बीमा प्राधिकरणको निर्देशकमा तिमल्सिना, सापकोटा, लामिछाने र अधिकारी बढुवा

  २०८१ फागुन ३ गते १६:२०     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणको निर्देशकमा ४ जना नियुक्त भएका छन् । प्राधिकरणको पदपूर्ति समितिले ४ जना उप निर्देशकलाई निर्देशकमा बढुवा नियुक्त गर्न सिफारिस गरेको हो ।

पदपूर्ति समितिको फागनु २ गतेको निर्णय अनुसार ध्रुब तिमल्सिना, कुन्दन सापकोटा, साम्भराज लामिछाने र निर्मल अधिकारी निर्देशक पदमा बढुवाका लागि सिफारिस भएका हुन् ।

प्राधिकरणका अनुसार ४ जना निर्देशक पदका लागि गत माघ १८ गते ९ जनाले दरखास्त पेस गरेका थिए ।

उम्मेदवारको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिम वापत प्राप्त गरेको कूल अङ्कको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा नियुक्तिका लागि सिफारिस गरिएको हो । ४ जनाको बढुवा भएसंगै प्राधिकरणमा निर्देशकको संख्या ६ जना पुगेको छ ।