सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०८१ माघ १५ गते १२:०४     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को अवसरमा देशभरका कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै सम्पत्ति शुद्धीकरण र यसले अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभावबारे जानकारी दिइएको थियो । साथै यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमहरूबारे छलफल गरिएको थियो ।

कम्पनीका कार्यान्वयन अधिकृत रन्जु लम्सालले यस सम्बन्धी प्रस्तुतीकरण गर्नुका साथै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले यसको महत्व र आवश्यकताका बारेमा स्पष्ट पारेका थिए ।

कार्यक्रम पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापन सहितका कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखाका कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको कम्पनीले जनाएको छ ।