२०८१ फागुन २२ गते १९:२७ विकासन्युज
काठमाडौं । बुद्ध एयरको जहाजको पाँग्रा खसेपछि अहिले यो विषयले सामाजिक सञ्जाल तातेको छ । जनकपुरबाट काठमाडौं आएको जहाजको अगाडिको दुईमध्ये एउटा पाँग्रा खसेको विषय बाहिरिएपछि यसले सामाजिक सञ्जालमा बहस विषय बनेको छ ।
जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा उडानको क्रममा पाँग्रा खसेपनि चालक दलका सदस्यले भने कुनै जानकारी नै पाएनन् । तर, जहाज भने काठमाडौंमा सुरक्षितका साथ अवतरण भयो । जाहाज अवतरणपछि मात्रै चालक दलका सदस्यले पाँग्रा नभएको जानकारी पाए ।
त्यसपछि जनकपुर विमानस्थलमा खबर गर्दा धावनमार्गमै पाँग्रा भेटिएको हो । उक्त जहाजमा ६२ जना यात्रु सवार थिए ।
यस विषयमा बुध्द एयरका प्रवक्ता तथा सेल्स हेड रुपेश जोशीले उडानको क्रममा पाँग्रा खसेको चालक दलका सदस्यलाई जानकारी नै नहुने तर्क दिए । उनले दुई मध्ये एउटा मात्र पाँग्रा खस्दा अवतरणमा समस्या नभएको जानकारी दिए ।
‘पाँग्रा निस्केको थाहै भएन, यस्तो हुनु हुँदैन, हामीले पाँग्रा पाइसकेका छौं, यसले अवतरणमा कुनै समस्या नभएपनि स–साना गलित हुनु राम्रो भने होइन,’ उनले भने ।
बुध्द एयर जनकपुर विमानस्थलका सूचना अधिकारी गणेश कुमार यादवले अहिले यस विषयमा सूचना लिने काम भइरहेको जानकारी दिए । ‘पाँग्रा फुस्केको थाहा पायौं, सुरक्षित अवतरण पनि भइसकेको छ, यस विषयमा हामी थप अध्ययन गरिरहेका छौं, उनले भने ।
हवाइ उडानमा विभिन्न किसिमका स-साना समस्या बारम्बार दोहोरिने गरेका छन् । कहिले चरासँग ठोक्किने, कहिले चिप्लिेन त पाँग्रा नै खस्ने गरेका कमजोरीहर नेपाली हवाइ उडानमा हुने गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.