२०८१ माघ १३ गते १८:१४ विकासन्युज
काठमाडौं । पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी पुर्याउने म्याद थप भएको छ । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्ने समय सीमा थपिदिएको हो ।
गत पौषको अन्तिम साता बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्ने समय थप गरिदिएको प्राधिकरणका अध्यक्ष मदन दाहालले जानकारी दिए ।
उनले एक वर्षका लागि म्याद थप गरिदिएको जानकारी दिए । उनले विकासन्युजसँग भने, ‘पुँजी वृद्धि गर्ने समय सीमा सकिन लागेको र कम्पनीहरूले हालसम्म वृद्धि नगरेकाले एक वर्ष थप गरिदिएका हौं ।’
२०८० माघ १७ गते बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरूले एक वर्षभित्र २० अर्ब चुँक्त पुँजी पुर्याउनु पर्ने निर्णय गरेको थियो । प्राधिकरणले तोकेको एक वर्षको सीमा माघ १७ गते सकिँदै छ ।
गत वर्ष प्राधिकरणले पुँजी वृद्धिको योजना पनि पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको थियो । हिमालयन रिइस्योरेन्सले पुँजी वृद्धिको योजना पेश गरे पनि नेपाल पुनर्बीमाले पेश गर्न सकेको थिएन ।
नेपाल पुनर्बीमाले योजनाको मस्याैदा बनाएर अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले कुनै पनि प्रतिक्रिया नदिएपछि वृद्धिको योजना प्राधिकरणमा पेश हुन सकेको थिएन ।
नेपाल पुनर्बीमाका तत्कालीन अध्यक्ष ईश्वरीप्रसाद अर्यालले कम्पनीको योजना पुँजी वृद्धि गर्दै लैजाने रहेको बताएका थिए । उनले भनेका थिए, ‘हामीले पुँजी वृद्धि योजनाअनुसार नै हरेक वर्ष सेयर नै वितरण गर्दै आएका छौं । प्राधिकरणले वृद्धि गर्न निर्देशन दिनुअघिदेखि नै हाम्रो योजना वृद्धि गर्दै लैजाने नै थियो र छ ।’
हिमालयन रिले भने पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेका थियो । कम्पनीले प्रधिकरणको स्वीकृति बिना नै घोषणा गरेको थियो । उक्त निष्काशनबारे प्राधिकरणले हासम्म पनि स्वीकृति दिएको छैन ।
हाल नेपाल पुनर्बीमाको चुक्ता पुँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार ७८ रुपैयाँ रहेको छ भने हिमालयन रिको पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.