विपत र व्यापारिक चार्टरमा सेनाका हेलिकोप्टर : ८ लाख बढी भाडा, ४७ वर्ष अघिदेखिको बक्यौता बाँकी

  २०८१ माघ १७ गते ११:२४     विकासन्युज

काठमाडौं । कुनै पनि आपतविपद् पर्दा होस् या रमाइलोको लागि घुम्न जानका लागि नै किन नहोस् प्रायः प्रयोग हुने भनेको हेलिकोप्टर हो । अझ बढी विपदमा प्रयोग हुने भनेको नेपाली सेनाको हेलिकोप्टर हो । नेपाली सेनासँग अहिले ८ वटा हेलिकोप्टर छन् । जसको भाडादर प्रतिघण्टाको फरकफरक छ । जसमा सबैभन्दा बढी भाडा एम.आई.१७ हेलिकोप्टरको पर्छ । यो हेलिकोप्टरको प्रतिघण्टा शुल्क ८ लाख ५७ हजार २ सय ९४ रुपैयाँ निर्धारण गरिएको छ ।

‘एम.आइ.१७’ बलियो, भरपर्दो तथा बहुउद्देश्यीय हेलिकोप्टर हो । यो हेलिकोप्टर नेपाल, भारत, चीन, अमेरिका, अफ्रिका लगायतका देशमा प्रयोग बढी हुन्छ । यो हेलिकप्टरको मर्मत सम्भारका लागि सेनाले प्रतिघण्टा २ लाख ५९ हजार ९ सय २४ छुट्याउने गरेको छ भने प्रतिघण्टा उडानका लागि ९ हजार ४५ सय रुपैयाँको हवाई इन्धन लाग्ने गर्छ ।

नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो ए.एल.एच. । पहाडी भेगमा उद्धार तथा सैनिक आपूर्तिका लागि यो हेलिकोप्टरको प्रयोग गरिन्छ । योे हेलिकोप्टरको प्रतिघण्टा भाडादर ३ लाख ७० हजार २ सय ९२ रुपैयाँ निर्धारण गरिएको छ । जसको प्रतिघण्टाको मर्मतसम्भार खर्चमा १ लाख ४१ हजार ६६ रुपैयाँ खर्च छुट्याइन्छ भने प्रतिउडान ५० हजार ४ सय रुपैयाँ इन्धन खर्च लाग्छ ।

यस्तै, अगष्टा हेलिकोप्टरको प्रतिघण्टा ४ लाख ३८ हजार ४ सय ५४ रुपैयाँ भाडा लाग्छ । यो हेलिकोप्टरको मर्मत सम्भारमा १ लाख ५१ हजार ४७ रुपैयाँ खर्च लाग्छ भने इन्धनमा प्रतिघण्टा ६३ हजार खर्च हुन्छ । नागरिक उड्यन प्राधिकरणलाई हेलिकोप्टरले प्रति उडान १ हजार १ सय रुपैयाँ शुल्क भुक्तानी गर्नुपर्ने व्यवस्था । यी सबै खर्च काट्दा यो हेलिकोप्टरको पनि ४ लाख ३८ हजार बढी भाडा पर्न जान्छ ।

ईक्युरेलको प्रतिघण्टा उडान भाडा २ लाख ३५ हजार ९ सय ८३ रुपैयाँ निर्धारण गरिएको छ । यो हेलिकोप्टरको प्रतिडान मर्मत सम्भार गर्न ७४ हजार ८ सय ७० खर्च लाग्छ भने प्रति उडानमा २० हजार ७ सय ९० हवाइ इन्धन लाग्ने गर्छ ।

बेल हेलिकोप्टरको प्रतिघण्टा उडान शुल्क २ लाख २९ हजार ५ सय २७ निर्धारण गरिएको छ । जसको प्रतिउडान मर्मत सम्भारका लागि ७० हजार ९ सय ५० रुपैयाँ लाग्छ भने प्रतिघण्टाको उडानमा २१ हजार ५ सय ४६ इन्धन खर्च लाग्छ ।

नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- स्काईट्रक जसको प्रतिघण्टा शुल्क ३ लाख ४६ हजार ५ सय १ रुपैयाँ भाडादर निर्धारण गरिएको छ । प्रतिघण्टा उडान गरेबापत् यस हेलिकोप्टरको मर्मत सम्भारका लागि ६० हजार ४ सय ७५ रुपैयाँ लाग्छ भने प्रतिघण्टा उडानमा ६० हजार ४ सय ८० बराबरको इन्धन खर्च लाग्छ ।

यस्तै, ट्रेनर जहाजको प्रतिघण्टा ९८ हजार ६ सय १८ रुपैयाँ भाडा लाग्छ । जसको प्रतिउडान मर्मतका लागि २ हजार ३ सय २३ रुपैयाँ खर्च लाग्छ भने १० हजार ७ सय १० रुपैयाँको इन्धन लाग्ने गरेको छ ।

नेपाली सेनासँग रहेको अर्को हेलिकोप्टर हो- कासा २३५ । जसको प्रतिघण्टा उडान शुल्क ७ लाख ३४ हजार ४३ निर्धारण गरिएको छ । यो हेलिकोप्टरका लागि प्रतिघण्टा उडान गरेपछि मर्मतमा ९४ हजार ९ सय २३ रुपैयाँ लाग्छ भने ७५ हजार ६ सय रुपैयाँको इन्धन लाग्छ ।

नेपाली सेनाका हवाइ सेवा प्रमुख आशिष नरसिंह राणाका अनुसार देशमा कुनै प्राकृतिक विपत् तथा कुनै समस्या तथा मनोरञ्जनका लागि पनि मानिसले सेनाको हेलिकोप्टर चार्टर गर्दै आएका छन्

नेपाली सैनिक विमान चार्टर विकास समितिले चार्टर गरेबापतकाे आयव्ययको हिसाब राख्दै आएको छ । समितिको गत आवको मौज्दातसमेत यो वर्ष ६७ करोड १९ लाख ३१ हजार आम्दानी रहेकोमा २९ करोड ३ लाख ४६ हजार रुपैयाँ खर्च भई ३८ करोड १५ लाख ८५ हजार रुपैयाँ मौज्दात रहेको बताइएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ७ व्यक्ति, संस्था एवम् निकायबाट चार्टर भाडा ४९ लाख ६१ हजार रुपैयाँ र २०३४/३५ देखि २०७८/७९ सम्मको बक्यौता ७ करोड १७ लाख ३ हजार समेत गरी ७ करोड ६६ लाख ६४ हजार असुल हुन बाँकी रहेको देखिन्छ । बक्यौता रकम जरिवाना समेत गरी असुल गर्न महालेखा परीक्षक कार्यालयले निर्देशन दिएको छ ।