२०८१ माघ १४ गते १८:२७ विकासन्युज
काठमाडौं । खुम्बु क्षेत्रमा अन्ततः हेलिकप्टर उडानमा लगाइएको रोक हट्ने निर्णय भएको छ ।
झन्डै एक महिनाअघि सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय भएको थियो ।
निकुञ्जले विज्ञप्ति जारी गर्दै अनियन्त्रित हेलिकप्टर उडानले पर्यटनको मर्मलाई नै नोक्सान पुर्याएको भन्दै हेलिकप्टर उडान रोक्ने निर्णय गरेको हो ।
‘निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको अनुमति लिएर तथा नियमानुसार तोकिएको राजस्व बुझाई प्रचलित कानुनअनुसार सुरक्षित तवरले हेलिकप्टरको उडान अवतरण होभरिङ गर्न गराउन हुन सबै हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको थियो ।
निकुञ्ज प्रशासनले सन् २०२५ को जनवरी १ देखि हेलिकप्टर कम्पनीहरूलाई उद्धारबाहेकका काममा समुद्री सतहबाट करिब ४ हजार मिटरमाथिको सगरमाथा क्षेत्रमा जान रोक लगाउने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति कतिपय सरकारी निकाय तथा पर्यटन व्यवसायीहरू तीव्र असन्तुष्टि जनाएका थिए । अझ खासगरी नागरिक उड्डयन प्राधिकरण (क्यान) र निकुञ्जबीच विवाद नै चर्कियो ।
पर्यावरण र वन्यजन्तु संरक्षणको तर्क निकुञ्जले दिँदै आएको थियो । यता क्यानले अधिकार क्षेत्र मिचेको बताउँदै आएको थियो । सबैभन्दा अचम्मको विषय चाहिं निकुञ्ज र क्यान दोहोरी खेल्दा पर्यटन मन्त्रालय मौन बस्यो । जसकारण यो समस्या झन् पेचिलो बन्दै आएको थियो ।
उडान खोल्ने सहमति
गत शुक्रबार जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बु, नेपाल वायुसेवा सञ्चालक संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सोलुखुम्बु कार्यालय, खुम्बु पासाङल्हामु गाउँपालिका र अन्य सरोकारवाला पक्षबीच सर्वपक्षीय बैठक बसी उक्त रोक खोल्ने सहमति भएको हो ।
हाल उक्त क्षेत्रमा हेलिप्याडमा देखिएको अवरोध स्थानीय तहले हटाउने र वायुसेवा सञ्चालक कम्पनीले उद्धार उडानलाई अवरोध हटेलगत्तै सुचारु गर्ने सहमति भएको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहले हेलिप्याडमा रहेका अवरोध हटाएपछि उद्धार उडान सुरु भएको छ । उनले भने, ‘दुई दिनअघि हामी सर्वपक्षीय बैठक बस्यौं । बैठकमा हाललाई हवाई उडान सुचारु गर्ने सहमति भएको छ । नागरिकलाई समस्या भयो । त्यसैले उडान सुरु गर्ने सहमतिमा पुग्यौं । अब उद्धार उडान सुरु हुन्छ । हाल यस क्षेत्रमा कुनै समस्या छैन ।’
गाउँपालिकाका अध्यक्ष शेर्पाले कसैले उद्धार उडानका लागि हेलिकप्टरको आवश्यकता परेमा तत्कालै उडान माग गर्न सकिने जानकारी दिए ।
त्यस्तै, उनले नियमित उडानका लागि भने १५ दिनभित्र सबै पक्षबीच छलफल भई खोजिने बताए ।
के भन्छ क्यान ?
खुम्बु क्षेत्रमा तत्काललाई कुनै बाधा अवरोध नभएको क्यानले जनाएको छ ।
क्यानका उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार सहमति भइसकेको र तत्काललाई कुनै समस्या नभएको बताए ।
उनले भने, ‘सरोकारवाला निकायबीच समन्वय गरी सहमति जुटाउने निर्णय भएको छ । स्थानीय सरकारले केही अवरोध गरिरहेको थियो । स्थानीय सरकारका आफ्नै गुनासाहरू हुन सक्छन् । बाँकी सबै अन्य सरकारी निकाय सहमतिमै थियौं । हाम्रो तर्फबाट कुनै अवरोध भएको छैन । सबै कानुनमै प्रष्ट छ । तत्कालाई कुनै समस्या छैन ।’
उनले हाललाई केही ठाउँमा उडान भइरहेको र कुनै ठाउँमा उडान हुन नसकेको बताए । उनले आफूहरुले कानुनमा रहेको कुरा नागरिकहरुलाई सम्झाउने र बुझाउने कर्तव्य भएको सुनाए ।
११ कम्पनीका ३२ हेलिकप्टर सञ्चालनमा
सरकारी विवरणअनुसार हाल नेपालमा ११ वटा कम्पनीका ३२ हेलिकप्टरहरू सञ्चालनमा छन् ।
सगरमाथा आरोहणका लागि अनुकूल समय वसन्त ऋतुको समयमा आधार शिविरमा मात्र दैनिक औसतमा ५० भन्दा बढी हेलिकप्टर उडान हुने गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.