रिलायबल नेपाल लाइफको नाफा ५१.७० प्रतिशत बढ्यो, साढे ११ अर्ब रुपैयाँ पुग्यो जीवन बीमा कोषको आकार

  २०८१ माघ २५ गते १७:३६     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५१.७० प्रतिशत बढेर ३५ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत पुससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.५९ प्रतिशत बढेर २ अर्ब २१ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २८.३५ प्रतिशत बढेर २ अर्ब १० करोड १२ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुससम्ममा कम्पनीले १ अर्ब ६३ करोड ७० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ४ अर्ब ८५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ भने २ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कुल खर्च गरेको थियो । गत वर्षको पुससम्ममा कम्पनीले २ अर्ब ४१ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १८ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सेयर प्रिमियममा १ अर्ब ७५ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड रुपैयाँ र महाविपत्ति कोषमा १९ करोड रुपैयाँ रहेको छ ।

कमपनीको जीवन बीमा कोषको आकार ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषको आकार ८ अर्ब ४९ करोड २७ लाख रुपैयाँ थियो ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.५५ रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६६.६६ रुपैयाँ रहेको छ ।