लाग्नुको कारण चकलेटमात्र होइन । दूधले पनि यो समस्या निम्त्याउँछ । बच्चालाई बोटल चुसाएर सुताउँदा बालबालिकाको पछाडीको बंगरा र माथिको अगाडिको माथिपट्टी किरा लाग्ने सम्भावना धेरै हुन्छ । तलको दातमा लागेको दूध थुकले पखाल्दा किरा लाग्दैन भने माथिल्लो भागमा किरा लाग्छ । तीन वर्षसम्मको बच्चामा बोटलको दूध चुसाउँदा समस्या हुन्छ ।
फुल स्कलरिपमा विदेश पढ्न जाने योजना
चिकित्सक निकितालाई अब विदेश पढ्न जाने ईच्छा छ । त्यो पनि नेपाल सरकारकै फुल स्कलर सिपमा । ‘अहिले नेपालमा काम गर्दा यही पनि गर्न सक्छु, राम्रै हुन्छ कि भन्ने सोच पनि छ,’ उनी भन्छिन्,‘ तर एक पटक बाहिर जान ईच्छा छ, त्यहाँको पढाइको स्वाद चाख्न निकै रहर, यसको लागि प्रयास पनि गरिरहेकी छुँ ।’
नेपालमा चिकित्सकको पारिश्रमिक पनि धेरै छैन । यही समस्याका कारण देश छोड्ने चिकित्सकको संख्या उत्तिकै छ । भन्छिन्,‘सानै ठाउँमा थिए, धेरै ठूलो सपना पनि थिएन तर, अहिले यो ठाउँमा पुग्दा सपना पनि बढ्दै गइरहेको छ ।’
टपर भइसकेपछि
नेपालमा हरेक वर्ष, हजारौँ विद्यार्थी दिक्षीत हुन्छन् । त्यसमध्ये थुप्रै विद्यार्थी गोल्ड मेडल पाउँछन् । तर, नेपालमा गोल्ड मेडल पाएकाहरु भने कुनै अवसर नपाएको गुनासो गर्छन् । सकेसम्म आफ्नै क्षमताले गर्न खोज्छन् ।
त्यसमा तलब पनि खासै राम्रो हुँदैन । भन्छिन्,‘यो मेडल भनेको पछिसम्म केही यादगार बनाउने क्षणमात्र हो , मिहिनेत अनुसारको फल हो ।’ उनले गोल्ड मेडलको उपाधी मात्र पाएकी छिन् तर, मेडल अझै हात परेको छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.