२०८१ माघ २७ गते १३:५६ विकासन्युज
काठमडौं । पुनर्बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पौष मसान्तसम्म ४० अर्ब बढी रकम विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले ४० अर्ब ६३ करोड रुपैयाँ बढी लगानी गरेका हुन् ।
कम्पनीहरूले अघिकांश रकम बैंकको मुद्दती निक्षेपमा राखेका छन् । दुई कम्पनीले ७८.४८ प्रतिशत रकम मुद्दती निक्षेपमा लागनी गरेका छन् । दुई कम्पनीले ३१ अर्ब ९० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
मुद्दती निक्षेपमा लगनी गर्नेमा हिमालयनभन्दा नेपाल पुनर्बीमा अगाडि छ । नेपाल पुनर्बीमाले विभिन्न क्षेत्रमा २१ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये ८५.४७ प्रतिशत मुद्दती निक्षेपमा राखेको छ । नेपाल पुनर्बीमाले १८ अर्ब ४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ ।
नेपाल पुनर्बीमाले सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दतीमा राखेको छ । १५ अर्ब ६२ करोड रुपैयाँ वाणिज्य बैंकमा राखेको कम्पनीले विकास बैंकमा १ अर्ब ७५ करोड, फाइनान्स कम्पनीमा ४० करोड र पूर्वधार विकास बैंकको मुद्दतीमा २६ करोड रुपैयाँ राखेको छ ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड रुपैयाँ, नेपाल सरकार, स्थानिय र प्रदेश सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा ३० अर्ब, अन्य कम्पनीहरुको संस्थापक सेयरमा ५९ करोड, सूचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा ५० करोड, नगारिक लगानी कोष र म्यूचअल फण्डमा ५ करोड रुपैयाँ लगानी गरेको छ ।
हिमालयन रिले आफ्नो कुल लागनीको ६९ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको छ । पौष मसान्तसम्म कम्पनीले १९ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये १३ अर्ब ५५ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राखेको छ । यस कम्पनीले विकास बैंक, फाइनान्स र पूर्वधार विकास बैंकको मुद्दतीमा लगानी गरेको छैन ।
कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३ अर्ब, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा एक अर्ब, ईन्भेष्टमेन्ट कम्पनीको सेयरमा ९० करोड, अन्य संस्थापक सेयरमा ३७ करोड, अन्य क्षेत्रमा ६० करोड रुपैयाँ लगानी गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.