२०८१ माघ १२ गते १९:२९ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । चालु आवको पौष मसान्तसम्म १४ वटा बीमा कम्पनीले १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
जुन गत आवको सोहि अवधिको तुलनामा १४.३९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा वैदेशिक रोजगार बीमाबाट १ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ संकलन भएको थियो ।
यो अवधिमा सबैभन्दा धेरै व्यापार गर्नेमा एशियन लाइफ रहेको छ । एशियनले गत आवको भन्दा १७८.८८ प्रतिशत धेरै बीमाशुल्क संकलन गरेको छ । चालु आवको ६ महिनामा कम्पनीले वैदेशिक रोजगार अन्र्तगत ३५ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा १२ करोड ६६ लाख रुपैयाँ संकलन गरेको थियो ।
सन नेपाल लाइफले पनि गत वर्षको भन्दा ८५.८९ प्रतिशत बढी बीमाशुल्क संकलन गरेको छ । कम्पनीले चालु आवको ६ महिनामा ६८ करोड ६२ लाख संकलन गरेको छ । गत वर्षको पौष मसान्तसम्म ३९ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि वैदेशिक रोजगार बीमाको व्यापार वृद्धि गरेको छ । कम्पनीले गत वर्षको तुलनामा ५.४५ प्रतिशतले व्यापार वृद्धि गरेको हो ।
वैदेशिक रोजगार बीमा पोर्टफोलियोको अन्तर्गत नेपाल लाइफको व्यापार सबैभन्दा धेरै घटेको छ । नेपाल लाइफको व्यापार ४५.२३ प्रतिशतले घटदा आइएमई लाइफको ४०.०१, सुर्यज्योति लाइफको ३२.५६, रिलायबल लाइफको २८.८९, सिटिजन लाइफको २१.८२, सानिमा रिलायन्सको १७.१८ र नेशनल लाइफको ८.७३ प्रतिशतले व्यपार घटेको हो ।
नेपाल लाइफले यो पोर्टफोलिया अन्तर्गत गत आवको पौष मसान्तसम्म ३२ करोड ५ लाख रुपैयाँको व्यापार गरेको थियो । चालु आवको सोहि अवधिमा कम्पनीले १४ करोड ६७ लाखमा समेटिएको छ । यस्तै, आइएमईले गत आवको ६ महिनामा १६ करोड ४१ लाख रुपैयाँको व्यापार गरेकोमा चालु आवको सोहि अवधिमा ९ करोड ८४ लाख रुपैयाँमा खुम्चिएको छ ।
हिमालयन लाइफ, गार्डियन माइक्रो लइफ, क्रेष्ट माइक्रो लाइफ र लिबर्टी माइक्रोले यसै वर्षदेखि वैदेशिक बीमाको व्यापार सुरु गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणले गत साउन महिनादेखि लागुहुनेगरी वैदेशिक रोजगार बीमालाई पुल प्रणालीमा लैजाने कार्यविधि बनाएको थियो । कार्यविधि लागु भएसँगै धेरै व्यापार गर्नेले थोरै व्यापार गर्नेलाई भाग बाढ्नुपर्ने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.