२०८१ माघ २८ गते १३:३७ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हेलिकप्टर चढेर शाखा कार्यालय उद्घाटन गर्न पुगेका छन् । उनी बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्न पुगेका हुन् ।
सोमबार एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटनका गभर्नर अधिकारीसँगै एभरेष्ट बैंकका अध्यक्ष डा. बालगोपाल वैद्य र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ पनि सहभागी थिए ।
गभर्नर अधिकारीलाई साइपालबासीले बाजागाजासहित स्वागत गरेका छन् । गभर्नर अधिकारीलगायतको टोलीलाई राष्ट्रिय फूल गुराँस दिएर साइपालबासीले स्वागत गरेको साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले जानकारी दिए ।
यससँगै साइपाल गाउँपालिकाका जनतालाई अब बैंकिङ कारोबार गर्न सदरमुकाम चैनपुर जानपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष बोहराको भनाइ छ ।
यसभन्दा पहिला साइपालका स्थानीय तीन दिन हिँडेर चैनपुर पुगी बैंकिङ कारोबार गर्दै आएका थिए । साइपाल गाउँपालिकाको धलौनमा बुधबार एभरेष्ट बैंकको शाखा बिस्तार भएसँगै चैनपुर धाउने अवस्थाको अन्त्य भएको हो ।
बैंकको शाखा खुलेसँगै अब स्थानीयले कारोबारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको गभर्नर अधिकारीले बताए । स्थानीयलाई बैंकिङ कारोबारका लागि गभर्नर अधिकारीले आग्रहसमेत गरे ।
साइपालमा एभरेष्टको शाखा पुगेसँगै देशभरका ७५३ पालिकामै बैंकको पहुँच पुगेको छ । मुलुक संघीय संरचना गएसँगै नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सबै स्थानीय तहमा शाखा पुर्याउन निर्देशन दिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.