२०८१ माघ १५ गते १५:४९ बबिता तामाङ
काठमाडौं । विदेशी ब्राण्डका स्यानिटरी प्याडको बढ्दो प्रयोगले नेपाली ब्राण्डका स्यानिटरी प्याडको उद्योग संकटमा पर्न थालेका छन् । भारतीय तथा चिनियाँ प्याडले नेपाली बजारमा प्रभुत्व जमाउँदा नेपाली उत्पादनले बजार पाउन छाडेका हुन् । प्रयोगकर्ताले नेपाली ब्राण्डका प्याडलाई विश्वास नगर्दा उद्योग नै समस्यामा परेका हुन् ।
एक वर्षअघि अत्तरखेल महिला समाजले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा स्यानिटरी प्याड उत्पादन सुरु गर्यो । तर, उत्पादन भएको प्याडले बजार नपाउँदा त्यसले निरन्तरता पाउन सकेन ।
उत्पादन भइसकेका प्याड बिक्री गर्न नसकेपछि अहिले समूहमा आवद्ध महिलाहरू चिन्तित छन् । गोकर्णेश्वर नगरपालिकामा स्यानिटरी प्याड उत्पादन पहिलो पटक सुरुवात भएको थियो ।
समाजकी निवर्तमान अध्यक्ष सान्नानी श्रेष्ठले महिलाहरूको आर्थिकस्तरमा सुधार गर्ने हेतुले स्यानिटरी प्याड उत्पादन थालेको बताइन्।
उनले भनिन्, ‘महिलाहररूको आर्थिकस्तरमा केही सुधार हुन्छ कि भनेर स्यानिटरी प्याड उत्पादनको लागि नगरपालिकासँग अनुरोध गर्यौं, निरन्तर छलफलपछि नगरपालिकाले सहयोग गर्ने वाचासमेत गर्याे। नगरभित्र यस्तो कार्यक्रम पहिलोपटक सुरु गर्न लागेको भएर राम्रै हुन्छ भन्नेमा विश्वस्त थियौं, तर सोंचेअनुसार भएन ।’
एक वर्षअघि (२०८० वैशाख) मा नगरपालिकाले स्यानिटरी प्याड उत्पादनको लागि भनेर १० लाख रुपैयाँ महिला समूहलाई हस्तान्तरण गरेको थियो ।
प्याड बनाउन चाहिने कच्चा पदार्थ, मेसिनलगायतका सामान भारतबाट आयात भएको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार मेसिनलगायत विभिन्न कच्चा पदार्थ खरिदको लागि नै १० लाखभन्दा बढी खर्च भएको छ । सबै गरेर १२ लाखभन्दा बढी खर्च भएको छ ।
नपुगेको रकम महिला समुहबाट हालेर स्यानिटरी प्याड उत्पादन सुरु गरेको उनले सुनाइन् । नगरपालिकाले महिलाहरूलाई प्याड बनाउनका लागि तालिमसमेत प्रदान गरेको थियो ।
स्यानिटरी प्याड बनाउने कार्यक्रम सुरु भएपछि संस्थामा आवद्ध ६/७ जना महिलाहरूले रोजगारीसमेत पाएका थिए । प्याड उत्पादन पाँच महिनासम्म निरन्तर रूपमा सञ्चालन भयो । त्यसपछि भने निरन्तरता दिन नसकेको निवर्तमान अध्यक्ष श्रेष्ठले सुनाइन् ।
उत्पादन गरेका प्याडहरू बिक्री हुन नसकेपछि र थप कच्चा पदार्थ ल्याउन नसक्दा काम रोक्नुपरेको उनको भनाइ छ ।
प्याड उत्पादन गरेर केही आयआर्जन होला कि भनेर सुरु भएपनि त्यसले उपलब्धि हासिल हुन नसकेपछि महिलाहरू व्यर्थैमा सुरु गरेको भन्दै चिन्तित छन् । अझ दुःखको कुरा उनीहरूले समयमै पारिश्रमिक समेत पाउन सकेनन् । घरधन्दा सकाएर प्याड बनाउन आएका महिलाहरूले समयमै पारिश्रमिक नपाएपछि गुनासोसमेत गरेको निवर्तमान अध्यक्ष श्रेष्ठले बताइन् ।
केही समयअघि मात्रै उत्पादन भएको प्याड केही बिक्री गर्दै जम्मा भएको पैसाबाट काम गर्ने महिलाहरूलाई दिनको न्यूनतम २ सय रुपैयाँको दरले पारिश्रमिक वितरण गरेको उनले सुनाइन् ।
उनले भनिन्, ‘स्यानिटरी प्याड उत्पादनबाट हामीले नाफा गर्न सकेनौं, उल्टै घाटामा छौं । झण्डै ६० हजारको मात्रै प्याड बिक्री भयो, त्यसमा पनि काम गर्ने दिदीबहिनीहरूलाई ५५ हजारभन्दा माथि पारिश्रमिकको रूपमा बाँड्यौं ।’
समूहकी पूर्वअध्यक्ष सोममाया लामा पनि उद्योगले लाभ लिन नसकेपछि व्यर्थैमा सुरु गरेको बताउँछिन् । उनले भनिन्, ‘केही होला कि भनेर घरको काम सकाएर यहाँ दिनभर खट्यौँ, तर केही कमाइ गर्न सकिएन । यसको साटोमा अरू केही गरेको भए हुन्थो भनेर अहिले पछुतो लाग्छ ।’
स्यानिटरी प्याड दिदीबहिनीलाई अतिआवश्यक भएको बताउँदै यसलाई महिलाले नै प्रयोग गरेर सहयोग गर्दिपर्ने उनको अपेक्षा छ । नेपाली उत्पादनप्रति नेपालीको सोच नै परिवर्तन नहुँदा नेपाली उत्पादनले बजार नपाएको उनले बताइन् ।
उनले भनिन्, ‘जबसम्म नेपालीको सोचमा परिवर्तन आउन सक्दैन तबसम्म नेपाली उत्पादनले बजार पाउन चुनौती नै छ । स्वदेशमै स्वदेशी उत्पादनले बजार पाउनै मुस्किल छ । नेपाली उत्पादन भन्नेवित्तिकै नाक खुम्च्याउने चाहे तरकारी तथा फलफुल होस् या अन्य कुनै पनि उत्पादन ।’
नगरपालिकाले समन्वय गरेन
नगरपालिकाको सहयोगमा यो कार्यक्रमको सुरुवात भएको हुँदा त्यहाँबाट बजारीकरणको लागि केही सहयोग होला भन्ने अपेक्षा महिला समूहले गरेका थिए । तर, त्यहाँबाट कुनै समन्वय नभएको समूहका अध्यक्ष फुलमाया लामाले गुनासो गरिन् ।
उनले भनिन्, ‘प्याड उत्पादनको लागि नगरपालिकाले नै पैसा लगानी गरेको हो, त्यसमा उहाँहरूले पनि समन्वय गरिदिनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो, तर उहाँहरूले गर्नुभएन ।’
पटक-पटक बजारीकरणको लागि सहयोग गर्दिनुपर्यो भनेर नगरपालिका धाएपनि त्यहाँबाट कुनै सहयोग नभएको उनले गुनासो गरिन् ।
बजारीकरणको लागि सहयोग माग्न जाँदा कहिले टेन्डर आह्वान गर्नु भन्ने त कहिले गुणस्तरको छाप लिएर आउनु भनेर फर्काइदिने गरेको उनले बताइन् ।
अहिले सरकारी स्कुलहरूमा निःशुल्क स्यानिटरी प्याड वितरण हुने गरेको छ । नगरपालिकाले ती स्कुलहरूमा विदेशी ब्राण्डका प्याड वितरण गर्नुभन्दा स्वदेशी प्याडलाई प्राथामिकता मात्रै दिएको भए नेपाली उत्पादन यसरी बन्दै गर्नुपर्ने अवस्था नहुने लामाको भनाइ छ ।
नगरपालिकाले नगरभित्रका स्कुल र अस्पतालहरूमा मात्र स्यानिटरी प्याड लिने वातावरण बनाइदिएको भए महिला समूहलाई धेरै राहत मिल्ने उनको बुझाइ छ ।
कस्मेटिक र होलसेलरले गरेनन् सहयोग
महिलाहरू आफैले स्कुल तथा अस्पताल, नजिकका कस्मेटिक, होलसेलरहरूसँग प्याड बिक्री गरिदिनका लागि पनि अनुरोध गरेका थिए । उनीहरूले बिक्री नै हुँदैन भनेर किन्न मानेनन् ।
अहिले पनि उत्पादन भइसकेका प्याडहरू बिक्री गर्नका लागि समूहमा आवद्ध महिलाहरू लागि परेका छन् । संस्थामा सय जनाभन्दा बढी सदस्यहरू आवद्ध छन् । केही महिलाहरूबाहेक धेरै सदस्यहरूले यसमा साथ नदिएको गुनासो गर्छिन् लामा ।
आफ्नो लागि काम नलाग्ने, छोरी, बुहारी लाखापाखा छन् भन्दै लान नखोज्ने भएपछि समूहभित्रै पनि प्याड बिकाउन गा¥हो भएको उनले बताइन् ।
नगरपालिका भन्छ- बजार आफै खोज्नुपर्छ
नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद कुईंकेलले नगरपालिकाबाट बजार समन्वयको अपेक्षा राख्नुभन्दा आफै नै बजार व्यवस्थापन गर्नुपर्ने बताउँछन् । यदि महिला समूहलाई स्यानिटरी प्याड बिक्रीको लागि बजारको समस्या नै हो भने नगरपालिकामै आएर नगरप्रमुख, प्रशाकीय अधिकृतसँग बसेर छलफल गर्न आग्रह गर्छन् ।
उनले भने, ‘समस्या भयो भनेर उहाँहरू यहाँ आउनु भयो कि भएन थाहा भएन । सकेसम्म बजार आफै खोज्ने हो । नसकेको अवस्थामा कति सकिन्छ नगरपालिकाले के गर्न सक्छ, त्यसका लागि उहाँहरू प्रमुखसँग आएर समन्वय गर्न सक्नुहुन्छ ।’
त्यस्तै, सुरुवातमा नगरपालिका र महिला समूहबीच कुन शर्तमा सहयोग सम्झौता भएको हो त्योअनुसार नै हुने उनले बताए ।
विदेशी ब्राण्डभन्दा कम छैन स्वदेशी उत्पादन
महिला समूहले उत्पादन गरेको स्यानिटरी प्याड कुनै विदेशी ब्राण्डभन्दा कम नभएको अध्यक्ष लामा बताउँछिन् । उनले भनिन्, ‘नेपालीहरू विदेशी ब्राण्डलाई बढी विश्वास गर्छन् तर हामीले उत्पादन गरेका सामान विदेशी ब्राण्डभन्दा कम छैन । हाम्रो सामान प्रयोग गर्नेहरूले राम्रो छ भनेर प्रतिक्रिया दिनुभएको छ ।’
एक/दुई जनाले राम्रो भनेर प्रयोग गरेर मात्रै नहुने उनको तर्क छ । ‘भारतबाट आएको स्यानिडरी प्याडलाई प्रयोग गर्नुभन्दा स्थानीय उत्पादन प्रयोग गरौं, सकेसम्म नेपाली उत्पादनलाई बेचौं भन्ने उद्देश्यले उत्पादन सुरु गरेका हौं । तर मान्छेले नेपाली उत्पादनप्रति विश्वास नै गर्दैनन्, के राम्रो होला भनेर प्रयोग गर्न नखोज्दा रहेछन्,’ उनले गुनासो पोखिन् ।
निरन्तरता दिने सोंच
उत्पादन भएर त्यतिकै थन्किएका प्याडहरू जसरी पनि बिक्री गरेर सकाउने योजनामा आफूहरू रहेको अध्यक्ष लामाले बताइन् । यसका लागि होलसेलरसमेत खोजिरहेको उनको भनाइ छ ।
‘हामीले नयाँ होलसेलर पनि खोजिरहेका छौं । विभिन्न स्कुलहरूमा पनि जाँदैछौं । हाम्रो सामान लिनुभएका केही होलसेलरले पुरानो नै गएको छैन भनेर लिन मानिरहनुभएको छैन । नेपाली उत्पादन भनेर नेपालीले नै लिन नमान्ने रहेछन् । सित्तैमा दिए लान खोज्ने पैसा तिरेर भने लान नखोज्ने,’ उनले निराश हुँदै सुनाइन् ।
काम सुरु गरिसकेको र लगानी पनि धेरै लागिसकेको हुँदा यसलाई यतिकै बन्द गर्ने मनसाय महिला समाजमा छैन । फेरि नयाँ ढंगबाट सुरु गर्ने योजनामा छन् उनीहरू । नयाँ ढंगबाट सुरु गर्दा कति लगानी गर्ने, कति बजेट चाहिन्छ, कसरी गर्ने सबै पूर्वतयारी गरेर मात्रै सुरु गर्ने लामाले सुनाइन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.