सन् १९१३ भन्दा अगाडिको प्रणालीमा जाने ट्रम्पको प्रस्ताव, नागरिकहरूले आयकर तिर्नु नपर्ने

  २०८१ माघ १६ गते ११:०७     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा आयकर हटाउने प्रस्ताव अघि सारेका छन् । उनका अनुसार अब आफ्ना नागरिकहरूलाई कर लगाएर अन्य देशहरूलाई धनी बनाउनुको सट्टा विदेशी सामानमा ट्यारिफ (कर) बढाएर अमेरिकाका नागरिकहरूलाई धनी बनाउने समय आएको छ ।

सन् १९१३ भन्दा पहिले अमेरिका यस्तै प्रणाली रहेको र अब फेरि त्यसलाई अपनाउने समय आएको ट्रम्प बताउँछन् ।

ट्रम्पको कर हटाउने योजना

आयकर हटेमा अमेरिकी नागरिकहरूको खर्च गर्न सक्ने पैसा बढ्नेछ । ट्रम्पका अनुसार यो प्रणालीले अमेरिकालाई धनी र शक्तिशाली बनाएको थियो र अब पुनः यही प्रणालीमा फर्किनुपर्छ ।

उनी भन्छन्, ‘हामीले आफ्नै नागरिकहरूलाई कर लगाएर अन्य देशहरूलाई फाइदा पु¥याउनु हुँदैन । बरु विदेशी सामानमा ट्यारिफ लगाएर आफ्ना नागरिकहरूलाई धनी बनाउनु पर्दछ ।’

अमेरिकी अर्थतन्त्रमा यसको असर

१८७० देखि १९१३ सम्म ट्यारिफ प्रणालीले अमेरिकालाई आर्थिक रूपमा सबभन्दा बलियो बनाएको ट्रम्पको दाबी छ । १९१३ पछि आयकर लागू गरियो, जुन हटाएर पुनः ट्यारिफ-आधारित प्रणाली लागू गर्नुपर्ने ट्रम्पको सोच छ ।

हाल अमेरिकामा १०, १२, २२, २४, ३२, ३५ र ३७ प्रतिशतसम्म आयकर लागू छ । यदि यो हटाइयो भने अमेरिकी नागरिकहरूको बचत र खर्च क्षमतामा ठूलो वृद्धि हुन सक्छ ।

ट्रम्पको ट्यारिफ रणनीति

ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरिसकेका छन् । चीनबाट आयात हुने सामानमा फेब्रुअरी १ देखि १० प्रतिशत थप ट्यारिफ लगाउने योजना छ ।

भारत र ब्राजिलसमेत नयाँ ट्यारिफको मारमा पर्न सक्ने सम्भावना छ । अमेरिकामा आयात हुने सामानमा २० प्रतिशत ट्यारिफ लगाइएमा सरकारले वार्षिक ३०० अर्ब डलर कमाउन सक्ने आँकलन गरिएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा केही ट्यारिफ लागू गरेका थिए, जसलाई जो बाइडेनले पनि ठूलो हदसम्म कायम राखेका थिए । अब त्यसमाथि थप ट्यारिफ लगाइने ट्रम्पको घोषणा छ ।

अमेरिकी अर्थतन्त्रमा प्रभाव

अमेरिकी जीडीपी हाल २७.६ ट्रिलियन छ । नयाँ ट्यारिफ नीति लागू गरिएमा यो जीडीपीको १.८ प्रतिशत बराबरको राजस्व वृद्धि हुनसक्छ ।

के आयकर वास्तवमै हट्ला ?

ट्रम्पको यो योजना राजनीतिक दृष्टिकोणले साहसी भए पनि व्यावहारिक रूपमा चुनौतीपूर्ण छ । यदि उनले आयकर हटाउने प्रयास गरे भने ट्यारिफको भार उपभोक्तामाथि पर्न सक्नेछ, जसले अमेरिकी बजारमा महँगी बढ्न सक्छ ।

तर यदि उनको योजना सफल भयो भने अमेरिकी नागरिकहरूलाई प्रत्यक्ष रूपमा फाइदा हुनसक्छ, किनकि उनीहरूलाई आयकर तिर्नु नपर्ने हुन्छ । अब ट्रम्पले यो नीति लागू गर्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी नै छ ।

अमेरिकी ट्यारिफले विश्वभर तनाव, आर्थिक परिवर्तनदेखि कूटनीति र सुरक्षासम्म असर

कर नीतिमा कठोर बने ट्रम्प, कुन देशलाई कति लगाउँदैछन् भन्सार शुल्क ?